समाज

बाढी पहिरोले सुदूर पहाडको जनजीवन अस्तव्यस्त

बाढी पहिरोले सुदूर पहाडको जनजीवन अस्तव्यस्त बनाएको छ।  ठाउँठाउँमा पहिरो र नदीहरुमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको हो।  आइतबार रातीदेखि परेको अविरल वर्षासँगै बुढीगंगा नदीमा आएको बाढीले बाजुराको बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठूलो क्षती  पुर्याएको छ।  घर बगाउँदा एक महिला बेपता भएकी छन् भने ६३ परिवार बिस्थापित भएका छन्।  

नदीमा आएको बाढीले सयौं रोपनी खेत बगाएको छ।  बडिमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्बर महतको घर बगाउँदा घरसँगै उनीकी ६५ वर्षीया आमा अइसेनी बेपत्ता भएकी छिन्।  बाढीले नगरपालिका २, ४ र ६ का  ३१ परिवार पूर्ण रुपमा बिस्थापित भएका छन् भने ३२ परिवारको घर बगाउँदा उनीहरुलाई  नेपाल राष्ट्रिय मावि र सामुदायिक वनको भवनमा राख्नुका साथै केही परिवारलाई डाँडामा पाल टाँगेर राखिएको बडिमालिका नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकले जानकारी दिए।  

यस्तै बुढीगंगा नदीले साफेँ–मार्तडी सडक अन्तरगत बुढीगंगा नदीमाथि बनाएको बेलिबिज्र समेत बगाउनुका साथै चारवटा झुलङ्गे पुल, खेतमा लगाएको धानबाली  बगाएको छ।  घर बगाउँदा एक दर्जन बाख्रा र गाईभैँसी बगाउनुका साथै साँफेबगर मार्तडी सडक खण्ड बगाएको प्रहरीले जनाएको छ। एक महिनादेखि साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाले साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरादेखि तिपाडासम्म ठाँउठाँउमा पहिरो गएपछि सडकमा अवरोध भएको हो। जसले गर्दा यातायातका साधन तथा स्थानीयलाई आवतजावत गर्नसमस्या भएको छ।  पहिराले बुढिगंगा नगरपालिका १ अम्कोटमा सडक नै तहसनहस हुनेगरी बिगारेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। यातायात बन्द भएपछि सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ। सडक अवरोधपछि ती क्षेत्रमा दैनिक उपभोग्य सामान तथा औषधिको अभाव भएको छ।

बझाङमा पनि लगातारको वर्षाले सडक अवरुद्ध भएको छ। जयपृथ्वी राजर्माग अन्र्तरगत जालेबगरमा २५ मिटर सडक बगाउँदा यातायात बन्द भएको छ यस्तै सेतीमा आएको बाढीले पुरानो भोपुर ब्यारेक वरपरको खेतमा लगाएको धानबाली बगाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

अछाम पनि पहिरोले समस्या निम्ताएको छ।  रामारोशनमा गाउँपालिकामा १ सय ३ घरपरिवार विस्थापित भएका छन्। रामरोशन गाउँपालिका–५ अल्लेडीका ५७, रामारोशनका ७, वडा नम्बर ४ बाटुलासैनका १६, वडा नम्बर ६ भाटाकाटियाका २ र अन्य वडाका सहित १ सय ३ परिवार प्रभावित भएका हुन्।  बाढी र पहिराले गाउँपालिकाका सयौं रोपनी खेतीयोग्य जमिनलाई बगर बनाएको छ। रामारोशन क्षेत्रका ६ झोलुंगे पुल, ५ जलविद्युत् परियोजना, ३० भन्दा बढी पानी घट्ट, १४ खानेपानीका मुहान र ६ वटा सिँचाइ कुलो पूर्णरूपमा क्षति पुगेको बताइएको छ।

डोडी, बैतडी र दार्चुलामा वर्षाले ग्रामीण सडक अवरुद्ध भएका छन्।  लगातारको वर्षाले कच्ची सडकमा यातायात नचन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ। जिल्लामा प्रायः दैनिक भइरहेको वर्षातका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्। बर्सातले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा समेत अवरोध उत्पन्न भएको छ।यहाँका दर्जनौं ग्रामीण सडक र गाउँका घोरेटो बाटोसमेत अवरुद्ध हुँदा ग्रामीण क्षेत्रको आवतजावत रोकिएको हो।  वर्षातका कारण जिल्लाको सिलगढी झिग्राना, मौवा, मेल्लेक, केआइसिंह, वायल, कपल्लेकी, गड्सेरा, मुड्भारा धुर्कोट, चवराचौतारा, नापानी, जोरायल गड्सेरा, बिपिनगर गड्सेरा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेशबहादुर शाहीले जानकारी  बताए।  बैतडीको दुदिलाखान–गाजरी, ढोल्यामोड–हाट, सिल्लेगाडा–विजयपुर लगायतका सडक अवरुद्ध भएका छन्।  लगातार परेको वर्षाले यहाँका सडकहरु हिलाम्मे भएसँगै सवारीसाधन गुड्न सकेका छैनन्। यहाँका सडकहरुमाबर्खा सुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको छ। दार्चुला जिल्लाका पनि अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।  

 

सेती नदीमा आएको बाढी। तस्विरः जगत  

 

प्रकाशित: २६ श्रावण २०७७ १२:३२ सोमबार

बाढी