समाज

सरकारले सुनेनः एक महिनाअघि लिदीवासीले जे सोचेका थिए, शुक्रबार त्यही भयो

लिदी पहिरोमा ११ को मृत्यु, २७ बेपत्ता

ब्रह्मायणी नदी किनारमा बलेफी ‘ए’ जलविद्युत् आयोजना बन्दै छ। लिदी गाउँको ठीकमुनि आयोजनाले सुरुङ खनेको छ। सुरुङ खन्ने क्रममा गराइएको विस्फोटले जमिन चर्केको ठानेका लिदीवासी त्रसित थिए। गत असार तेस्रो साता बस्तीमाथिबाट लिदी गाउँमा पहिरोसमेत खस्यो। पहिरोले दुई घरमा क्षति पुग्यो।  

त्यतिबेला ठूलो क्षति नभए पनि तल जमिन थर्काएर खनिएको सुरुङ र माथिबाट खस्न थालेको पहिरोले बस्ती जोखिममा परेको महसुस गर्दै स्थानीय सरोकारवाला निकायमा समस्या लिएर पुगे। सदरमुकाम पुगेर सिडिओलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए। बस्तीको भौगर्भिक अध्ययन गर्नसमेत माग राखे। उनीहरूले सम्भावित पहिरोबाट बचाउन स्थानीय सरकारसँग गुहार मागे। प्रदेश सरकारसँग पनि समस्या राखे। एक महिनाअघि लिदीवासीले गरेको अनुनयविनय सरकारले सुनेन। उनीहरूले महिनाअघि जे सोचेका थिए, शुक्रबार बिहान त्यही भएरै छोड्यो। जुगल गाउँपालिका–२ गोल्चेस्थित लिदा माथिबाट पहिरो खस्दा पुरिएर पाँच बालकसहित ११ जनाले ज्यान गुमाए। पहिरोमा परेका २७ जनाको अत्तोपत्तो छैन। पहिरो स्थलबाट उद्धार गरेर निकालिएका १५ घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ। ‘गाउँवासीको समस्या कसैले नसुन्दाको परिणाम हो यो,’ वडासदस्य विष्णु लामाले भने, ‘सरकारले समयमै स्थानीयको माग सुनेको भए यत्रो मानवीय क्षति हुँदैनथ्यो।’  

पहिरोमा ३८ जना पुरिएका थिए। पुरिएकामध्ये शुक्रबार साँझसम्म ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बताए। ‘बाँकी पहिरोमा हराइरहेका छन्,’ उनले भने। उनका अनुसार चार पुरुष, दुई महिला र पाँच बालकको शव भेटिएको छ। मृतकको पहिचान हुन नसकेको उनले बताए। काफ्लेका अनुसार मृतकमध्ये धेरैको अनुहार चिन्न सकिने अवस्था छैन। पहिरोमा हराइरहेका २७ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार बेपत्ता पुष्टि भएका ३८ जनामा मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्छी लामा, धनमाया तामाङ, रेनिस दोङ, मेकमाया दोङ, मिलन दोङ, विमला दोङ, माइला पराङ, प्रकाश दोङ, साइली दोङ, आयुष दोङ, सुवास तामाङ, छविलाल दोङ, सोनरानी दोङ, धनलक्ष्मी दोङ, शिरमाया दोङ, बिबीरानी दोङ, बिबीलक्ष्मी दोङ, सानुकान्छा दोङ, साङ्लामो दोङ, सोनाम दोङ, हीरा झाँक्री, जिते झाँक्री, सानुकान्छी दोङ ९गर्भवती०, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिष्मा दोङ, च्यामा दोङ, साङ दोङ, टीकामाइ दोङ, छिरिङ दोङलगायत छन्। उनीहरूमध्ये ११ को शव भेटिएको डिएसपी काफ्लेले बताए।

एक महिनाअघि लिदीवासीले गरेको अनुनयविनय सरकारले सुनेन । उनीहरूले महिनाअघि जे सोचेका थिए, शुक्रबार बिहान त्यही भएरै छोड्यो ।  

प्रहरीका अनुसार गम्भीर घाइते रूपक दोङ, पासाङ दोङ, केवरिङ दोङ र जुनु दोङको चौतारा र याङ्मुल्हामु दोङको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। चार घाइतेलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा चढेर आएको नेपाली सेनाको हेलिकोप्टरमा चौतारा लगिएको हो। याङमुल्हामुलाई मनाङ एयरको हेलिकोप्टरबाट राजधानी लगिएको हो। सामान्य घाइते १० जनाको गाउँमै उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य छ। पहिरोमा पुरिएका केहीलाई स्थानीयले उद्धार गरेका थिए। केही आफैँ पहिरो पन्छाएर निस्किएका थिए।  

डिएसपी काफ्लेले पहिरोले ३७ घर पुरेको बताए। ‘पशुचौपाया र धनमालको पनि क्षति भएको छ। पहिला बेपत्ता मानिसको खोजीमै केन्द्रित छौं,’ उनले भने। पहिरोपीडित नेत्र दोङका अनुसार लिदीमा झण्डै ६० घर परिवारको बसोबास छ। बस्तीको पाँच सय मिटर माथिबाट पहिरो खसेको हो। यो महिनाअघिको पहिरोले ठूलो रूप लिएको उनले बताए।  

पहिरो निरन्तर खसिरहेकाले दुई दर्जनजति घर उच्च जोखिममा छन्। पहिरोमा एकै परिवारका ६ जनासम्म बेपत्ता भएको जानकारी नेत्रले दिए। जयबहादुर दोङसहित उनको परिवारका सबै ६ जना हराइरहेका छन्। ‘पहिरोमा केही परिवारका चार–पाँच सदस्य बेपत्ता छन्,’ उनले भने।

असारको पहिरोपछि गाउँले घरमा सुत्दैनथे। सुरक्षित स्थलमा रहेको गोठ, टहरोमा गाउँलेले रात कटाउँदै आएका थिए। ‘ज्यान जोगाउन राति अन्यत्रै सुत्न जाने स्थानीयलाई शुक्रबार बिहानैको पहिरोले झुक्यायो,’ वडा सदस्य लामाले भने। उनका अनुसार बिहान सबै घर आइसकेको भए वा सुत्न गोठ नजाने गरेको भए अझै भयावह क्षति हुन सक्थ्यो।  

घटनापछि समयमै सुरक्षाकर्मी नआएको स्थानीयको गुनासो छ। घटनाको दुई घन्टापछि चार सैनिक घटनास्थल पुगेका थिए। पहिरोस्थलको निरीक्षणमा आएका सभामुख सापकोटा चौतारामा ओर्लेर आफू चढेको हेलिकोप्टरमा ती सैनिकलाई उद्धारमा पठाएका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली चार घन्टापछि घटनास्थल पुगेको थियो। घटनास्थल दुर्गममा रहेको र घन्टौं पैदल हिँड्नुपर्ने भएकाले सुरक्षाकर्मी पुग्न समय लागेको डिएसपी काफ्ले बताउँछन्।

असारमा पहिलो पहिरो गएपछि लिदीसहित छिमेकी गाउँका बासिन्दाले २३ गते जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए। सुरुङ खन्दा विस्फोट गराउने क्रममा जमिन थर्किएको र यसले पहिरोको रूप लिने सक्ने औंल्याउँदै लिदी, सञ्चगाउँ, नाम्फा, झुल्के, निम्लुङ र बैगाङका पाँच सय घरधुरी जोखिममा रहेको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए। स्थानीयले त्यतिबेला बस्तीको भौगर्भिक अध्ययन र आवश्यक परे स्थानान्तरणसम्मको माग राखेको वडा सदस्य लामा बताउँछन्। ‘प्रदेश सरकारसँग पनि यही गुनासो लिएर पुग्यौं तर सुनुवाइ भएन,’ उनले भने, ‘बेलैमा हाम्रो समस्या सुनुवाइ भएको भए यत्रो मानवीय क्षति भोग्नुपर्दैनथ्यो।’ यी बस्तीमुनिबाट ३६ मेगावाटको बलेफी ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ खनिएको छ।  

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीयले समस्याबारे ध्यानाकर्षण गराएपछि सुरक्षित स्थलमा बस्न त्रिपाललगायत सामग्री वितरण गरिएको बताउँछन्। ‘उनीहरूले राहत सामग्री पाएको पनि देखियो। सुरक्षित स्थलमा सरेको पनि देखियो। चलाखी गर्दागर्दै दुखद घटना हुन गयो,’ उनले भने। पहिरो निम्तिनुमा सुरुङ कारक रहे/नरहेको बारे प्राविधिक अध्ययनपछि मात्र भन्न सकिने ढकालले बताए।  

२०७२ वैशाख १२ को भूकम्पपछि लिदीलगायत गाउँमा ससाना पहिरो गएका थिए। भूकम्पपछि लामो समय अन्यत्र विस्थापित भएका स्थानीय पछि गाउँमै फर्केर घर बनाइबसेका थिए। भूकम्पपछि सुरुमा आएको विज्ञ टोलीले यो गाउँलाई जोमिखस्थलका रूपमा पहिचान गरेको थियो। पछि आएका अन्य टोलीले सुरक्षित बताएपछि विस्थापित गाउँ फर्केका थिए। प्रजिअ ढकाल भूकम्पपछि लिदी गाउँलाई जोखिमस्थलका रूपमा पहिचान गरिएको बताउँछन्। तर, स्थानीय भने भूकम्पले गाउँ जोखिममा परेको मान्न तयार छैनन्। गृहमन्त्री रामबहादुर थापाले पहिरोस्थलको निरीक्षण गर्दै बस्ती स्थानान्तरण गर्नुपर्ने औंल्याए। ‘गाउँ पहिलेदेखि जोखिममा रहेछ,’ उनले भन, ‘म केन्द्रबाट बस्ती स्थानान्तरण प्रक्रियाका लागि पहल थाल्छु।’  

घटनापछि सभामुख सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले विज्ञप्ति जारी गर्दै घाइतेको उपचार, बेपत्ताको खोजी र पीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन्। लिदीसिहत सिन्धुपाल्चोकमा पछिल्लो एक महिनामा बाढीपहिरोका  सात घटनामा मृत्यु हुनेको संख्या २९ पुगेको छ। ४७ जना बेपत्ता छन्।

प्रकाशित: ३१ श्रावण २०७७ ०१:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App