समाज

‘हिउँदमा खसेको सुख्खा पहिरो नजरअन्दाज गर्दा क्षति’

पहिरोमा ११ को मृत्यु, २० बेपत्ता

गाउँमाथिबाट खसेको ढिस्कोका कारण पहिरो खस्दा आइतबार बाह्रविसे नगरपालिका–७ घुम्थाङको तीन बस्तीका ११ को ज्यान लिएको छ। पहिरोमा २० स्थानीय हराइरहेका छन्। प्रहरीका अनुसार पहिरोमा परी स्थानीय भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तिका ६ महिला, तीन पुरुष र एक/एक बालक तथा बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा भक्तिमाया श्रेष्ठ (६३), ट्याक्सी शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक (८), सर्किनी नेवार (६०), धनलाल नेवार (६५), हिरामाया श्रेष्ठ (४२), सरस्वती विक (५) र करणबहादुर श्रेष्ठ (२५) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले पहिरोस्थलमा नौ र भोटेकोसी तथा सुनकोसी नदीमा एक÷एकको शब भेटिएको बताए।

एक महिलाको शव घटनास्थल नजिक भोटेकोसी नदीको बसेरी र एक पुरुषको शव झण्डै आठ किमी तल सुनकोसी नदीको बलेफीमा भेटिएको थियो। ‘अबिरल वर्षापछि गलेको ढिस्को खसेर पहिरो निम्तिएको देखिन्छ,’ घटनास्थलबाट फर्केपछि एसपी अधिकारीले नागरिकसँग भने।  

प्रहरीका अनुसार पहिरोमा परी आठ घाइते भएका थिए। उनीहरुको अवस्था सामान्य छ। प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचारपछि चार घाइते साँझ घर फर्केका छन्। चार घाइतेको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ। पहिरोमा बेपत्ताको खोजी भइरहेको एसपी अधिकारीले बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोली बेपत्ताको खोजीमा परिचालित छ।

प्रहरीका अनुसार बेपत्ता हुनेहरुमा रसबहादुर नेवार (४८), दिलमाया श्रेष्ठ (१८), रीता श्रेष्ठ (३७), डालियल श्रेष्ठ (५), नादान श्रेष्ठ (४), अमृत श्रेष्ठ (२५), मनिता श्रेष्ठ (२५), रविना श्रेष्ठ (२७), रेयुशा श्रेष्ठ (८), पदमकुमारी श्रेष्ठ (६०), रामकुमारी श्रेष्ठ (४२), लालबहादुर श्रेष्ठ (५१), बुद्धलक्ष्मी श्रेष्ठ (५०), लक्ष्मी श्रेष्ठ (११), कुमार बिक (२२), सोनिया बिक (२१), रुपा बिक (१०) र शिबबहादुर नेवार छन्। पाहुना आएकी एक महिला र दुई महिने एक बालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

स्थानीय रेशम प्रधानले पाँच–देखि सात घरका सिँगो परिवार पहिरोमा परेको बताए। ‘उनीहरुको रोइदिनेसम्म कोही छैन,’ प्रधानले भने। उनका अनुसार एकै परिवारका ६ सदस्यसम्म पहिरो परेका छन्। बिहान २ बजेतिर बस्तिमाथिको भिरखर्क पहाडबाट बर्षाले गलेको ढिस्को खसेको थियो। लेदोमाटोसहित खसेको त्यही ढिस्कोले क्षेत्र बिस्तार गर्दै क्रमशः पहिरोको रुप लिएको प्रधान बताउँछन्। ‘खसेको ढिस्को केहीबेर स्थिर हुँदै पुनः बग्दै, जमिन र बस्ती सोहोर्दै अघि बढ्दा असमान्य पहिरो निम्तएको देखिन्छ,’ गाउँका अगुवासमेत रहेका उनले भने।  

भिरखर्कबाट खस्न सुरु गरेको पहिरो त्यसपछिका तीन बस्ती लछार्दै झण्डै एक किलोमिटर तल भोटेकोसी नदीमा पुगेको थियो। ढिस्कोको ठिकमूनि ५८ घरपरिवारको भिरखर्क बस्ती छ। केही भिरालो यो बस्तीमा नेवार र बिक टोल छन्। अलि पर सानो टोल भिरथाप्लो छ। भिरखर्कको झण्डै आठ सय मिटर तल रहेको नागपुजे बस्तीमा पहिराले सबैभन्दा बढी जनधनको क्षति गरेको स्थानीय बताउँछन्।  

तामाङ, शेर्पा, क्षेत्री लगायत समुदाय बस्ने नागपुजेको नौ घरपरिवारको हगामे टोल नै बगाएको प्रधानले जानकारी दिए। ‘यो टोलका मात्रै २० जना पहिरोमा परे,’ उनले भने। प्रहरीका अनुसार पहिरोले बगाउँदा यी तीन बस्तिका २२ घरको नामनिशाना छैन। अतिग्रस्त अरु घर निकै रहे पनि बेपत्ताको खोजीमा जुट्नु पर्दा एकीन तथ्यांक प्राप्त भइसकेको छैन। पहिरो जाँदा स्थानीय निद्रामा थिए। भागेर बाँचेका घाइतेबाहेक पूर्णक्षतिग्रस्त घरका सुतिरहेका सबै पहिरोमा परेका हुन्।  

बाक्लो बस्ति रहेको नागपुजे भने समथर भूभागमा छ। घुम्थाङका वडाध्यक्ष मिनबहादुर श्रेष्ठले भिरखर्कमा गएको हिउँदा सामान्य सुख्खा पहिरो खसेको बताए। उनका अनुसार उक्त पहिरोले कुनै क्षति नपु¥याए पनि जोखिम महसुस गरी केही घरलाई आसपासको सुरक्षितस्थलमा सारिएको थियो। ‘अहिले त्यही ठाउँबाट ढिस्को खसेर पहिरो गयो। भिरखर्कमा पहिरो जान सक्ने अनुमान गरिए पनि यति तलसम्म पहिरो आएर समथर जमिनमा रहेको बस्ती नै बगाउँछ भन्ने कल्पनै गरेका थिएनौँ,’ उनले भने।

१ सय ७८ परिवारले घर छोडे  

पहिरोपछि उच्च जोखिममा रहेका भिरखर्क, भिरथाप्लो र नागपुजे बस्तीका एक सय ७८ परिवारले घर छोडेका छन्। उनीहरुलाई नागपुजेकै सुरक्षित महसुस गरिएको फराकिलो चौरमा राखिएको छ। उनीहरुलाई बस्न त्यहाँ बाह्रविसे नगरले उपलब्ध गराएको ४५ टेन्ट गाडिएको छ। ‘साँझ थप त्रिपाल, टेन्ट, खाद्यन्न लगायत राहत सामाग्री पठाएका छौँ,’ जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने। बेपत्ताको खोजी तथा बिस्थापितको राहत तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने उनले दाबी गरे।  

अकल्पनीय पहिरो–सभामुख सापकोटा  

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले घुम्थाङ पहिरो ‘असाधरण पहिरो’ भएको प्रतिक्रिया दिएका छन्। पहिरोपछि घटनास्थल पुगेका उनले अवलोकनपछि भने, ‘यो पहिरो सामान्य खालको होइन। असाधरण नै हौ।’ पहिरोको तत्काल भौगर्भिक अध्ययन गर्नुपर्ने औँल्याउँदै सभामुख सापकोटाले बिपद् नियन्त्रण गरेर जनधनको क्षति हुन नदिन संघ र प्रदेश सरकारले मिलेर संयूक्त प्याकेज बनाएर काम गर्नुपर्नेमा जोड दिए। गएको असार २४ गतेदेखि सिन्धुपाल्चोकमा लगातार बाढीपहिरोको बिपद् निम्तिरहेको भन्दै उनले दुःख व्यक्त गरे। पहिरोस्थल सापकोटाको निर्वाचन क्षेत्र हो।

घुम्थाङसहित सिन्धुपाल्चोकमा पछिल्लो दुई महिनामा बाढीपहिरोका आठ घटनामा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ। पहिरोमा अझै ४१ बेपत्ता छन्। ४१ नै घाइते भए।

प्रकाशित: २९ भाद्र २०७७ ०२:२९ सोमबार

घुम्थाङ पहिरो