समाज

लिदी पहिरो पीडितलाई आर्थिक राहत

लिदी पहिरोका पीडित परिवारलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले आर्थिक राहत र किरिया खर्च उपलब्ध गराएका छन् । त्यस्तै स्थानीय तहलेसमेत पीडित परिवारलाई धमाधम आर्थिक सहायता दिने घोषणा गरिरहेका छन् ।  

जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो प्रभावित ३७ परिवारलाई तत्कालीन खर्चका लागि २५ हजार रुपैयाँका दरले आर्थिक राहत बितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । त्यस्तै प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया थालेको उनले जानकारी दिए । ‘परिवारमा मृतक थपिँदै जाँदा क्षतिपूर्ति रकम एक लाख रुपैयाँ थप हुन्छ,’ उनले भने । घर क्षतिका आधारमा पीडितले एक लाख रुपैयाँसम्म अर्को राहत पनि पाउने उनले जनाए ।  

त्यस्तै जुगल गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले प्रतिमृतक २५ हजार रुपैयाँको दरले आश्रित परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । त्यस्तै मृतकका प्रतिपरिवारलाई एक लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जनाए । उनका अनुसार पहिरोमा सदस्य गुमाउने परिवारको संख्या हालसम्म १२ पुगेको छ । ‘सोमबार मात्रै झण्डै २० लाख रुपैयाँ बितरण गरेका छौँ ।’  

पहिरोमा एकै परिवारका ६ सदस्यसम्म परेका छन् । परिवारैको पहिरो ज्यान गएको छ । छिमेकी चौतारा नगरपालिकाले लिदी पहिरो पीडितका लागि एकमुष्ट दुई लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । बाह्रविसे नगरपालिकाले पनि पीडितका लागि साढे दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता सार्वजनिक गरेको छ ।  

अविरल वर्षासँगै शुक्रबार बिहान पहिरोले जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँका ३७ घर पुरेको थियो । पहिरोमा ३९ बेपत्ता भएका थिए । बेपत्तामध्ये सोमबारसम्म २२ शब फेला परेको छ । पहिरोमा अझै १७ हराइरहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ ।

प्रकाशित: १ भाद्र २०७७ १३:४८ सोमबार

लिदी पहिरो