समाज

बजेट तयार गर्न वडा–वडाबाट सुझाव संकलन गरिँदै

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि वडा–वडाबाट परामर्श तथा सुझाव संकलन थालेको छ । आगामी असार १० गते बजेट प्रस्तुत गर्नेगरी नगरपालिकाले ११ वटै वडाबासीबाट राय संकलन थालेको हो । वडा–वडाबाट आएको सुझावका आधारमा नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रुप दिइने मेयर इवन राईले बताए ।  

वडाबासीबाट रचनात्मक सल्लाह र सुझाव संकलन गरेर आगामी असार ५ गतेभित्र पेश गर्न वडा कार्यालयलाई निर्देशन दिइएको छ । वडाबाट आउने सुझावका आधारमा पुन: नगरपालिकाको विषयगत समितिमा छलफल गरेर नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रुप दिइने मेयर राईले बताए । संघीयता कार्यान्वयनमा आए पनि वस्तीस्तरबाट योजना छनौट गर्ने प्रचलन नबसाइएको गुनासोकाबीचमा हलेसी तुवाचुङ नगरपालिकाले सबैको बुद्धिविवेकका आधारमा नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी र फलदायी बनाउनका लागि राय संकलन सुरु गरेको जनाएको छ ।  

नगरपालिकाको निर्देशनका आधारमा बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, महादेवस्थान, मंगलटार, धितुङ लगायतका वडाध्यक्षले राय सुझावका लागि सूचना नै जारी गरेका छन् । वडा कार्यालय बडहरेले ईमेलबाट समेत सुझाव सल्लाह दिन आग्रह गरेको छ । ‘आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि योजना माग गर्न तथा राय संकलनकाक्रममा टोलबस्तीमा छौँ,’ धितुङका जनप्रतिनिधिले जारी गरेको सूचनामा भनिएको छ, ‘यसलाई थप प्रभावकारी बनाउन क्रियासिल राजनैतिक दल, समाजसेवी, बुद्धिजिवी, विषयगत शाखाका जानकार, घरदेश तथा परदेशमा बस्नुहुने महानुभावबाट सकरात्मक र रचनात्मक सुझाव सल्लाहाको अपेक्षा गरेका छौँ ।’ 

प्रकाशित: १ असार २०७७ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App