समाज

सुनसरीमा प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान

सुनसरीको दक्षिणी सिमावर्ती क्षेत्रमा गए राती हतियारधारी समूह र प्रहरीबीच गोली हानाहान भएको छ। राती करिब पौने ९ बजे भएको उक्त घटनामा प्रहरीको गोली लागेर २ जना घाइते भएका छन्। देवानगञ्ज गाउँपालिका ३ पानीटंकीमा भएको घटनामा गोली लागेर देवानगञ्ज गाउँपालिका २ का २३ वर्षिय पिन्टु यादव र ३२ वर्षिय राजेश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए। उनका अनुसार दुवैलाई तीघ्रा र घुँडामा गोली लागेको छ। उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार राती दुई वटा मोटरसाइलकमा ५ जना नेपालतर्फ आइरहेका थिए। प्रहरीले रोकेर चेकजाँच गर्दा एक्कासी फायर खोलेको डिएसपी शर्माको भनाई छ। ‘प्रहरीले पनि जवाफी फायर खोल्यो, ३ जना भागे,’उनले भने, ‘२ जना पक्राउ परेका छन्। उनीहरु घाइते भएकोले धरानको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ।’ फारर रहेका ३ जनाको रातभरि खोजी कार्य भएको तर फेला नपरेको प्रहरीले जनाएको छ।  

पक्राउ परेका २ जनाको साथबाट अटोमेटिक युएसए पेस्तोल एक थान, गोली ६ थान, म्याग्जिन २ वटा वरामद भएको छ। यस्तै, भारतीय नम्बरप्लेटको बिआर ३८ भि ३५२८ नम्बरको एक थान मोटरसाइकल र अर्को अनटेष्ट मोटरसाइकल गरि २ थान मोटरसाइकल पनि वरामद भएको छ। प्रहरीका अनुसार पिन्टु यादव यसअघि पनि चोरी, डकैतीलगायत अपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन्। ‘हातहतियार खरखजनाको कारोबारी हुन्। भारतीयसँग मिलेर अवैधरुपमा हतियार ल्याउने हो,’डिएसपी शर्माले भने,‘यसपाली के योजना हो ? अनुसन्धानबाट खुल्छ।’

 

 

प्रकाशित: २ श्रावण २०७७ ०३:४४ शुक्रबार

प्रहरी हतियार