कोरोना संक्रमण नियन्त्रण गर्न लागु भएको कलडाउन लम्बिँदा धेरै मानिसको जीवनमा नचिताएको समस्या आइपरेको छ । उनीहरूलाई बिहानबेलुका छाक टार्नसमेत समस्या भएको छ । वीरगन्जमा भने त्यस्ता समस्यामा परेकालाई निःशुल्क खाना खुवाइदिने सहयोगी हातहरू अघि सरेका छन् । यहाँ ठाउँठाउँमा निःशुल्क मेस चलाइएका छन् । यहाँका बेग्लाबेग्लै भोजनालयबाट दैनिक साढे चार सयजनालाई निःशुल्क भोजन वितरण हुँदै आएको छ ।
वीरगन्ज पब्लिक कलेज आजभोलि लकडाउनले बन्द छ । कलेजको भुइँ तला भने बिहान र बेलुका डेढ÷डेढ सय बढीलाई खानाखुवाउने मेसमा परिणत भएको छ । यहाँ रिक्सा र ठेला चलाउने मजदुर, रोजीरोटी बन्द भएका सडकका साना व्यवसायीदेखि लिएर अहिले बन्द हुन पुगेका होटलका कामदार, बसपार्कका यातायात मजदुर र बोर्डिङ स्कुलका शिक्षकको परिवारसम्मले बिहान र बेलुका दुई छाक खाना खान पाएका छन् ।
कुनै सरकारी बजेट वा कुनै एनजिओ वा आइएनजिओको खर्चमा यो मेस चलेको होइन । स्थानीय मनकारी नागरिकहरूको स्वतःस्फूर्त सहयोगमा ४७ दिनदेखि उक्त चलिरहेको हो । ‘मसँग सुरुमा उहाँहरू यस मेसका लागि सहयोग माग्न आउनु भएको थियो, मैले १० हजार नगद दिएँ, समस्यामा परेका धेरै मानिसका लागि यो भोजनालय ठूलो सहारा बनेको पाएँ, म पनि यससँग जोडिएँ,’ वीरगन्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दीपक शाक्यले नागरिकसित भने, ‘पहिलेको ठाउँमा भोजनालय सञ्चालनलाई निरन्तरता दिन कठिनाइ भइरहेको साथीहरूले बताउनुभयो, मैले कलेजमैं लगौं भनेपछि सारियो ।’
कलेजमा चलेको भोजनालयलाई अहिले संक्रमणको जोखिमको समयमा व्यवस्थित गरेर चलाउन विशेष ध्यान दिइएको छ । खाना खुवाउने समयमा खाने मानिसहरू आफैं आइपुग्छन् । भित्र पस्न सामाजिक दुरी बनाएर लाइन लाग्ने व्यवस्था गरिएको छ । ढोकामैं पाइप जोडेर आफै चल्ने पानीको ब्यवस्था गरिएको छ । लाइन लाग्नेहरूले त्यहाँ साबुनपानीले हातखुट्टा राम्ररी पाखाल्नुपर्ने हुन्छ । त्यसपछि भित्रको हलमा एकपटकमा ३० देखि ४० जनासम्म बस्ने व्यवस्था छ । त्यो ठाउँलाई प्रत्येकपटक सेनिटाइजेसन गरेर अर्कोपटक त्यहाँ मानिसहरूलाई बसाइन्छ । खाना खाएपछि ‘डिस्पोजेबल प्लेट’ उठाएर ‘डस्टबिन’मा हाल्ने बानी सबैले सिकेका छन् ।
‘यहाँ आउने मानिसहरूले खाना खाने क्रममा सरसफाइमा अभ्यस्त पनि भएका छन्,’ डा. शाक्यले भने, ‘करिब डेढ सय मानिस यहाँ बसेर पेटभरि बिहान र त्यति नै संख्यामा बेलुका खाना खान्छन्, २० देखि २५ जनाले घरका लागि पनि खाना लैजान्छन् ।’ बिहानबेलुका गरेर करिब तीन सयजनाले यहाँ खान पाएका छन् । स्वतः सुरु भएको दातव्य भोजनालयमा स्वतः सहयोगीहरू पनि जुट्दै गए । नगद, ग्यास सिलिन्डर, चामल, दाल र अन्य आवश्यक सामग्री दिने दाताको नामावली लामै छ । यस्तो निःशुल्क भोजनालय सरकारको तर्फबाट नै सञ्चालन हुनुपर्ने शाक्यको राय छ ।
वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले शनिबार भोजनालयमा पुगेर त्यहाँ चामल, दाल र तेल पनि दिने भनेका छन् । यसअघि महानगरपालिकाले नै अग्रसरता देखाएर लकडाउनको समयमा वीरगन्ज नयाँ बसपार्कभित्रै यस्तै निःशुल्क भोजनालय चलाइएको थियो ।
‘यस भोजनालयमा हाम्रो सहयोग यसअघि पनि थियो, अगाडि पनि निरन्तर रहनेछ, मैले त्यहाँ चामल, दाल र तेलजस्ता आवश्यक सामग्री महानगरपालिकाको तर्फबाट पनि दिने ब्यवस्था मिलाउन लागेको छु,’ सरावगीले भने, ‘यसअघि बसपार्कमा निःशुल्क भोजनालय चलाउदा त्यहाँ केही मानिसले पटकपटक हुलहुज्जत गरेपछि त्यो बन्द भएको थियो, यहाँ सामाजिक स्तरबाट सञ्चालित भएपछि त्यो समस्या त्यति छैन । यसलाई समान्य अवस्था नभएसम्म निरन्तरता दिन हाम्रो सहयोग रहनेछ ।’ डा. शाक्यले भने यसपालि समय थपेर ३२ गतेसम्म चलाउन भनेकोमा त्यसपछि के हुने भनेर पटकपकट चिन्ता व्यक्ता गरेपछि नगर प्रमुख सरावगी शनिबार त्यहाँ पुगेका थिए ।
गाई र कुकरलाई पनि खाना
वीरगन्जका युवा नेता राजेशमान सिंहलगायतकाले वीरगन्जको आदर्शनगरस्थित स्विमिङपुल परिसरमा बेग्लै भोजनालय सञ्चालन गरिरहेका छन् । त्यहाँ मानिसहरूका लागि दैनिक रूपमा एक चरण खानाको व्यवस्था छँदैछ, गाई र सहरका कुकुरका लागि पनि खाना बनाइन्छ । यो भोजनालय पछिल्लो ७७ दिनदेखि अनवरत चलेको छ ।
मानिसहरूको भीड नहोस् भनेर त्यहाँ भने बेग्लै तरिका अपनाइएको छ । एक जनाले खान पुग्ने ‘मेटल’को ‘डिस्पोजेबल’ कन्टेनरमा खाना राखेर प्याकेट तयार गरिन्छ । खाने मानिस लाइन लागेर आइपुग्छन् । सामाजिक दूरी बनाइएको हुन्छ । भोजनालयको गेटअगाडि टेबुलमा एउटा प्याकेट खाना एकजनाका लागि राखिन्छ । त्यो व्यक्तिले लिएर अगाडि बढेपछि फेरि अर्को व्यक्तिले आफ्नो खाना उठाउँछ । थोरै समयमा करिब डेढ सयजनाको हातहातमा खाना पुगेको हुन्छ । यो संख्या कहिलेकाहीँ बढ्नेसमेत गरेको यस भोजनालयका मुख्य सञ्चालक सिंहले बताए ।
‘यसमा विभिन्न किसिमका मजदुर, रिक्सा चालक, उनीहरूका बालबालिका, मागेर जीवन चलाउने मानिसलगायत आएर खाना खान्छन्,’ सिंहले भने, ‘मैले मेरो गुरुजीको नाममा साहिब दरबार नाममा यो भोजनालय सुरु गरे, ईश्वरको कृपा र गुरुको आशीर्वादले ७७ दिनदेखि यसलाई निरन्तरता दिन पाइएको छ ।’ यस कार्यमा एउटा टिम नै लागेको उनले बताए । सहयोगीहरू पाएपछि सजिलो भयो । उक्त भोजनालयमा सहरमा घुमी राख्ने गाईहरूलाई पनि दैनिक रूपमा खाना खुवाइन्छ । लकडाउनले सहरमा कुकुरहरूको पनि बेहाल भएकाले मानिसहरूले खाएर बच्ने खाना तिनीहरूलाई दिने गरिएको छ । शनिबार भने कुकुरका लागि मासुभात व्यवस्था गर्ने गरेको सिंहले बताए ।
यसअघि वीरगन्जकै जिपी कोइराला फाउन्डेसनले घरघरमा हप्तौं निःशुल्क हरियो तरकारी बाँडेको थियो । सानो पाइला भन्ने संस्थाले नारायणी अस्पतालको आइसोलेसनमा र क्वारेन्टिनमा पोसिलो खाना सरकारी ब्यवस्था नभएसम्म बाँड्यो । विभिन्न दाताले क्वारेन्टिनमा बसेका भारतीयका लागि पनि खानाको व्यवस्था गरे । गाउँगाउँमा मानिसले निजी तवरमा गरिब विपन्नलाई राहत बाँडेका छन् । राज्यको आँखा नपुगेका ठाउँमा सहयोगी हातहरूले यसरी सहयोग गरिदिएका कारण केही हदसम्म भए पनि धेरैको जीवन अलि सहज भएको छ ।
प्रकाशित: ३२ जेष्ठ २०७७ ०१:४७ आइतबार