समाज

प्रदेश २ मा भद्रगोल : स्वाब थुप्रिएपछि संकलन स्थगन

सिरहा स्थित शूर्यनारायण सत्नारायण मरबैता यादव क्याम्पस क्वारेन्टिनमा बसेकालाई कोसेलीसहित भेट्न आएका आफन्तहरु।

पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएका एक युवकलाई घर पठाएको नबौं दिनमा रिपोर्ट पोजेटिभ आएको  छ। सिरहाको शूर्यनारायण सत्यनारायण मरबैता यादव क्याम्पस क्वारेन्टिनमा बसेका सिरहा नगरपालिका–२० डिहटोलका युवक मंगलबार कोरोना पोजेटिभ पुष्टि भएको थियो।  

कोरोना भाईरसको इपिसेन्टर भारतको मुम्बईबाट जेठ ६ गत्ते फर्केर क्याम्पस क्वारेन्टिनमा बसेका १८ वर्षीय युवकको जेठ १३ गत्ते स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको क्वारेन्टिन संयोजक सुरेश चेरबारले बताए। जेठ १९ गत्ते विहान उनलाई क्वारेन्टिनबाट घर पठाइएको थियो। मुटु रोगी युवकका पिता मितन मण्डल (६२) को जेठ १८ गत्ते घरमै निधन भएको थियो। पिताको निधन भएपछि युवकलाई क्वारेन्टिनबाट घर पठाएको संयोजक चोरबारले बताए। परीक्षण रिपोर्ट नआउँदै युवकलाई घर पठाउनु गल्ती भएको सिरहा नगरपालिकाका निमित प्रमुख बलिराम यादवले स्वीकार गरे। पिसिआर परीक्षण रिपोर्ट नआउँदै घर पठायौं यादवले भने,‘गाउँमा घुलमिल गरिसकेपछि रिपोर्ट पोजेटिभ आयो। मलामी गएकाहरुलेखि उनका आफन्त तथा घरमा आउजाउ गरेका सबैको पहिचान गरेर परीक्षणको दायरामा ल्याउनु चौनौतीपुर्ण बनेको छ।’ सानो गल्तीको गम्भीर परिणाम हुन सक्छ, उनले भने।

क्वारेन्टिन संयोजक चोरबारले भने,‘हाकिम साबले(बलिराम यादव) भनेपछि घर पठाइदिएको हुँ। के थाहा रिपोर्ट पोजेटिभ नै आउँछ भनेर।’ मुम्बई यात्रा विवरण भएको ती युवकलाई क्वारेन्टिनबाट घर पठाउनु नै गल्ती भयो, उनले स्वीकारे। यस क्वारेन्टिनको भित्री सुरक्षा जिम्मा नेपाली सेनाले सम्हाल्दै आएको छ।  

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले भने,‘परीक्षण रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका युवकको बारेमा थाहा थिएन। मैले वुधबार मात्र थाहा भयो। युवकको सम्पर्कमा आएका व्यतिmहरुको पहिचान भैसकेको छ।’ उनले भने,‘यो गम्भीर लापरबाही हो।

कोरोना संक्रमण नियन्त्रणमा भैरहेको लापरबाही सिरहामा मात्र सीमित छैन। पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर क्वारेन्टिन बसेकालाई घर पठाउने प्रवृतीले संक्रमण समुदायमा फैलिने खतरा बढ्दै गएको चिकित्सकर्मीहरु बताउँछन। कोरोना संक्रमण भए नभएको पुष्टि गर्ने विधि पिसिआर परीक्षण भएको महेन्द्र गेनाई कोभिड विशेष अस्पताल धनगढीमाईका डा. शुभाष मण्डलले भने,‘आरडिटी को रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुने अवस्था छैन। जबसम्म पिसिआर विधिबाट परीक्षण हुँदैन तबसम्म कोरोना भाइरस पुष्टि हुँदैन।’ चिकित्सकाकर्मीहरु आरडिटीको भरमा कोरोना भाइरस संक्रमण नभएको भनेर क्वारेन्टिनबाट घर पठाउन नमिल्ने बताइरहँदा प्रदेश २ का आठ वटै जिल्लामा अहिले यो प्रवृती बढ्दो छ।

सर्लाहीको हरिवन नगरपालिकाको क्वारेन्टिनबाट आरडिटी नेगेटिभ रिपोर्टको भरमा घर पठइएकामध्ये ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। सरुवारोग अस्पताल ठेकुमा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएका ८ जना गाउँमा घुलमिल गरिसकेका थिए। जेठ १८ गत्ते २९ जनाको स्वाब संकलन गरी परीक्षण रिपोर्ट नआउँदै घर पठाइएको थियो।  

सिरहाको कर्जन्हा नगरपालिकाले आरडिटी रिपोर्ट नेगेटिभ आएकै भरमा १ सय ८० जनालाई घर पठाएको छ। मेयर गंगा पासवानका अनुसार पिसिआर परीक्षण किट नहुँदा आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठएको बताए।

स्वाब थुप्रिएपछि संकलन स्थगन

कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्ने प्रदेश २ मा जनकपुर, राजविराज, वीरगंज गरी तीन ठाउँमा आरटी पिसिआर प्रयोगशाला छ। जनकपुर र वीरगंजले पूर्णरुपमा परीक्षण गर्दै छ भने राजविराज प्रयोगशालाको परीक्षणलाई राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाले पूर्ण संचालनको स्वीकृती दिइसकेको छैन। यो प्रयोगशाला परीक्षणकालमै छ।

जस कारण यस प्रदेशको सप्तरी, सिरहा,सर्लाही, बारा, रौतहट र महोत्तरीको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनु पर्ने बाध्यता यथावत छ।

पछिल्लो समय स्वाब परीक्षणको चाप बढेपछि यस क्षेत्रमा स्वाब संकलन प्रभवित बनेको छ। पठाइएका स्वाबहरुको रिपोर्ट आउन भइरहेको ढिलाईले क्वारेन्टिन व्यवस्थापन समेत चुनौतीपूर्ण बन्दै छ।

जनकपुर र वीरगन्जका प्रयोगशालामा करिब ८ हजार स्वाबको नमुना परीक्षण गर्न बाँकी छ। प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालाले एकपटकमा ९० वटा नमुना परीक्षण गर्न सक्ने भए पनि ४५ वटाको मात्र परीक्षण हुने गरेको प्रयोगशाला प्रमुख रामविनय साहले बताए। वीरगन्जको नारायणी अस्पतालमा एकचोटिमा ३४ वटा नमुना परीक्षण गर्न सकिन्छ। बढी परीक्षणका लागि यस प्रयोगशालालाले पुलिङ विधि आपनाएर परीक्षण गर्दैछ। यस प्रयोगशालामा पर्सा, बारा, रौतहट, सर्लाहीबाट परीक्षणका लागि नमूना आउने गरेको छ।  

प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बुधबारदेखि स्वाब संकलन स्थगन गरिएको बताए। यस प्रदेशमा अहिले स्वाब संकलन स्थगन गरिएको छ घिमिरेले भने,‘परीक्षणमा दबाव बढेपछि स्वाब संकलन स्थगन गरिएको छ।’ प्रदेश सरकारले आरटी पिसीआर मेसिन थप्ने प्रक्रिया अघि बढाएको छ। मेसिन थपिएपछि परीक्षणको दायरा बढ्छ। राजविराज स्थित प्रयोगशामा जडान गरिएको आरटी पिसीआर मेसिनमा ट्रायल परीक्षण भइरहेको छ,’ उनले भने‘पूर्ण परीक्षण सुरु भएपछि स्वाब संकलन सुरु हुन्छ। ‘क्वारेन्टाइनमा राखिएकाहरूमा कोरोना संक्रमणको जोखिम उच्च छ,’ उनले भने, ‘उनीहरूलाई पिसीआर परीक्षण नगरी समुदायमा पठाउँदा खतरा छ।’

 

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App