समाज

घुम्थाङ पहिरो : मृतक १४ पुगे, १७ अझै बेपत्ता

सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप तीनको शब फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। पहिरोमा अझै १७ हराइरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले २२ वर्षीय कुमार बिक,  २१ वर्षीया सोनिया बिक र ५३ वर्षीय सिँहबहादुर प्रधानको शब फेला परेको बताए। योसँगै पहिरोमा सात महिला, पाँच पुरुष र एक÷एक बालक तथा बालिकाले ज्यान गुमाएका छन्।  

यसअघि आइतबार पाँच वर्षीया बालिका सरस्वती बिक, करणबहादुर श्रेष्ठ (२५), भक्तिमाया श्रेष्ठ (६३), ट्याक्सी शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक, सर्किनी नेवार (६०), धनलाल नेवार (६५) र हिरामाया श्रेष्ठ (४२) को शब भेटिएको थियो।  प्रहरीका अनुसार पहिरोमा रसबहादुर नेवार (४८), दिलमाया श्रेष्ठ (१८), रीता श्रेष्ठ (३७), डालियल श्रेष्ठ (५), नादान श्रेष्ठ (४), अमृत श्रेष्ठ (२५), मनिता श्रेष्ठ (२५), रविना श्रेष्ठ (२७), रेयुशा श्रेष्ठ (८), पदमकुमारी श्रेष्ठ (६०), रामकुमारी श्रेष्ठ (४२), लालबहादुर श्रेष्ठ (५१), बुद्धलक्ष्मी श्रेष्ठ (५०), लक्ष्मी श्रेष्ठ (११) र रुपा बिक (१०) बेपत्ता छन्। बेपत्ता पाहुना आएकी एक महिला र दुई महिने एक बालकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

अबिरल वर्षासँगै आइतबार बिहान साढे दुई बजेतिर बाह्रविसे नगरपालिका–७ घुम्थाङमा बाक्लो बस्तीमाथिको भिरखर्कको ढिस्को खसेर पहिरो निम्तिदा भिरखर्क, भरिथाप्लो र नागपुजे गाउँका २२ घर बगाएको थियो। अरु झण्डै ५० घर बस्न नमिल्ने गरी क्षतिग्रस्त बनेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेपत्ताको खोजी गरिरहेको डिएसपी सापकोटाले बताए।  

 

 

 

 

प्रकाशित: २९ भाद्र २०७७ ०९:४५ सोमबार

पहिरो सिन्धुपाल्चोक