समाज

लिदी पहिरोमा मृतकको संख्या २२ पुग्यो

गत शुक्रबार गएको लिदी पहिरोमा बेपत्ता थप तीन जनाको शव फेला परेको छ। योसँगै उक्त पहिरोमा ज्यान गुमाउनेको संख्या २२ पुगको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेकाअनुसार सोमबार पहिरोमा दुई बालक र एक युवकको शव फेला परेको हो। २२ वर्षीय छबिलाल भनिने अजय दोङ, ६ वर्षीय सुमन दोङ र १० वर्षीय सुरज दोङको शव भेटिएको उनले जानकारी दिए।  

उनीहरू पहिरोले पुरेको क्षतिग्रस्त घरमै मृत अवस्थामा फेला परेका थिए। आइतबार १२ वर्षीय हिन्दुस दोङको शव भेटिएको थियो। अविरल वर्षासँगै शुक्रबार बिहान पहिरोले जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँका ३७ घर पुरेको थियो। पहिरोमा ३९ बेपत्ता भएका थिए। घटना भएकै दिन बेपत्ता भएकामध्ये ११ को शव भेटिएको थियो। शनिबार थप सात जनाको शव फेला परेको थियो।

पहिरोमा अझै १७ बेपत्ता रहेको डिएसपी काफ्लेले जानकारी दिए। उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय खटिएका छन्। पहिरोमा परेर घाइते भएका पाँच जनाको उपचार भइरहेको छ।  

पीडित परिवारलाई आर्थिक राहत

लिदी पहिरोका पीडित परिवारलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले आर्थिक राहत र किरिया खर्च उपलब्ध गराएका छन्। त्यस्तै स्थानीय तहले समेत पीडित परिवारलाई धमाधम आर्थिक सहायता दिने घोषणा गरिरहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो प्रभावित ३७ परिवारलाई तत्कालीन खर्चका लागि प्रतिपरिवार २५ हजार रूपैयाँका दरले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। त्यस्तै प्रतिमृतक परिवारलाई दुई लाख रूपैयाँका क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया थालेको उनले जानकारी दिए। ‘परिवारमा मृतक थपिँदै जाँदा क्षतिपूर्ति रकम एक लाख रूपैयाँ थप हुन्छ,’ उनले भने। घर क्षतिका आधारमा पीडितले एक लाख रूपैयाँसम्म अर्को राहत पनि पाउने प्रजिअ ढकालले बताए।  

अविरल वर्षासँगै शुक्रबार बिहान पहिरोले  जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँका ३७ घर पुरेको थियो। पहिरोमा ३९ बेपत्ता भएका थिए। घटना भएकै दिन बेपत्ता भएकामध्ये ११ को शव भेटिएको थियो। शनिबार थप सात जनाको शव फेला परेको थियो।

त्यस्तै जुगल गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले प्रतिमृतक २५ हजार रूपैयाँको दरले किरिया खर्च उपलब्ध गराएको छ। मृतकका प्रतिपरिवारलाई एक लाख रूपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जनाए। उनकाअनुसार पहिरोमा आफन्त गुमाउने परिवारको संख्या हालसम्म १२ पुगेको छ। ‘सोमबार मात्रै झण्डै २० लाख रूपैयाँ राहात वितरण गरेका छौँ,’ योजना अधिकृत नेपालले भने।

पहिरोमा एकै परिवारका ६ जनासम्म परेका छन्। परिवारका सबै सदस्यको पहिरोमा परेर मृत्यु भएको छ। छिमेकी चौतारा नगरपालिकाले लिदी पहिरो पीडितका लागि एकमुष्ट दुई लाख रूपैयाँ सहयोग उपलब्ध गराउने बताएको छ। यस्तै बाह्रबीसे नगरपालिकाले पनि पीडितका लागि साढे दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने बताएको छ। 

प्रकाशित: २ भाद्र २०७७ ०४:१४ मंगलबार

लिदी पहिरो