समाज

११ सय २५ को मृत्युमा नदुख्ने सरकार

आम सर्वसाधारणलाई घरभित्र कोच्दै चैत ११ गते सरकारले लकडाउन गरिदियो। अनि आफ्नो मुख्य जिम्मेवारी यति नै भन्ठान्यो। जनता छक्काउने गरी लकडाउन गर्दा आम सर्वसाधारण कुन परिस्थितिमा थिए, त्यसको कुनै मतलब भएन राज्यका निकायलाई। सरकारले कोरोना महामारी रोकथाम गर्न भन्दै गरेको लकडाउन अवधिमा यसले सिर्जित गरेको आत्महत्याको घटना भयानक छ। साढे दुई महिनाको अवधिमा १ हजार १ सय २५ जनाले आत्महत्या गरेका छन्।

दुई महिनाको अवधिमा यति धेरैले आत्महत्या गरेपछि प्रहरी प्रशासन पनि अचम्ममा परेको छ। तर, अरूबेला जस्तो आत्महत्या गर्न कोसिस गर्नेहरूलाई प्रहरीले नै सचेतना र जनचेतना बाँड्न सकेको छैन। ‘अरू अपराध शून्य जस्तै भए पनि अहिले आत्महत्या बढेको छ, यति छोटो अवधिमा यति धेरैले आत्महत्या गर्नु निकै अच्चमलाग्दो विषय हो,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरज शाहीले भने। उनका अनुसार सबैभन्दा बढी ८ सय ४७ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। यसबाहेक आगो लगाएर, करेन्ट लगाएर, हात हतियार प्रयोग गरेर, हाम फालेर, पानीमा डुबेर, विष सेवनलगायतबाट आत्महत्या भएको छ।

सामाजिक, आर्थिक, मनोवैज्ञानिक कारणले नै आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घरमै बसिरहेको बेला आत्महत्या बढेकाले किन आत्महत्या बढ्यो भन्ने प्रश्न उब्जाएको बताए। उनले एकैठाउँ बसिरहँदा मानिसहरू तनावमा हुने, आफन्तसँग भेटघाट नहुने, रोजगार रोकिने, एक्लै बस्दा एकोहोरो हुने, घरायसी झगडा हुने, डिप्रेसनमा जानेजस्ता कारणले आत्महत्या बढेको हुनसक्ने बताए।

चिकित्सकहरू भने आत्महत्याले यति धेरै ज्यान जानु निकै नै डरलाग्दो विषय रहेको तर्क राख्छन्। त्रवि शिक्षण अस्पतालका मनोचिकित्सक सरोज ओझाले लकडाउनका कारण मान्छे स्वतन्त्र नभएको र एकाग्रमा बस्दा डिप्रेसनमा गएर आत्महत्या बढेको बताए। उनले यसलाई रोक्न सरकारी निकायले यथाशीघ्र चासो दिनुपर्ने माग राखे। उनले यस्तो अवस्थामा आत्महत्यालाई न्यूनीकरण गर्न सरकारले हटलाइनमार्फत परामर्श दिनुपर्ने बताए।

कोरोनासँगसँगै आत्महत्या रोकथामका लागि जनचेतना प्रवाह गर्नु पनि अहिले मुख्य कार्य भएको उनले जानकारी दिए। उनका अनुसार लकडाउनको बेला आत्महत्या कम गर्न अभिभावक र आफन्तको पनि मुख्य जिम्मेवारी हुन्छ। आफ्ना छोराछोरीको मन बुझिदिने, सामाजिक सहयोग गरिदिने, समस्या समाधान गरिदिने, विचलित हुन नदिनेजस्ता कार्य गर्न सके पनि आत्महत्या कम हुन सक्छ। ‘यस्तो बेलामा सबै बेचैनमा छन्, एकै ठाउँ सीमित भएका छन्, कसको समस्या के छ भन्ने नै थाहा छैन, त्यसकारण सरकारले हटलाइन सेवा सुचारु गरेर उनीहरूको समस्या समाधान गर्न सक्नुपर्छ,’ उनले भने।

मानसिक अस्पताल पाटनका मनोचिकित्सक वासुदेव कार्कीले पनि यो बेलामा सरकारले सर्वसाधारणलाई विभिन्न सोसल साइटमार्फत जनचेतना प्रवाह गर्न आवश्यक रहेको बताए। उनले भने, ‘अहिले धेरै मानिस समस्यामा छन्, माथिल्लो तहका व्यक्ति घरमा सुखसँग बसेका छन् तर विपन्न वर्गले यो बेलामा प्राण त्याग गरेका छन्।’ उनले अनलाइन तथा हटलाइन सेवामार्फत पराशर्म दिनुपर्ने आवश्यकता देखिएको जानकारी दिए।

प्रकाशित: २९ जेष्ठ २०७७ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App