समाज

भारतमा प्रेम, क्वारेन्टिनमै बिहे

दाङको एक जोडीले क्वारेन्टिनमै विवाह गरेको छ । घोराही १८ का ओली थरका युवा र तुलसीपुर ५ कि चौधरी थरकी युवतीले घोराही १८ स्थित क्वारेन्टिनमै विवाह गरेका हुन् । उनीहरु केहि दिन अघि भारतको नयाँ दिल्लीबाट आएका थिए । उनीहरु विच भारतमै प्रेम बसेको र परिवारको सल्लाह अनुसार विवाह भएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए ।  

विवाह वडा अध्यक्ष अर्याललेनै गराइदिएका थिए । ‘मैले विवाहका लागि किन हतार गर्ने त? भनेर सोधेँ,’ वडा अध्यक्ष अर्यालले भने ‘असारमा विवाह गर्न नमिल्ने भन्दै परिवारले जेठ ३२ मै उहाँहरुले विवाह गर्ने भन्नु भयो ।’ जेठको पहिलो साता भारतबाट आएका उनीहरु एउटै क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरुको विवाहमा परिवारका सदस्यहरु समेत सहभागी थिए ।

 ‘मन्दिरमै विवाह गरिने कुरा परिवारले गर्नुभएको थियो,’ वडा अध्यक्ष अर्यालले भने ‘तर मन्दिरमा अहिले प्रवेश गर्न पाइन्न, पछि बर पिपललाई साक्षी राखेर विवाह गर्दा पनि हुन्छ भनेपछि मैले बरपिपल साक्षी राखेर विवाह गराइदिएको हुँ ।’ वडा अध्यक्ष अर्याललेनै विवाहको मन्त्रोच्चारण गरिदिएका थिए । ‘घर परिवारको सल्लाहमा उहाँहरुकै उपस्थितिमा सामान्य तरिकाले विवाह गराइदिएको हुँ,’ वडा अध्यक्ष अर्यालले भने ।  

उनीहरुको पिसिआर परीक्षणको नतिजा पनि उसैदिन आएको थियो । दुबैजनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि अर्यालले जानकारी दिए । ‘परीक्षण रिपोर्ट दिउँसो आयो, अनि राति ११ बजेतिर विवाह भयो,’ उनले भने ‘विवाहपछि उहाँहरु घर जानु भयो ।’  

प्रकाशित: २ असार २०७७ ०५:३५ मंगलबार

क्वारेन्टिनमै बिहे