समाज

आमाको काखमा रहेकी २ महिने शिशु निकालियाे

पहिरोस्थलमा हृदयविदारक दृष्य

मालिका गाउँपालिका–७,बिम माल्थानकी २५ वर्षीया विष्णु नेपालीको काखमा बेरिएको अवस्थामा भेटिएकी २ महिने शिशुको शव निकाल्दै सुरक्षाकर्मीको टोली। विष्णुका श्रीमान्, दुई छोराछोरीले नै पहिरोमा ज्यान गुमाएकाछन्। तस्बिर सौजन्य: नेपाल प्रहरी

भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ। म्याग्दीको मालिका गाउँपालिका–७,बिम माल्थानकी २५ वर्षीया विष्णु नेपाली त्यस्तै आमामा पर्छिन्।  

गत शुक्रबार घरमाथिबाट भीषण वर्षासँगै खसेको पहिरोमा परेकी विष्णुले अन्तिम समयसम्म परिवारका अन्य सदस्यलाई जोगाउने प्रयास गरेकी थिइन्। आफ्नै काखमा बेरिएको अवस्थामा २ महिने छोरी निशासँगै उनको शव शनिबार घरभित्रै भेटिएको थियो।सदरमुकाम बेनीबाट गएको प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माको टोलीले करिब डेढ घण्टा लगाएर आमाको न्यानो काखमा बेरिएको अवस्थामा २ महिने शिशुको शव निकालेको थियो। एउटै कोठाभित्र सुतेका विष्णुका श्रीमान् वीरबहादुर नेपाली, ५ वर्षीय छोरा सन्दीप नेपालीको शव बाहिर निकालिएको उद्धारमा पुगेका प्रहरी निरीक्षक शर्माले बताए।‘छोराछोरीलाई जोगाउन खोजेजस्तै देखिन्छ। श्रीमान्ले छोरा, श्रीमतीले छोरीलाई काखमा राखेको अवस्थामा शव निकालियो। हृदयविदारक दृष्यले प्रहरीको टोली नै स्तब्ध भयो,’ शर्माले भने।  

दुई अक्षरले निर्मित प्रिय शब्द आमाबुबाको सन्तानप्रतिको जिम्मेवारी अनगिन्ती भएको घटनास्थलमा बेपत्ताको खोजीका क्रममा देखिएको उनको भनाइ छ।उनका अनुसार पहिरोको संकेत देखिएपछि नेपाली दम्पतीले छोराछोरीलाई बाहिर निकाल्न खोज्दा काँखमा च्यापेको अवस्थामा निकालिएको बताए। दुई महिने शिशुको अवस्थाले प्रहरी तथा उद्धारमा खटिएका स्थानीयका समेत आँखा रसाएका थिए। ‘श्रीमान्–श्रीमती भाग्न सक्थे। छोराछोरीलाई पनि बचाउने प्रयासमा परिवार नै पहिरोमा पुरियो,’ एक स्थानीयले भने।सन्तानको खुसीका लागि आमाबुवाको माया र स्नेहको तुलनामा अरुसँग हुनै सक्दैन भन्ने भनाइ पहिरोस्थलमा शव निकाल्दा देखिएको स्थानीयको भनाइ छ। मालिका–७ का वडाध्यक्ष सुवीन जुग्जालीले मजदुरी गरी जीवन निर्वाह गर्ने गरेका नेपालीको परिवार नै पहिरोमा परेको बताए। ‘अनेक दुखःकष्ट छिचोल्दै यो परिवारले संघर्ष गरिरहेको थियो। दुई सन्तानलाई आफ्नै काखमा राखेर पहिरोमा पुरिए,’ जुग्जालीले भने।  

‘आफ्नोभन्दा छोराछोरीको चिन्ता छ। सन्तानका लागि आमाबुबाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने प्रमाणपनि हो,’ अध्यक्ष जुग्जालीले भने। बिममा ४० वर्षीया विष्णु पौडेल र उनकी ४ वर्षीया छोरी इच्छा, ३५ वर्षीया गौदेवी नेपाली र ५ वर्षीय छोरा विशेष नेपाली रहेका छन्।गौदेवीका श्रीमान् पूर्णबहादुरको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। बस्तीमाथिबाट पहिरो चलेपछि बालबालिका जोगाउन खोज्दासमेत थप मानवीय क्षति भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए। उनका अनुसार धवलागिरि गाउँपालिका–६ मराङरिखका भीमबहादुर जुग्जालीकी ५५ वर्षीया श्रीमती गौशराको मृत्यु भएको छ।  

घरमाथिबाट खसेको पहिरोमा जुग्जालीले बुहारी २० वर्षीया दीमा जुग्जाली, ४ वर्षीया नातिनी दिप्ती, १ वर्षीय नाति दिवानलाई गुमाए। सोही गाउँमा धनबहादुर जुग्जालीले ३३ वर्षीया श्रीमती हिरामती जुग्जाली, ७वर्षीया छोरी करिश्मा र ५ वर्षीय कञ्जनलाई गुमाए। श्रीमती र छोरी गुमाएका  धनबहादुरले जोगाउने अनेक प्रयास गरेपनि सफल हुन सकेनन्। मराङका विभिन्न चारवटा स्थानमा गएको पहिरोमा एकै परिवारका धेरैले ज्यान गुमाएका छन्। पहिरोबाट जोगिएकाले समेत घरभित्र कलिला बालबालिका पहिरोले थुनिएपछि जोगाउन खोज्दा थप मानवीय क्षति पुगेको बताएका छन्। घरको आँगनमा पुगेपछि बालबालिका लिन घरभित्र जाने क्रममा पहिरोमा परेको अनुमान गरिएको मराङका वडाक्ष्यक्ष राजाराम सुवेदीले बताए। ‘कलिला कोपिलालाई पहिरोले टिप्यो। पहिरोमा पुरिएका बालबालिकाको शव निकाल्दा सबैको बोली रोकियो,’ अध्यक्ष सुवेदीले भने। धवलागिरि–६ मा १९ जनाको शव भेटिएको छ भने २ जना बेपत्ता छन्। बेपत्तामध्ये ५१ वर्षीया जनिमा केसी, १६ वर्षीय सवीन पुन, मालिका–७, बिमको एलिसा केसी र खोलाले बगाउँदा बेपत्ता भएकी मालिका–६, दरबाङका ४१ वर्षीया गीता रोका नभेटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ असार २०७७ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App