समाज

नाकामा बेवास्ता गर्दा फैलियो कोरोना

गत वैशाख तेस्रो साता धेरै कोरोना संक्रमित भएको जिल्ला बनेको पर्सा र सदरमुकाम वीरगन्ज एकपटक संक्रमण रोक्न सफल भएकोमा पुनः देशकै सर्वाधिक संक्रमित भएको ठाउँ बन्न पुगेको छ। यहाँको बिग्रिँदो अवस्थाप्रति संघीय सरकारको बेवास्ता र प्रदेश सरकारको अकर्मण्यताले यसपटक वीरगन्जमा बढेको कोरोना समुदायभित्रदेखि बाहिरसम्म फैलिने क्रममा छ।  

शुक्रबार बिहानसम्म पर्सामा १ हजार १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये करिब साढे २ सय जना संक्रमणमुक्त पनि भएका छन्। हालसम्म यहाँ २० जनाको मृत्यु भएको छ। अहिले संक्रमित अवस्थामा यहाँ करिब ९ सय जना रहेका छन्। तीमध्ये पौने २ सय जतिलाई मात्र यहाँ सञ्चालित २ वटा कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ।  

यहाँ संक्रमणको संख्या बढिरहँदा वीरगन्जप्रति सरकारको भारी बेवास्ता देखिएको वीरगन्जको ठाकुरराम क्याम्पसका प्राध्यापक ललन द्विवेदी बताउँछन्। तर वीरगन्ज ‘ट्रान्जिट’ सहर भएकाले यस्तो बेवास्ता बढी प्रतिउत्पादक हुने खतरा रहेको उनले औंल्याए। भन्सार विभागको तथ्यांकअनुसार देशको भन्सार राजस्वमा वीरगन्जको ६० प्रतिशतभन्दा बढी योगदान रहिआएको छ। यस हिसाबले यहाँ भएर भित्रिने मालवाहक साधन पनि त्यही अनुपातमा रहेको सहजै अनुमान गर्न सकिन्छ। यस ‘ट्रान्जिट नगरीमा बढ्दो कोरोना संक्रमणलाई बेलैमा नियन्त्रणको पर्याप्त प्रयास नगरिँदा त्यसबाट देशको राजधानीसहित धेरै हिस्सा प्रभावित हुनेमा शंका नरहेको जानकारहरूको तर्क छ।  

‘कोरोना भाइरस हामीकहाँ उत्पन्न भएको होइन, चीनको बुहानबाट सुरु भएको भाइरसले संसारका २ सय बढी मुलुक पुग्न ६ महिना पनि लागेन,’ कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा खटेका एक चिकित्सकले भने, ‘वीरगन्जमा बढ्दो संक्रमण काठमाडौं र मुलुकको अन्य भागलाई ग्रसित गर्दैन भनी कसरी भन्न सकिन्छ ?’

भयावह बन्दै गएको भाइरस संक्रमणको समस्यालाई लिएर सरकारबाट नागरिकप्रति देखाइनुपर्ने जिम्मेवारी नदेखिएको स्थानीयको चिन्ता छ। बढ्दो संक्रमण र यसको नियन्त्रण तथा रोकथाममा भएको बेवास्ता कम गर्न अहिले पनि ढिलो भइनसकेको पर्सा १ का सांसद प्रदीप यादव बताउँछन्। ‘सीमामा गर्नुपर्ने कडाइ काठमाडौं पस्ने प्रवेश बिन्दुमा गर्नु दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘यो समस्या मुहानबाट नै रोक्नुपर्ने हो भनी सरकारले आफ्नै विज्ञको सल्लाह लिँदा हुन्छ।’ प्रदेश सरकारले पनि कोरोना संक्रमण कालमा देखाउनु पर्ने भूमिका नगरेको व्यापक गुनासो छ।

नाकामा असावधानी

सरकारले चैत ११ देखि देशभर लकडाउन घोषणा गरेपछि सीमामा आवतजावत बन्द गरिएको थियो। आपूर्ति व्यवस्था कायम राख्न मालवस्तुको ढुवानी भने जारी रहिआएको छ। सीमापारीबाट मालवाहक गाडि आउन जान कहिले पनि रोकिएको छैन। तर यस क्रममा कोरोनाको जोखिमका लागि अपनाउनुपर्ने सावधानी अपनाइएको छैन। नाकाबाट हुने व्यपारका लागि ढुवानीका सवारीसाधन आउने नै भए। त्यसका चालक सहचालक यता आएर बस्ने, खाजा खाना खाने र घुलमिल हुने गरिरहेका छन्। उनीहरू देशका विभिन्न भागमा पनि पुगेका छन्।  

‘हामी प्रत्यक्ष रूपमा हेर्न सक्छौं यी समस्यालाई। आइसिपीसँग जोडिएको सिर्सिया गाउँमा धेरै सक्रमित निस्किएका छन्। यसमा कसैको ध्यान पुगेको छैन,’ आइसिपीसँगै रहेको गाउँ अलौंका एक स्थानीय अगुवा सन्जु छतकुलीले भने, ‘मालवस्तु ढुवानी गरेर भित्रिने सावारीसाधनलाई सेनिटाइज गर्ने, त्यसका चालक र सहचालकको चेकजाँच गर्नेजस्ता संक्रमण नफैलियोस् भनेर अपनाउनुपर्ने सवधानी गरिएन।’ यसलाई नियमन गर्ने मापदण्ड बनाउनु पर्ने आइसिपीसँग जोडिएको अर्को गाउँ बहुअरीका अनिल तिवारी बताउँछन्।  

केन्द्रीययस्तरबाट स्पष्ट मापदण्ड सहितको निर्देशिका कोरोनाकालीन नाका व्यवस्थापनका लागि आउनुपर्नेमा आएको छैन। यहाँस्थित वीरगन्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सर कार्यालयले समस्यालाई आ–आफ्नो किसिमले जोखिम न्यूनीकरणको प्रयास नगरेका होइनन्। वीरगन्ज भन्सार कार्यालयले मालसामानको आयातमा आलोपालो प्रणाली लागु गरेको छ। साविक इनर्वा नाका र एकीकृत जाँच चौकी (आइसिपी) बाट सञ्चालित रहेको वीरगन्जको भन्सारमा भारतबाट मालसामान लिएर आउने मालवाहक सवारीसाधनका चालक र सहचालकका कारण नाकामा संक्रमणको जोखिम रहेको भन्सारका अधिकारीसमेतले महसुस गरेका छन्।  

‘अहिले कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखेर सावधानीका लागि केही निर्देशन यहाँ लगाइएको छ, आयात हुने मालवस्तुको लागि समय छुट्याइएको छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता विमलकुमार साहले भने, ‘एकैपटक भीडभाड नहोस् भनेर र भन्सार क्लियरिङ्ग एजेन्टहरूले तोकिएको समयअनुसार मालसमान भन्सार पास गराएर लैजानेगरी व्यवस्थापन गरिएको छ।’ त्यावश्यक सामानबाहेकमा समयतालिका लागु हुने उनले बताए। खाद्यान्न, औषधि र कच्चापदार्थ जस्ता अत्यावश्यक वस्तु आयातमा भने समय तालिका लागु हुने बाध्यता छैन।

त्यसतै कोरोनाको जोखिम बढेपछि गत साउन १८ देखि ७ दिनका लागि रातो च्यानलमार्फत आयात हुने मालवस्तुको जाँचपास वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले रोकेको थियो। अहिले गत आइतबारदेखि भन्सार एजेन्टलाई यहाँ पनि आलोपालो प्रणाली लगाइएको छ।  

‘भीडभाड रोक्न हामीले एउटा प्रयास गरेका हौं, आधा एजेन्टलाई एक दिन बाँकीका आधालाई अर्को दिन गरी पालो बाँडिएको छ,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भने, ‘यसबाट काम चाहिँ त्यतिकै भइरेहको छ, भीड भने घटेको छ।’ यता समान्य आवतजावतको कुरा गर्दा लकडाउन सुरु हुँदाको बखत सिमामा गरिएको कडाइ धेरै समय कायम रहन सकेन। मुख्य नाकातिर आवतजावत बन्द भए पनि अन्यतिर सीमापारीबाट मानिसहरू आवतजावत रोकिएन। चोरीपैठारी र चोरीनिकासी जस्ता तस्करीका अवैध गतिविधि नियन्त्रणमा सुरक्षा निकायको प्रयास अपुग भएको छ। सहरदेखि ग्रामीण क्षेत्रसमम कोरोना भाइरसको संक्रमण भने फैलिँदो छ। स्थलमार्गबाट आवागमन र व्यापारको लागि मुलुककै मूल गेटजस्तो रहेको वीरगन्जमा जिल्ला प्रसाशन कार्यालय पर्साद्वारा गत साउन १० गतेदेखि निषेधाज्ञा लगाइएको छ।  

चिकित्सा प्रणाली डमाडोल

चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य प्राविधिक र अस्पताल कर्मचारी गरी ६० भन्दा बढी अहिलेसम्म यहाँ संक्रमित फेला परिसकेका छन्। निजी अस्पतालले बिरामी भर्ना लिन छोडेपछि उपचार अभावमा मानिसहरू मर्ने क्रम दोहरिएको छ। सरकारी नारायणी अस्पतालमा यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीलाई समेत कोरोना देखिएको भन्दै अस्पतालले नै सूचना जारी गरेपछि आकस्मिकबाहेकका सबै सेवा साउन ९ देखि बन्द छ। अस्पतालमा जनशक्ति अभाव छ।

जनशक्ति अपुग भएको भन्दै ३ साता अगाडि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागमा जानकारी गराइएको यहाँका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली वीरगन्ज पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जानकारी गराइएको भनिएका पनि त्यसो हुन सकेको छैन।  

त्यसयता विभागले २ जना नर्स मात्र यहाँ थपेको नारायणी अस्पतालले जनाएको छ। संक्रमितको संख्या भने यहाँ दैनिक रूपमा थपिँदै गएको छ। यसअघि लकडाउनको समय सदुपयोग गर्न चुकेकोजस्तै यसपटक पनि निषेधाज्ञा लगाएर मात्र छोडिएको धेरैको गुनासो छ। कोरोनाकालीन नाका व्यवस्थापनका लागि मापदण्ड बनाउने, संक्रमण रोकथामका लागि थप तयारी, साधन तथा जनशक्ति थप्नेजस्ता काम गरिएको छैन। जनशक्ति मात्र होइन बारा, पर्सा र रौतहटसम्मका लागि यहाँ रहेको पिसिआर परीक्षण प्रयोगशालामा रिएजेन्ट र अन्य सामग्री अभाव भएको छ। पिसिआर किट अभावमा अस्पतालले मंगलबार करिब १२ सय स्वाब काठमाडौं पठाएको थियो।

प्रकाशित: ३२ श्रावण २०७७ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App