समाज

पेन्सन बुझ्न नाका खुला

भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका आजदेखि खोलिएका छन्। बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हुन्।

लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।  झुलाघाट नाका आजदेखि शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।    कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुबै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको हो।  

यस्तै दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका पनि तीन दिनका लागि खुल्ला गरिएको छ। दार्चुलाका यी नाका भने २  सिफ्टमा खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म नाका खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्यसम्बन्धी नियमपालना अनिवार्य गर्नुपर्ने जनाइएको छ। बैतडीका दुई हजार बढी र दार्चुलामा ५०० जना भारतीय पेन्सनधारी नागरिक रहेका छन्। 

प्रकाशित: २४ असार २०७७ १०:१५ बुधबार

पेन्सन