समाज

ताप्लेजुङको हाङ्देवामा भेटियो मानव कंकाल

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको कटहरेस्थित खोलाखेत जंगलभित्र पहिचान हुन नसकेको एक मानव कंकाल फेला परेको छ। अडेरीको रुखमा महिलाले लगाउने सेतो रंगको सुरुवाल बाँधिएको अवस्थामा फेला परेको मानव कंकालको सनाखत हुन नसकेपछि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले उक्त कंकालको आफन्त तथा हकदारको खोजतलासका लागि हुलिया बिवरण सार्वजनिक गरी कसैका आफन्त हराएको भए सम्पर्क राख्न आवहन समेत गरेको छ। शरीरमा कुनै पनि मांशपेसी नरहेको र पुरुष वा महिला के हो भन्ने खुल्न नसकेको, कंकालसंगै महिलाले लगाउने बेजनी रंगको भित्री वस्त्र, निलो रंगको लेडिज पाइन्ट, सोहि पाईन्टमा कालोबेल्ट, कालोरंगको प्लास्टिकको एकजोर चप्पल, निलो आकासे रंगको सर्ट, सेतो सादा भेष्ट, निलो रंगको जिन्स पाइन्ट र अंग्रेजी अक्षरमा चेल्सी फुटबल क्लवको लोगो भएको निलो रंगको भेष्टसहितका सामान समेत सो मानव कंकाल संगै फेला परेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रमुख श्रेष्ठले थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित: १७ श्रावण २०७७ ०५:२० शनिबार

मानव कंकाल