समाज

सिन्धुपाल्चोकमा भेटिए छैटौँ संक्रमित

सिन्धुपाल्चोकमा थप एक जना कोरोना संक्रमित भेटिएका छन्। भारतबाट फर्केर मेलचौरस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका चौतारा साँगाचोकगढी नगरपालिका–१४ का २४ वर्षीय युवामा संक्रमण पाइएको हो।  

काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर बिधिबाट थ्रोट स्वाब परीक्षण गरी पठाएको रिपोर्टमा युवामा कोरोना पोजेटिभ पुष्टि गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। गएको जेठ २६ गते भारतबाट फर्केका उनलाई सिधै क्वारेन्टिनमा राखिएको थियो।  

क्वारेन्टिनको एक कोठामा उनी अरु दुईजनासँगै बसेका थिए। उनीहरु भारतदेखि सँगै आएका हुन्। क्वारेन्टिनको सम्पर्कमा आउनुअघि तीनै जनाले काठमाडौँको मनोहरामा एक रात बिताएको पाइएको छ। दुईको भने रिपोर्ट आइनसकेको प्रजिअ ढकालले बताए। संक्रमितलाई चौतारा अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ।  

योसँगै जिल्लामा संक्रमितको संख्या ६ पुगेको छ। तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ। उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन्। मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। पछिल्लो संक्रमित युवासहित तीन जना भारतबाट फर्केका हुन्। दुई संक्रमित भने दोलखाबाट आएका थिए। एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अरुको उपचार भइरहेको छ।  

पछिल्लो समय भारतबाट ४७ जना भारतबाट जिल्ला फर्केका थिए। भारतबाट फर्केर क्वारेन्टिनमा बसेका ११ जना रिपोर्ट नेगेटिभ आएपछि घर गइसकेका छन्। ३६ जना अझै विभिन्न क्वारेन्टिमा बसिरहेका छन्।  

प्रकाशित: ४ असार २०७७ ०८:३० बिहीबार

क्वारेन्टिन कोरोना संक्रमित