समाज

सिन्धुपाल्चोकमा पहिरोले दर्जन घर पुर्‍यो, ठूलो मानवीय क्षतिको आशंका

जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा अबिरल वर्षापछिको पहिरोले कम्तिमा एक दर्जन घर पुरेको छ। पहिरोमा धेरै मानवीय क्षतिसमेत भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।  

शुक्रबार बिहान ६ बजेतिर बस्तीमाथिबाट पहिरो खसेको हो। पहिरोले कम्तिमा एक दर्जन घर पुरेको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले पहिरोको क्षतिबारे यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए।  

‘पहिरोले धेरै जनधनको क्षति गरेको स्थानीयले बताएका छन्,’ डिएसपी काफ्लेले भने। स्थानीय ओछ्यानबाट उठेर घरधन्दामा जुटिरहेको समयमा पहिरो खसेको थियो। पहिरोको चाल पाएपछि गाउँमा भागदौड मच्चिएको थियो। भाग्दा भाग्दै केहीलाई पहिरोले पुरेको प्रत्यक्षदर्शीले जनाएका छन्। आंशिक पुरिएका केही भने पहिरो पन्छाएर आफैँ निस्किएका थिए।

घटनापछि उद्दारका लागि इलाका प्रहरी कार्यालय जलवीर र प्रहरी चौकी कात्तिकेबाट टोली पहिरोस्थलतर्फ अघि बढेको डिएसपी काफ्लेले जानकारी दिए। त्रासले स्थानीयबाट उद्दार प्रयास हुन सकेको छैन। बचाउको गुहार माग्दै स्थानीय टेलिफोनमा रुवावासी गरिरहेका छन्।

प्रकाशित: ३० श्रावण २०७७ ०३:२४ शुक्रबार

पहिरो