समाज

मुस्ताङमा ढुवानी नभए मौज्दात चामलले माग धान्न सकिन्न : संस्थान

हिमालपारीको जिल्ला मुस्ताङमा खाद्यान्न(चामल) सकिदैं गएको छ । केही दिनभित्र ढुवानी नभए खाद्य समस्याको विकराल हुने अवस्था छ । झण्डै डेढ महिनादेखि ढुवानी हुन सकेको छैन् । ढुवानी नहुदाँ व्यापारीले खाद्यान्न आयात गर्न नसक्दा मुस्ताङस्थित खाद्य संस्थानमा मौज्दात चामलले माग धान्न सक्ने अवस्था छैन् । गत आर्थिक वर्षमा गहुँको ढुवानी नहुदाँ चामलको खपत बढेको खाद्य संस्थानले जनाएको छ ।  

‘ढुवानी भएन भने मौज्दात चामलले माग धान्ने अवस्था छैन,’ मुस्ताङस्थित खाद्य संस्थानका जिन्सी शाखा प्रमुख शिव बस्यालले भने, ‘ढुवानीको लागि टेण्डर आह्वान भईसकेको छ बाटो नखुल्दा समस्या छ ।’ उनका अनुसार ४९ क्विन्टल चामल मौज्दात छ । मौज्दात चामललाई जिल्ला प्रशासन कार्यालय मुस्ताङसँग समन्वय गरेर मात्रै बिक्री वितरण गर्ने उनले बताए । ‘चामल मौज्दात कम छ । प्रशासनसँग समन्वय गरेर मात्र बिक्री गर्ने निर्णय गरिएको छ ।’ उनको भनाई थियो ।  

मुस्ताङको जोमसोम बजारमा खाद्यान्न छैन् । व्यापारीले पनि आयात गर्न पाएका छैनन् । व्यापारीले आयात नगरे खाद्य संस्थानको मौज्दात चामलले माग धान्न नसक्ने उनले सुनाए । ‘बजारमा चामल छैन् । खाद्य संस्थानमा मौज्दात कम हुदाँ अत्यावश्यक बाहेकलाई दिएका छैनौं,’ उनले भने, ‘गरीब मजदुरको जसको चुल्हो निभेको छ त्यसलाई मात्रै एक बोरा बिक्री गर्ने छौं ।’ चामल अड्कलेर दिनुपर्ने अवस्था छ ।  

खाद्य संस्थानले आर्थिक वर्ष २०७६/७७ मा ९६३ क्विन्टल ढुवानी गरिएको थियो । अघिल्लो वर्षको २०३ क्विन्टल मौज्दात पनि थियो । जसमध्ये ५ सय क्विन्टल चामल उपल्लो मुस्ताङको लागि पठाइएको उनले जानकारी दिए । बाटो बिग्रिएपछि ढुवानी नहुदाँ अब माग धान्न सक्ने अवस्था नभएको उनले स्पष्ट पारे । यो आर्थिक वर्षको लागि समेत ढुवानीको लागि टेण्डर भईसकेको छ । बाटो खुलेपछि टेण्डर सम्झौता गरेर ढुवानी गर्ने तयारी खाद्य संस्थानले गरेको छ । २०७५/७६ मा भने ७४९ क्विन्टल चामल ढुवानी भएको थियो । मौज्दात ५३४ क्विन्टल थियो ।  

मुस्ताङको विशेष गरी घासाँदेखि नै खाद्यान्नको लागि जोमसोम आउने गरेका छन् । यातायात सहज नहुदाँ सबै ठाँउमा खाद्यान्न पुर्याउने पर्ने अवस्था छ । घासाँ, लेते, मार्फा, जोमसोम, ठिनी, मुक्तिनाथ, स्याङ लगायतका क्षेत्रमा खाद्यान्न माग हुदैं आएको छ । ‘डोल्पाको खाद्य संस्थानको डिपोले नभेट्ने ठाँउमा समेत मुस्ताङमा लिन आउने गरेको तथ्यांक छ । ‘मौज्दात रहेको चामल मजदुरलाई लक्षित गरी बिक्री वितरण गरिएको छ ।’ उनले भने ।  

‘गहुँको ढुवानी नहुदाँ चामलकै भर पर्नुपर्ने अवस्थाले चामलको खपत बढ्यो ।’ जिन्सी शाखा प्रमुख बस्यालले भने, ‘चामल पनि गुणस्तरीय आएकोले खपत बढेको छ ।’ उनका अनुसार गत आर्थिक वर्षमा गहुँको ढुवानी भएन् । अघिल्लो आर्थिक वर्षको मौज्दात ६७३ क्विन्टल गहुँ रित्तियो । मजदुरहरूको खाना र खाजाकै रुपमा समेत चामललाई उपयोग गर्दै आएकोले पनि बढी खपत हुने गरेको खाद्य संस्थानको भनाई छ ।  

चैत ११ गतेदेखि विश्वव्यापी कोरोनाको कारण लकडाउन शुरु गरियो । लकडाउनकै समयमा सर्वसाधारणलाई १० प्रतिशत छुट दिएर खाद्य बिक्री वितरण गरिएको उनले बताए । प्रतिबोरा(३० केजी)लाई १३०५ रुपैयाँ बिक्री वितरण गरिएको छ । जिरा मसिना, जापानीज, मन्सुली लगायतका चामल ढुवानी गरिएको थियो । जिरा मसिनो र जापानीज चामल सकिएको छ । अझै एकसाता बाटो सहज नभए ढुवानीको लागि अर्को विकल्प सोच्नुपर्ने बेला आएको उनले सुनाए । मुस्ताङस्थित रिजाल सप्लायर्सका सञ्चालक विष्णु रिजालका अनुसार जोमसोम बजारमा चामलको अभाव छ । ‘ढुवानी भएको छैन् । बाटो दुईचारदिनमा बन्छ भन्ने अपेक्षा छ । त्यसपछि ढुवानी हुन्छ ।’ रिजालले भने ।  

उपल्लो मुस्ताङको कोरला नाकादेखि मुस्ताङको घासाँसम्म विभिन्न ठाँउमा बाटो निर्माण गर्न मजदुर खटिएका छन् । विभिन्न पाटोमा विभिन्न कम्पनीले जिम्मेवारी लिएर काम गरिरहेका छन् । काम गर्ने मजदुरहरूको चुल्हो निभ्न नदिने उद्देश्यसहित मौज्दात चामल अन्यलाई वितरण गरिएको छैन् । खाद्यसँगै ग्यास, तेल(पेट्रोलियम पदार्थ)को समेत अभाव छ । ढुवानीले सडक निर्माणलाई समेत प्रभावित गरेको छ । असार २८ गतेपछि म्याग्दीसित रुप्से छहरास्थित काभ्रे भीरमा सडक बिग्रिएपछि ढुवानी रोकिएको हो ।

प्रकाशित: ७ भाद्र २०७७ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App