समाज

कर्णाली कै प्रसिद्ध जात्रा यो वर्ष सञ्चालन नहुने

आगामी साउन २० गतेदेखि सुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्षको जात्रा सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने इतिहासिक चलन रहिआए पनि यो वर्ष कोरोना भाइरसका कारण जात्रा नहुने भएको उनले बताए । शुक्ल प्रतिपदाका दिन सुरु भई कृष्ण जन्मअष्टमी गरेर आठ दिनसम्म मनाउने कर्णालीकै इतिहासिक चलन यो कोरोना भाइरसका कारण तोडिने भएको छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन रहिआएको थियो ।

लिच्छविकालमा मल्ल राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने चलन रही आएको थियो ।

प्रकाशित: १६ श्रावण २०७७ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App