समाज

युवाहरूलाई महामारीको भन्दा देशको चिन्ता

कोरोना संक्रमितको संख्या बढिरहेको बेला युवाहरू सरकारविरुद्द प्रदर्शन गर्न सडकमा निस्किएपछि महामारी फैलिने भन्दै प्रदर्शन स्थगत गर्न धेरैले सुझाव दिइरहेका छन्। तर महामारी फैलिने डरलाई ख्याल नराखी युवाहरू साता दिनयता संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा, सडकमा निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्। यस्तो बेलामा युवाहरू सडकमा निस्कनुलाई कतिपयले आलोचनात्मक दृष्टिकोणले हेरेका छन् भने कतिपयले विदेशी ऐजेन्टले उचालेको, विपक्षी पार्टीले सरकारलाई फेल गराउने प्रपञ्च रचेको र प्रायोजित रूपमा उनीहरू सडकमा निस्किएको भन्ने टिप्पणी पनि गरेका छन्।  

प्रदर्शनमा उत्रिएका युवाहरू भने आफूहरू कोहीबाट परिचालित नभएको दाबी गर्छन्। उनीहरू महामारीको बेला रोगको भन्दा देशको चिन्ता भएर सडकमा उत्रिएको बताउँछन्। ‘महामारीको बेला सरकारले जे गरे पनि सहने कुरा भएन, यस्तो बेला अति जिम्मेवार बन्नुपर्ने सरकार गैरजिम्मेवार बनेको छ, त्यसैले हामी सडकमा आयौं,’ युवा अभियन्ता रसिक प्रधानले भने। उनले आफूहरू सामाजिक सञ्जालमा बनेको ग्रुपका आधारमा भेला भएर प्रदर्शन गरिरहेको बताए।  

मंगलबार पनि उपत्यकाका केही ठाउँहरूमा युवाहरूले प्रदर्शन गरेका थिए। इनफ इज इनफ र कोभिड १९ नेपाल नामक फेसबुक ग्रुपका युवाहरू उपत्यकाको महाराजगन्जमा प्रदर्शनमा उत्रिएका थिए। अहिले यो गु्रपमा दुई लाखभन्दा बढी युवाहरू जोडिएका छन्। जसले सामाजिक सञ्जालमै छलफल गरेर प्रदर्शन र सरकारविरोध कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छन्। उनीहरू पर्चा र पम्प्लेट देखाउँदै सडकको किनारमा उभिएर प्रदर्शन गर्दै आइरहेका छन्।  

महामारीको बेला सरकारले जे गरे पनि सहने कुरा भएन, यस्तो बेला अति जिम्मेवार बन्नुपर्ने सरकार गैरजिम्मेवार बनेको छ, त्यसैले युवा सडकमा आए।

हरेक दिन सरकारको विरोधमा उत्रिएका युवाले प्रदर्शनका क्रममा राष्ट्रिय गान बजाउने गर्छन्। मंगलबार महाराजगन्जमा भएको प्रदर्शनमा युवाहरूले सुकेधारासम्म हिँड्दै प्रदर्शन गरेका थिए। उनीहरूले क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र कोभिड संक्रमणको बेला सरकारले गरेको खर्चको चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरेका थिए।  

त्यस्तै, केही युवाले भक्तपुरको सूर्यविनायक क्षेत्रमा पनि प्रदर्शन गरेका थिए। उनीहरूले सरकारको कार्यशैली र जिम्मेवारीबोधमाथि प्रश्न उठाउँदै सडकमा शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन्।  

मंगलबार उपत्यकाबाहेक पोखरा, धनगढी, विराटनगर, झापालगायत क्षेत्रमा केही युवाहरू प्रदर्शनमा उत्रिएको प्रहरीले बतायो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीका अनुसार पछिल्लो समय भएका सबैखाले प्रदर्शन हालसम्म शान्तिपूर्ण नै रहेका छन्।  

मंगलबार नयाँ वानेश्वर चोकमा नेपाल विद्यार्थी संघआबद्ध युवाहरूले पनि सरकारविरोधी प्रदर्शन गरेका थिए। उनीहरूले सरकारको काम–कारबाही र संक्रमणको बेला गरेको व्यवस्थापन कमजोर भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।  

खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायले यस्तो बेलामा युवाहरू सडकमा निस्कनु सामान्य नभएको बताए। उनले भने, ‘आम युवाहरू यो समयमा सडकमा निस्कनु राम्रो होइन, यसले सरकारकै बेइज्जत गरेको छ, त्यसकारण राज्यले युवाका आवाजलाई उच्च ढंगले सम्बोधन गर्न सक्नुपर्छ।’

महामारी फैलिरहेको बेला सडकमा भएको प्रदर्शन भने तडकभडकरहित र निकै रचनात्मक मानिएको छ। विवेकशीलका नेता उज्जवल थापाले युवाहरू सरकारको काम कारबाही चित्त नबुझेपछि महामारीको बेला पनि सडकमा निस्कन बाध्य भएको जानकारी दिए। उनले भने, ‘अहिले सडकमा भइरहेको प्रदर्शनलाई केहीले प्रायोजित र हुनेखाने भनेका छन्, यो एउटा आरोपमात्रै हो, त्यस्तो आरोप लगाउने व्यक्तिले सरकारले गरिरहेको काम–कारबाहीबारे एकपटक राम्रोसँग बुझ्नु जरुरी छ।’  

तर प्रहरीले भने यो बेला सडकमा निस्किएका युवाहरूको हुललाई पूर्णतः प्रायोजित नै भनेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले महामारीको बेला यसरी सडकमा निस्किएको समूह अरूबाटै परिचालित रहेको बताए। यो बेला महामारी फैलिन नदिनका लागि भए पनि भित्रै बस्नु उचित रहेको उनको भनाइ छ। 

प्रकाशित: ३ असार २०७७ ०५:०३ बुधबार

युवा सरकारविरुद्द प्रदर्शन