समाज

पहिचान जोगाउन मलेखुमा माछाको प्रतिमा

गजुरी गाउँपालिकास्थित मलेखुबजारमा निर्माण गरिएको माछाको प्रतिमा।

माछाका लागि प्रसिद्धि कमाएको ठाउँ हो धादिङको मलेखु बजार। २०३५ सालदेखि मलेखुका छविलाल मरहठ्ठाले व्यावसायिक माछा व्यापार सुरु गरे। मरहठ्ठाले स्थानीय खोलाको आधा केजी माछा र १ केजी आलुबाट सुरु गरेको माछा–चप व्यवसायले आज मलेखु बजार र देशविदेशमा प्रसिद्ध बनेको छ। अहिले माछाको व्यवसाय गर्नेको संख्या विस्तारै बढ्दै गएको छ।  

राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाका भएकाले पनि मलेखुको माछा बजार सबैलाई लोकप्रिय बनेको छ। माछा बजारको रूपमा परिचित मलेखुको पहिचान जोगाइराख्न माछाको प्रतिमा निर्माण गरिएको छ। माछाका परिकारका पारखीका लागि थप आकर्षित गर्न गजुरी गाउँपालिकास्थित मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई मलेखुमा थप आकर्षित गर्न गजुरी गाउँपालिकाले ढलोटको माछाको प्रतीक बनाएर मलेखु चोकमा राखेको हो।  

माछा बजारको रूपमा देशविदेशमा चिनिन सफल भएकाले मलेखुमा माछाको प्रतीक निर्माण गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए। ‘मलेखुलाई माछा बजारको रूपमा चिनाउने काम ४२ वर्ष अघिदेखि सुरु भएको हो,’ उनले भने, ‘त्यतिबेला एक जनाले सुरु गरेको व्यवसाय बढ्दै गएर आज सयौं होटल मलेखु आसपास र गजुरी गाउँपालिकामा मात्रै ४५ वटा होटल व्यवसायिक रुपमा सञ्चालन भएकोमा मलेखुमा माछाको प्रतिक बनाएर मलेखुको पहिचानलाई जोगाउन खोजेका हौँ।’

मलेखुमा राखिएको माछाको प्रतिमा ललितपुरस्थित विद्याधारी हस्तकला केन्द्रका बावुराजा महर्जन र उनका छोरा अनिश महर्जनले निर्माण गरेका हुन्। प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी गाउँपालिकाले जनाएको छ। राजमार्ग छेवैमा निर्माण गरिएको प्रतिमाले मलेुखको पहिचानलाई सदैव जोगाइराख्ने स्थानीयको भनाई छ।  

मलेखु बजारमा मलेखु खोला, त्रिशूली नदी, स्थानीय पोखरी र चितवन, वीरगञ्ज, जनकपुर लगायतका स्थानबाट ल्याइएका माछा पाइन्छन्। सुरुका दिनमा मलेखु खोला र त्रिशूली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किएपछि बैकल्पिक श्रोतबाट मलेखुमा माछा ल्याउन थालिएको हो। २०५० साल पछि तराई क्षेत्रका माछाले मलेखसुमा प्रवेश पाएको व्यवसायीहरु बताउँछन्।  

अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछा उपलब्ध छन्। तेलमा तारेको (फ्राइड माछा) माछा सबैले मन पराउँछन्। माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन्। जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन्। खाना खानेहरूले त झोल हालेर नै बनाउन लगाउँछन्। अधिकंशले आफूले खाएपछि परिवारका लागि समेत फ्राइ गरेको, आलो, सुकाएको माछा घर लाने गरेका छन्। माछा मात्रै होइन आलुचप पनि त्यतिकै लोकप्रिय छ।  

मलेखुका होटलमा माछाका पारखीहरुको चाहना जस्तै त्रिशुलीका माछा भने कमै मात्र पाइने गरेका छन्। जिल्लामा उत्पादित माछाले मात्र बजारको माग धान्न नसकेपछि तराईका विभिन्न जिल्ला र भारतबाट माछा आयात हुने गरेको व्यापारीहरु बताउँछन्। मलेखु बजारमा मात्र प्रतिदिन दुईदेखि तीन टनभन्दा धेरै माछा खपत हुने गरेको छ। त्रिशुली नदिमा पाईने स्थानीय प्रजातीका माछाहरु विभिन्न कारणले लोप हुँदै गएकाले मलेखु बजारमा भारतीय बजार र तराईका माछा आयात गर्नुपरेको व्यापारीहरुको भनाई छ।

प्रकाशित: २१ श्रावण २०७७ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App