समाज

पर्सामा दुई पुरुष र एक महिलाद्वारा आत्महत्या

पर्सा जिल्लामा बेग्लाबेग्लै ठाउँमा एक दिनको अन्तरालमा तीनजनाले आत्महत्या गरेका छन्। ती तीनजनामा एक महिला र दुई पुरुष छन्। शुक्रवार बिहान करिब साढे ६ बजे पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका–४ बन्जारीका २६ वर्षीय भगिरथ महतो आफ्नै घरको बलोमा पासो लगाई झुन्डिरहेको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट भिस्वाको टोली पुग्दा महतो नाइलनको डोरीमा झुन्डिरहेको अवस्थामा भेंटिएका थिए।

केही दिनअघि झगडा परेपछि महतोकी पत्नी घर छाडेर भारतस्थित माइतीमा गएर बसेकी थिइन्। आमाबुवासँग छुट्टिसकेकाले उनी एक्लै बस्दै आएका थिए। आफ्ना बाबुआमासँंग छुट्टिएर बसेका व्यक्तिगत तनावका कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।  

त्यस्तै जिराभवानी गाउँपालिका–२ सेढवामा २० वर्षीय एक युवक रामु रोडाथारू आफ्नै घरको आफू सुत्ने कोठाको बलोमा आफ्नै गम्छाले पासो लगाई झुन्डिरहेका बिहान करिब साढे ८ बजे फेला परेको प्रहरीले जनाएको छ। स्थानीयबाट यसबारे सूचना पाएर इलाका प्रहरी कार्यालय सेढवाको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक कारबाही गरेको थियो। दुइटै घटनामा शवलाई पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याइएको र थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।  

ती दुई घटना भएको एक दिनअघि बिहीबार पर्साकै ठोरी गाउँपालिका–३ रामनगर की २४ वर्षीय महिला गीता दर्जीले विष सेवन गरी आत्महत्या गरेकी छन्। घटनामा महिलाको पोस्टमार्टमपछि प्रारम्भिक रिपोर्टमा विष सेवन देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए। 

प्रकाशित: ६ असार २०७७ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App