समाज

खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन

मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ। नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६/७७ मा ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउनुपर्नेमा ४१ जना छुटेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताए।

एक जना पनि खोप लगाउनबाट बञ्चित हुनुनपरोस् भनेर हामीले खोप नलगाएका बालवालिका खोज्न स्वयंसेविका र भ्याक्सिनेटरहरुलाई परिचालन गरेका छौँ, यादवले भने, उनीहरुले घरघरै पुगेर छुटेकाहरुको खोजी गर्नेछन्। सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई दादुरा, जापानी इन्सेफ्लाइटिसलगायत ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउने व्यवस्था गरेको छ। तर कोभिड–१९ को महामारी र अभिभावकले बिर्सने गरेका कारण कतिपय बालबालिका पूर्ण खोपबाट बञ्चित हुने गरेको यादवको भनाइ छ। नगरपालिकाले खोप लगाउन छुटेका २३ महिनासम्मका बालबालिकाको खोजी गर्ने भएको हो।

नगरपालिकाले खोप नलगाएका बालबालिका खोज्नका लागि ९५ स्वास्थ्य स्वयंसेविका र १२ भ्याक्सिनेटरलाई परिचालन गरेको नगरका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिइन्। मेचीनगर नगरपालिकालाई विसं २०७५ असार ७ गते विधिवतरूपमा पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको थियो। नगरमा छ सरकारी स्वास्थ्य उपचार केन्द्र र एउटा सामुदायिक अस्पताल सञ्चालनमा छन्। हरेक महिनाको ३, ४, ५ र ६ गते बिदाको दिनसमेत खोप अभियान सञ्चालन हुँदै आएको छ।

 स्वास्थ्य शाखा प्रमुख राईले यही साउनदेखि बालबालिकालाई रोटा खोपसमेत लगाउन शुरु गरिने बताए। झाडापखाला लागेको भनी उपचारका लागि आउने बालबालिकामा रोटा भाइरसको सङ्क्रमण पाइने गरेको छ। सरकारले साउनदेखि पहिलोपल्ट नेपालमा रोटा भाइरसविरुद्ध रोटा खोप लगाउने निर्णय गरेको हो।  

प्रकाशित: २७ असार २०७७ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App