समाज

गाउँपालिकाले बन्द गरायो अवैध क्रसर उद्योग

पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा अवैध रूपमा सञ्चालित क्रसर उद्योगमा जलजला गाउँपालिकाले सूचना टाँसी बन्द गराएको छ। बागेश्वरी एग्रिगेट एन्ड ब्लक उद्योगको नाममा सञ्चालित क्रसर उद्योगलाई जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सूचना टाँसेर बन्द गराएको हो।  

राजनीतिक पहुँचको आधारमा स्थानीयको विरोधलाई समेत बेवास्ता गर्दै जलजला–७ का बागवीर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले सो उद्योग सञ्चालन गर्दै आएका थिए। अवैध रूपमा क्रसर उद्योग चलाएको र उक्त क्रसरले मापदण्डविपरीत कालीगण्डकी नदी दोहन गर्दै आएको भन्दै स्थानीयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी गरेका थिए। अख्तियारले गाउँपालिकालाई ताकेता गरेपछि गाउँपालिकाले स्थलगत रूपमा अनुगमन गर्न अनुगमन समिति गठन गरेको थियो। सो उद्योगलाई कानुनी प्रक्रिया पु¥याई सञ्चालन गर्न गाउँपालिकाले पटक–पटक ताकेता गर्दा पनि कुनै कागजात पेस नगरेको, क्रसर उद्योग सञ्चालनसम्बन्धी प्रचलित कानुनी व्यवस्था र गाउँपालिकाले दिएको निर्देशनको बारम्बार अवज्ञा गरेको अध्यक्ष रामकृष्ण मल्लले बताए। ‘दर्ता ब्लग उद्योगको गरिएको छ, व्यक्तिको अवैध कार्यले गाउँपालिकाले मुद्दा खेप्नुपरेको छ,’ अध्यक्ष मल्लले भने।  

गाउँपालिकाले यसअघि २०७६ वैशाख ९ मा उद्योग बन्द गर्न निर्देशन दिएको थियो। तर, पालिकाको सम्पूर्ण निर्देशन अटेर गरे पनि गाउँपालिकाले व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौं गाउँसभाले बागेश्वरी एग्रिगेट एन्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवासुविधा बन्द गर्ने निर्णय गरेको थियो। गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ (६) को अधिकार प्रयोग गरी आइतबार उद्योगमै पुगेर बन्द गराएको दाबी गरेको छ। यता सञ्चालकले भने गाउँपालिकाको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्। 

प्रकाशित: ६ आश्विन २०७७ ०४:२२ मंगलबार

अवैध क्रसर