समाज

लिदी पहिरो : रातभर बाहिर सुतेर बिहान फर्किएका थिए गाउँले

मुलुकका अधिकांश क्षेत्रमा अकस्मात पहिराले ठूलो मानवीय क्षति भएको र राति सुतेकै बेलामा पहिरो खसेर धेरै मानिसको अकालमा ज्यान गएको थियो। सिन्धुपाल्चोकको लिदी गाउँमा आज बिहान खसेको पहिरो भने जानकारी हुँदाहुँदै पनि मानवीय क्षति टार्न सकिएन। स्थानीयवासीले पहिले नै जोखिममा रहेको भन्दै बस्ती स्थानान्तरणको माग गरे पनि त्यो सफल नहुँदा क्षति हुन पुगेको छ।  

प्रारम्भिक विवरणमा आज बिहान जुगल गाउँपालिका–२ लिदीमा भीषण पहिरो जाँदा ३६ घर क्षति भएको र ३८ जना परेको प्रारम्भिक जानकारी आए पनि यकिन विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए।  त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ। केही घाइतेको उद्धार गरिएको छ।

पहिलै अनुमान गरिएको क्षेत्रमा पहिरो खस्दा धेरै मानिस घरसहित पुरिएका छन्। जुगल–२ का वडा सदस्य तथा स्थानीयवासी विष्णुलाल दोङका अनुसार गत असार २६ गते त्यहाँ भीषण पानी परेको थियो। त्यसबेला भत्किँदा एउटा घरमा क्षति पुगेको थियो भने सामान्य पहिरो खसेको थियो। त्यस दिनदेखि नै स्थानीयवासीले रातिमा घर बस्न छाडेका थिए। कोदोबारीमा त्रिपाल हालेर बस्ने गरेका थिए। झण्डै ५० घर जोखिममा परेपछि उनीहरुले दैनिक सावधानी अपनाउँदै आएका थिए। दोङका अनुसार यहाँ निर्माणाधीन बलेफी ‘ए’ हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा भएको विस्फोटले जमीनमा असर परेको स्थानीयवासीको अनुमान गरिएको छ। त्यही विषयमा उनीहरुले पटकपटक स्थानीय प्रशासनलाई जानकारीसमेत गराएका थिए। समयमै बस्ती सार्न सकिएको भए क्षति नहुने स्थानीयवासी बताउँछन्।

‘जोखिम पहिचान भएपछि गाउँले हरेक राति घरमा कोही सुत्थेनन्, पहिरो खस्छ भन्ने डर थियो, रातभरि त्रिपालमा सुत्ने र बिहान उठेर घर जाने गरेका थिए’, गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले रासससँग भने, ‘आज बिहान पनि रातभर बाहिर सुतेर घर फर्किएका थिए, एक्कासि खसेको पहिरामा परे।’ रातभरि भारी वर्षा भएको थियो। त्यसैले मानिसहरु अस्थायी आश्रयस्थलमा गएका थिए। राति पहिरो खसेको भए मानवीय क्षति हुने थिएन। बिहान सबै घर फर्किएर काम गर्न थाल्दा एक्कासि पहिरो खसेको श्रेष्ठले बताए। पहिरो आउन थाल्यो भने भाग्न सकिन्छ भन्ने सोचेर मानिसहरु बिहान घर फर्किएका उनले बताए।  

गत असार २६ मा उक्त घटना भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा स्थानीयवासीले बस्ती जोखिममा परेको भन्दै सुरक्षित गर्नका लागि निवेदनसमेत दिएका थिए। यही साउन २३ मा उनीहरुले लिदीसहित झुल्के, निम्लुङ, सञ्चगाउँ, बेगाङका ५०० भन्दा बढी घर जोखिममा परेका भन्दै बस्ती जोखिम पहिचान गर्न र बस्ती सुरक्षित राख्न माग गरेका थिए।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले निवेदन आएपछि समितिले निर्णय गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सिफारिस पत्र पठाएको समेत जानकारी दिए।  

वडासदस्य दोङका अनुसार उक्त गाउँमा कूल १७२ घरधुरी छन्। त्यसमध्ये ५० घर पहिराको उच्च जोखिममा थिए। प्रारम्भिक विवरणमा आज ३६ घर क्षति भएका र ३८ जना परेको जानकारी आए पनि यकिन विवरण नआएको सहायक प्रजिअ खनाल बताए।  त्यसमध्ये अहिलेसम्म तीन जनाको शव फेला परेको छ। पाँचजना घाइतेको उद्धार गरिएको छ। उक्त गाउँमा दोङहरुको बसोबास छ। केही घरका सबै परिवार हराएको जनाइएको छ।  

जिल्ला प्रशासन कार्यालयका अनुसार यो मनसुनका बेला जिल्लामा यसअघि २२ जना बेपत्ता भएका छन्। उनीहरुको अवस्था थाहा हुन सकेको छैन। बिहीबारसम्मको विवरणमा २० जनाको मृत्यु भएको सहायक प्रजिअ खनालले बताए। त्यसमध्ये सबैभन्दा बढी क्षति बाह्रबिसेको जम्बुडाँडामा भेलपहिराका कारण भएको थियो। त्यहाँ हराइरहेका अझै फेला परेका छैनन्। त्यसपछि भोटेकोशी, मेलम्ची र पाँचपोखरीमा भौतिकसहित मानवीय क्षति भएको छ। यो पटक लिदीमा जिल्लाकै सबैभन्दा बढी मानवीय क्षति हुने गरी पहिरो खसेको छ।

साउनको दोस्रो सातादेखि मुलुकभर वर्षा कम भयो। लगातारको झरी पर्ने क्रम रोकिए पनि ठाउँठाउँमा भारी वर्षा भने कायमै रहँदा कतिपय क्षेत्रमा ठूलै मानवीय क्षति बेहोर्नु परिरहेको छ। मौसमविद्का अनुसार अझै पनि सावधानी अपनाउन जरुरी छ। 

प्रकाशित: ३० श्रावण २०७७ १३:०७ शुक्रबार

लिदी पहिरो