समाज

पहिरोस्थलमा लैजानुपर्ने खाद्यान्न ब्यारेकमा थन्कियो

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको पहिरोस्थलको अवलोकन गर्न बिहीबार पुगेको टोली । तस्वीर सौजन्य : रेशम छन्त्याल

बाढीपहिरो गएको करिब एक सातापछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली आउने जानकारी पाएपछि सदरमुकाम बेनीमा थन्किएको खाद्यान्न सामग्रीलाई ढुवानी गर्ने तयारी भइरहेको थियो । पोखराबाट खाद्यान्नसहित आवश्यक राहत सामग्री समेत लिएर नेपाली सेनाको हेलिकप्टरको एमआई १७ हेलिकप्टरमा खाद्यान्न लैजाने पूर्वजानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहितको टोलीले कार्यालय परिसरमा रहेको खाद्यान्न लगायतका टेन्ट, त्रिपाललाई बेनपा–६ अर्थुङेको श्रीबक्स गुल्ममा ढुवानी गरियो । जिल्ला प्रशासनबाट सेनाको ब्यारेकमा पुग्न सवारी साधनमै करिब २५ मिनेट लाग्छ ।  

विभिन्न ब्यक्ति र संस्थाले उपलब्ध गराएको खाद्यान्न बोकेर ब्यारेका पुगेपनि इन्धनको समस्या भन्दै टोली सिधै पोखराबाट पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ पुगेपछि टोली ब्यारेकबाट फर्कियो । बिहीबार पश्चिम म्याग्दीको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका मुख्यमन्त्री गुरूङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, नेपाली सेना, प्रहरीका प्रदेशका प्रमुखले गत असार २५ गते शुक्रबार राती आएको पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङको आरवाङ, राम्चे, कल्लेनी लगायतका बस्तीहरूको अवलोकन गरेपछि ८ जनाको ज्यान गएको मालिका गाउँपालिका–७, बिमको पहिरोस्थलमा भने पुगेनन् । अनुकल मौषममा समेत बिमका पहिरोपीडितलाई नभेटेको भन्दै वडा अध्यक्ष लगायतले सामाजिक सञ्जालमा समेत दुःख ब्यक्त गरेका छन् ।  

त्यस्तै जिल्लाका प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापा, जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतसँग जिल्लाको बस्तुस्थितीका बारेमा प्रत्यक्ष कुराकानी समेत हुन सकेन । निकै हताहतरामा घटनास्थलमा केही स्थानमा पुगेर फर्किएको टोलीबाट उक्त राहत सामग्री ढुवानीको तयारी गरिएपनि सफल नभएको जिल्लाका अधिकारीहरुको भनाई छ। ‘उहाँहरूको ब्यस्त कार्यतालिकामा हामी अट्न सकिएन्,‘समन्वयको अभाव देखियो’ एक अधिकारीले भने । सडक सञ्जाल नियमित सञ्चालनमा आउन करिब दुईसाता नै लाग्ने र निरन्तर परेको बर्षाले यो बर्खासम्म सम्भव समेत नहुने जोखिममा सेनाको ठूलो आकारको हेलिकप्टरबाटै ढुवानीमा सहज हुने अवस्थामा भिआइपीको समय नमिलेको जिल्लास्थित सरकारी अधिकारीको गुनासो छ । ‘जिल्लाबाट राहत सामाग्री लैजानुपर्ने थियो,‘उहाँहरूले चासो दिनुभएन’ एक अधिकारीले भने ।  

जिल्लाभित्रको सम्रग अवस्थामाका बारेमा जानकारी गराउने तयारीमा रहेको टोलीले समेत मुख्यमन्त्रीलाई नजिकबाटै हेर्न पाएनन् । प्रदेश आसपासका क्षेत्रमा गएको बाढीपहिरोमा ज्यान गुमाउने र विस्थापितलाई भेट्न पटकपटक जाने गरेपनि म्याग्दीमा पहिरो गएको करिब एकसातापछि आएपनि प्रयाप्त समय नदिएको दुखेसो समेत गरेका छन् । पहिरोस्थलबाट फर्किने क्रममा हेलिकप्टरबाट केही बिरामीलाई उद्धार गरी मणिपाल अस्पतालमा लगिएको थियो भने सामाजिक विकासमन्त्री नरदेवी पुन सेनाको ब्यारेकमा ओर्लिए लगत्तै हेलिकप्टर पोखरा प्रस्थान गरेको थियो ।  

पहिरो पीडितलाई मुख्यमन्त्रीको आश्वासन
मुख्यमन्त्री गुरुङले विस्थापितलाई उचित स्थानमा पुर्नस्थापना, राहत तथा आवश्यक सम्पूर्ण सहयोग गर्ने भन्दै पीडितलाई सान्त्वना दिएका छन् । ‘पहिरोले बस्ती छियाछिया भएको छ,‘तपाईहरुलाई आवश्यक पर्ने राहत प्याकेजसहितको सहयोगको तयारीमा छौ’ गुरूङले भने । मराङबाट विस्थापित भएर ताकमको सिवाङमा पुगेका पीडितलाई भेटेर मुख्यमन्त्री गुरुङले आवश्यक प्रक्रिया मिलाएर गाउँपालिका, प्रदेश सरकारबाट बजेटको ब्यवस्थापन गरिने बताउँदै थप आवश्यक परेमा संघीय सरकारबाट समेत पहिरो पीडितका लागि बजेटको माग गरिने बताए ।

मुख्यमन्त्री गुरूङले विस्थापितको समस्या समाधान गर्न केही महिना लाग्न सक्ने बताउनुभएको गाउँपालिकाका योजना शाखा प्रमुख कृष्ण सुबेदीले जानकारी दिए । बाढीपहिरोको कारण सडक सञ्जाल समेत भएकाले आवश्यक सतर्कता अपनाउन मुख्यमन्त्री गुरुङले स्थानीय जनप्रतिनिधिलाई निर्देशन समेत दिएका थिए ।  

टोलीलाई गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले पहिरोस्थलका बारेमा जानकारी गराएकी थिईन । गत असार २५ गते रातीको पहिरोमा परि धौलागिरी गाउँपालिकाका ७२ घर पूर्ण क्षति, २ घर आंशिक क्षति भएका छन् भने ५१५ जना पूर्ण रुपमा प्रभावित र १९ जना आंशिक रुपमा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्याङ्कले देखाएको छ । त्यस्तै मालिका गाउँपालिकामा २० घर पूर्ण क्षति, ४२ घरमा आंशिक क्षति हुँदा ९१ जना पूर्ण रुपमा प्रभावित भएका छन् भने १८५ जना आंशिक रुपमा प्रभावित भएका छन् । 

प्रकाशित: २ श्रावण २०७७ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App