उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छिन् । नगरपालिकामा कालाकर्तुतहरुको विषयमा कारवाही गर्न नसकेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेकी हुन् ।
‘उपमेयर पद जनतालाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु’ तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित चौधरीले दुईतिहाईको सरकारलाई धिक्कार्दै फेसबुकमा लेखेकी छिन् ‘काला कर्तुतहको विषयमा कार्यान्वयन हुँदैन, धिक्कार छ दुईतिहाई सरकार ।’ बुधबार राति पोष्ट गरेको उनको फेसबुक स्टाटस बिहीबार दिनभर सामाजिक सञ्जालमा भाईरल भयो । हाल नेकपाकी नेतृ रहेकी उनको पोष्टले पार्टीको बेलका नगर कमिटीदेखि जिल्ला कमिटीका नेता कार्यकर्तासम्ममा राजीनामा दिनुपर्ने बाध्यता कसरी उत्पन्न भयो भन्ने कुराको खुल्दुली मच्चिएको छ ।
नागरिकले मागेको प्रतिक्रियामा उपमेयर चौधरीले राजीनामा नदिएको, दिने घोषणा मात्र गरेको बताइन् । ‘राजीनामा दिनैपर्ने त्यस्तो बाध्यता के पर्यो’ भन्ने नागरिकको प्रश्नमा उनले नगरपालिकामा उपमेयरको कुनै हैसियत नभएको गुनासो गर्दै एउटा पन्खादेखि स्काभेटर किन्दासम्म अनियमितता हुने गरेको गुनासो गरिन् । त्यस्तालाई कारवाही गरुँ भनेर आफूले पटक पटक माग गर्दा बेवास्ता गरिएकाले राजीनामा दिने घोषणा गरेको चौधरीको प्रतिक्रिया थियो ।
उपमेयर चौधरीले नगरका एक कर्मचारी (नाम गोप्य राखिएको) ले सुरुदेखि आफूमाथि हैकम जमाउँदै आएको बताइन् । ती कर्मचारीले आफू चढ्ने स्कुटी मर्मत गर्नसम्म नमान्ने, ससाना सामग्री खरिददेखि ठूल्ठूला कामसम्ममा भ्रष्टाचार गर्ने गरेको आरोप लगाइन् । कारवाही गर्न खोज्दा आफू एक्लो परेपछि अत्याचार भएर राजीनामा घोषणा गर्न बाध्य भएको उनले बताइन् । यो कुराको जानकारी पार्टीलाई पनि दिने उनले बताइन् ।
नगरप्रमुख दुर्गाकुमार थापाले उपमेयरले राजीनामा नदिएको बरु कार्यालयमै रहेर नियमित कामकाज गरिरहेको बताए । उनले राजीनामा दिनुपर्ने बाध्यता आफूले नदेखेको भन्दै मयेर थापाले कसैले भ्रष्टाचार गरेको भए, गल्ती कमजोरी पाए कानुनी कारवाही गर्नुपर्ने जनप्रतिनिधिले राजीनामा दिएर समस्या समाधान नहुने बताए । ‘कालाकर्तुत भए, भ्रष्टाचार गरेको पाए प्रमाण संकलन गरेर अख्तियार गुहार्ने हो’ मेयर थापाले भने ‘भ्रष्टाचारीलाई कारवाही पो गर्ने हो, बेथिति र कालाकर्तुत भए जनप्रतिनिधिले त्यसविरुद्ध लड्ने हो, राजीनामा दिएर समाधान हुँदैन ।’
प्रकाशित: ८ श्रावण २०७७ १२:०३ बिहीबार