संक्रमण पुष्टि भएको २० दिनपछि आइसोलेसन वार्डबाट डिस्चार्ज हुँदा धनुषाको वटेश्वर गाउँपालिकाका राकेश पासवान खुसीले गदगद थिए । कोरोनालाई मात दिएर भारतको अहमदाबादबाट फर्किएको २८ दिनपछि घर फर्किन लागेको खबर सुनेपछि उनको परिवार, आफन्त र इष्टमित्रहरु समेत दंग थिए ।
छोरा संक्रमित भएको थाहापाएदेखि समाजबाट घृणित भएका उनका आमाबुवा र परिवार करिब एक महिनापछि बल्ल चैनका श्वाँस लिन भ्याएका थिए । संक्रमण पश्चात कुनै लक्षण नदेखिएपछि सोही गाउँका अन्य दुइजना सहित उनलाई एक साता होम आइशोलेसनमै बस्नेगरी चिकित्कले घर पठाएका थिए ।
‘हामीलाई भाइरस लागेको कहिल्यै भान नै भएन । आइशोलेसनमा ट्वाइलेट र रहनसहनको व्यवस्था क्वारेन्टिन भन्दा पनि खतम थियो । त्यहाँ सबैजना संक्रमित मात्र बसिरहेकाले जोखिम पनि धेरै थियो । त्यसैले हामीपनि घरमै बस्दा सुरक्षित हुन्छौँ भनेर फर्कियौ,’ पासवानले भने ।
गएको शनिवार दिउँसो करिब १ बजे लक्ष्मिनियास्थि सिटिइभीटी कलेजमा संचालित आइसोलेसनबाट डिस्चार्ज भएका तीनैजना एक घण्टा पैदलै हिडेर वटेश्वर गाउँपालिका—५ स्थित काली जनज्योती आवासिय विद्यालमा संचालित क्वारेन्टिनमा आइपुगे ।
‘घर फर्किन पाउँदा हामीलाई खुशीको सिमै थिएन् । जेलघरबाट कतिखेर घर पुगुजस्तो मनमा थियो तर फोनमा मैले कुरा गर्दा गाउँका मानिसहरुले आमाबुवालाई पहिले बसिरहेकै क्वारेन्टिनमा बस्न भन्नु भनेपछि हामी तीनैजना खेतको बाटो हुँदै क्वारेन्टिन पुग्यौँ,’ पासवानले सुनाए ।
गत जेठ ८ गते सोही क्वारेन्टिनमा बसेका पासवानसहित तीनैजनामा संक्रमण पुष्टि भएपछि त्यहाँबाट उनीहरुलाई आइशोलेसन वार्डमा पठाइएको थियो । उनीहरु क्वारेन्टिन प्रवेश गर्नसाथ त्यहाँ कानेफुसी शुरु भयो । ‘हामीलाई त्यहाँ बस्न पठाएको थिएन तर के गर्ने ? न गाउँमा बस्ने वातावरण थियो न घरमा होम आइशोलेसन बनाएर बस्ने ठाउँ । बाध्य भएर हामी क्वारेन्टिन पुगेके थियौँ’ पासवानले थपे, ‘त्यहाँ बसेका ७÷८ जनाले यहाँ बस्नै दिनुहुन्न । उनीहरुलाई तुरन्त यहाँबाट भगाउनुपर्छ जस्ता आवाजहरु आउन थाल्यो । स्वास्थ्यकर्मीले पनि उनीहरुकै कुरामा सुरमा सुर मिलाए ।’
त्यसपछि उनीहरु स्थानीय नेताहरुलाई जसरी पनि बस्ने वातावरण मिलाइदिन हारगुहार लगाए । तर यस्तो अवस्थामा केही गर्न नसक्ने भनेर सबैजना पन्छिए । ‘हामी गरिब दलितलाई कसले चिन्छ ? कसैले सहयोग गरेन,’ उनले गुनासो पोखे ।
गाउँ समाजको वातावरण र पारिवारिक स्थिती देखेर घर फर्किन नपाएपनि क्वारेन्टिनमै बसेर चित्त बुझाउने उनीहरुको मनसाय थियो । तर क्वारेन्टिनको समेत उदांग लाग्दो व्यवहार देखेपछि निरास भएर उनीहरु विद्यालयको मैदानमै थकाइ मार्न थाले ।
तीनै जना संक्रमित व्यक्ति क्वारेन्टिनमा बस्न लागेको थाहा पाएपछि आधा घण्टा नबित्दै गाउँबाट हातमा लट्ठी, भाटासहित हुलका हुल मानिस क्वारेन्टिनतर्फ आउन थाले । हुलबाट मानिसहरुले तीनैजनालाई क्वारेन्टिनबाट तुरन्त भागेर जान भन्दै गाली गलौज गर्दै कुटपिट गर्ने धम्की दिए । संक्रमित तिनैजना घर जाँदा समेत गाउँको बाटो भएर जान नदिने ती स्थानीयहरुको अडान थियो ।
उनीहरुले आलीखेतको बाटो हुँदै घुमौरो बाटो भएर मात्र जान दिने अडान लिएपछि विवाद झन बढ्दै गयो । ‘महिला पुरुष गरी ७०/८० जना लट्ठी भाटासहित आएका थिए । उनीहरु सुन्नै नसकिने गाली गलौज गर्न थाले । तुरन्तै भागिस भने तीनै जनालाई कुट्दा कुट्दै मारदिन्छौँ भनेर धम्की दिए,’ पासवानले पीडा पोख्दै भने, ‘हामीले कुनै अपराध त गरेका थिएनौ । बर्दास्तभन्दा बढ्दा भएपछि हामीले सहन सकेनौ । हामीले पनि गाली फर्कायौँ । परिस्थिती यस्तो थियो कि कमजोर मुटुका मानिस भएको भए आत्महत्या गरिहाल्थे ।’
विवाद बढ्दै गएपछि क्वारेन्टिनका स्वास्थ्यकर्मीले प्रहरी बोलाए । तर प्रहरी हुँदाहुँदै झण्डैले तीनै जनालाई कुट्न नभ्याएका स्थानीयहरुले आफ्नो अडानबाट पछि नहट्ने बताएपछि पासवानले समेत आफ्नो गाउँबाट मानिसहरु बोलाए ।
दुबैतर्फ झडप हुने स्थिती देखिएपछि बटेश्वर चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिको सहयोगमा माहौल शान्त बनायो । जसोतसो सम्झाइ बुझाइ गरेपछि करिब ४ घण्टापछि विवाद साम्य भएको थियो । ‘हुलबाट पनि २/४ जना महिलाले उनीहरुको ठाउँमा तिम्रो आफ्नै छोरा भएको भए के यस्तै व्यवहार गथ्र्यौ भनेर भनिराखेकी थिइन तर उनीहरुलाई सुन्ने कोही थिएन । सबै आवेशमा हामीलाई कुट्ने मुडमा थिए,’ उनले गुनासो पोखे ।
आइशोलेसनबाट डिस्चार्ज भएका तिनै जनासँग स्थानीहरुले गरेको अमानवीय दुव्र्यवहार जोसुकैलाई असहय हुने क्वारेन्टिनमा बस्दै आएका प्रत्यक्षदर्शी रामकुमार महतोले बताए । प्रहरी आएको एक घण्टापछि विवाद साम्य हुँदा राति करिब सावा ८ बजे उनीहरु घर फर्केका थिए । उनीहरुमध्ये हाल दुइजना होम आइसोलेसनमा गाउँमै बसिरहेका छन् भने पासवान गाउँको वस्तीबाट केही दुरीमा रहेको छिमेकीको कुखुरा फार्ममा बस्दै आएका छन् ।
प्रकाशित: ८ असार २०७७ १३:२२ सोमबार