समाज

गोसाइँकुण्डमा मेला भर्न तीर्थयात्री आउन थाले

धार्मिकस्थल गोसाइँकुण्डमा मेला भर्दै तीर्थयात्री । तस्बिरः हिमनाथ/नागरिक

गोसाइँकुण्ड मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । जनैपूर्णिमाको अवसरमा लाग्ने मेला साउन १० गतेदेखि सुरु भएको थियो । सार्वजनिक सवारी साधन सञ्चालन नभएको, अस्थायी थर्पुको व्यवस्थापन नभएको र विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यस वर्ष मेला व्यवस्थापनको काम भएको थिएन ।

गोसाइँकुण्डमा हिउँ पर्ने समय बाहेक अन्य समयमा तीर्थयात्री जाने गरेका छन् । पदमार्ग सुरक्षित भएको र पास बनाएर आउने निजी सवारी साधनलाई प्रवेश गर्न कठिनाइ नहुने भएकाले थोरै संख्यामा तीर्थयात्री आउन थालेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ । अहिले दैनिक १०/१५ जना तीर्थयात्री आइरहेका छन् ।

संघका अध्यक्ष निशान गजुरेलका अनुसार दैनिक रूपमा होटल बुकिङ गर्ने बढेका छन् । ‘अहिले दैनिक १५ जनासम्म तीर्थयात्री आइरहेका छन्’, उनले भने, ‘बुकिङ गर्नेको संख्या पनि बढिरहेको छ ।’  

अन्य निकायले व्यवस्थापनको काम नगरेकाले होटल व्यवसायीले नै स्वास्थ्य सुरक्षा अपनाएर आएका तीर्थयात्रीलाई राख्ने, गोसाइँकुण्ड बारे जानकारी दिने लगायतका काम गरिरहेका छन् । गोसाइँकुण्ड पदमार्गमा १९ वटा होटल रहेकाले आएका तीर्थयात्रीलाई खानबस्न समस्या नहुने उनको भनाइ छ ।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाडौं–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो ।

काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । त्यसपछि काठमाण्डौँ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटी मार्गबाट तीर्थयात्री जाने गरेका छन् । धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्योग गर्ने गरेका छन् । तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन् ।  

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।  

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ ।  

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौं, काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन् । काठमाडौं उपत्यका नेवार समुदायका धेरै युवायवती जाने गरेका पाइन्छ ।

प्रकाशित: १४ श्रावण २०७७ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App