समाज

‘यसपालि तीजमा चेलीबेटीलाई निम्ता नगर्नू’

फाइल तस्बिर

ललितपुरको महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेका पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता तथा सामूहिक खानपिनको कार्यक्रम नगर्न आह्वान गरेको छ ।  

मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै महालक्ष्मीले  सूचना जारी गरी नगरवासीलाई उक्त अनुरोध गरेको हो ।  

नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जारी गरेको सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी यसै महिनामा पर्ने कुशेऔंसी तथा हिन्दू दिदीबहिनीको महान् पर्व हरितालिका तीज र ऋषिपञ्चमी पर्वमा चेलीबेटीलाई घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन आह्वान गरिएको छ ।  

यसैगरी ललितपुर महानगरपालिका–२४ ले आ–आफ्नै घरमा बसेर तीज र ऋषिपञ्चमी मनाउन अनुरोध गरेको छ । 

वडाध्यक्ष दिनेश कार्कीले सोमबार एक सूचना जारी गरेर नागदहमा प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन मेला लाग्ने गरेकाले यस वर्ष नागदहस्थित ऋषि मन्दिर बन्द हुने हुँदा आ–आफ्नै घरमा बसेर तीज र पञ्चमी मनाउन महानगरवासीलाई आग्रह गरे ।

वडाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन तथा यदि निस्कनै परेमा मास्क लगाउन तथा कोभिड सुरक्षा सतर्कता अपनाउनसमेत महानगरवासीलाई अनुरोध गरेको छ ।  

प्रकाशित: २ भाद्र २०७७ १२:५८ मंगलबार

तीज ललितपुर