समाज

लिदी पहिरो : ११ शवको अन्तिम संस्कार

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी पहिरोमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । पहिरोमा अझै २७ हराइरहेका छन् ।  

पहिरोमा शनिबार थप एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन । शुक्रबार ११ शव फेला परेका थिए । ती शवको भने शनिबार बिहान सनाखत भएपछि अन्तिम संस्कारसमेत गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सात बालबालिका, दुई/दुई महिला र पुरुषको सनाखतपछि कानुनी प्रक्रिया पुरा गरेर शव परिवारलाई जिम्मा लगाइएको थियो ।

सनाखतपछि मृतक टीकामाया दोङ (३६) छिरिङ दोङ (१४), जिते झाँक्री (८०), मिलन दोङ (८), सानु दोङ (५), जयबहादुर दोङ (७०), दावालामु (सानुकान्छी) दोङ (३०), उनकी छोरी प्रिती दोङ (५), उनकै पाँच महिनाकी छोरी तारालामु दोङ, धनमाया तामाङ दोङ (३४) र उनका चार महिनाका छोरा रेमीश दोङको अन्तिम संस्कार गरिएको हो । घटनास्थल नजिक मृतक महिला र पुरुषलाई फरक–फरक स्थानमा बौद्धधर्म परम्पराअनुसार अन्तिम संस्कार गरिएको स्थानीय प्रेम दोङले जानकारी दिए ।  

शुक्रबार बिहान बस्तिको पाँच सय मिटरमाथिबाट पहिरो खस्दा लिदी गाउँका ३७ घर पुरेको थियो । घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए । तीमध्ये १२ को शव फेला परेको हो । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बेपत्ताको खोजीमा जुटेको थियो । मध्याह्न पहिरोबाट देलो ढुंगामाटो बग्न थालेपछि खोजी कार्य बिथोलिएको छ । त्यतिबेला सुरक्षाकर्मीबीच नै भागदौड मच्चिएको थियो ।

प्रकाशित: ३१ श्रावण २०७७ ०९:०० शनिबार

लिदी पहिरो