समाज

क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण

रसुवामा क्वारेन्टिनमा बसेकामा नै कोरोना संक्रमण भएको पुष्टि भएको छ । जिल्लाको उत्तरगयाका गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो । समूहमा राखिएकामध्ये एक जनामा कोरोना पुष्टि भएपछि उनलाई पुनः त्यही राखियो ।

पछि फेरि दुई जनामा पुष्टि भएपछि उनको पनि स्वाब संकलन गरियो । तेस्रो चोटिमा उनलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । उनी विदेशबाट आएका व्यक्ति हुन् । उनी गाउँपालिकास्थित नीलकण्ठ माविको क्वारेन्टिनमा बसेको २२ दिन भइसकेको छ ।  

योसँगै हालसम्म जिल्लामा १८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १३ जना निको भएर घर फर्किसकेका छन् । जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ६ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो । विदेशबाट आएका जिल्लामा १५, एक जना स्वास्थ्यकर्मी र एक जना कर्मचारीमा हालसम्म कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ ।

प्रकाशित: १२ भाद्र २०७७ १४:२७ शुक्रबार

कोरोना संक्रमण