समाज

धान फल्ने फाँट मकैबारी

तत्कालिन डिल्लीचौर गाविस हालको पातारासी गाउँपालका ४ तिर्खु जीउलोमा कालीमार्सी रोपिन्थ्यो । धान राम्ररी पाक्थ्यो । गुणस्तरीय चामल उत्पादन हुन्थ्यो । किसान जोश जाँगरका साथ धानखेति गर्थे । तर दशक अघि देखि त्यो जीउलोमा न धान झुलेको छ । न धान लगाउने प्रयत्न नै गरिएको छ । बरु धान फल्ने फाँटैे भरी मकै खेति गरिएको छ ।  

धान अहिले हराइसकेको छ । धान खेति भनेपछि किसान जाँगर चलाउँदैनन् । कुनै बेला काली मार्सी धान रोपिने तिर्खु जीउलो अहिले मकैको खेतिले हरियो देखिन्छ । धानमा मेहनत अधिकतम गर्नु पर्ने, मेहनत अनुसारको उब्जनी नहुने भएका कारण किसान मकै बालीमा आकर्षित भएका हुन् । विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लाको पातारासी गाउँपालिकामै पर्दछ । त्यो छुमचौर जीउलो हो । तिर्खु जीउलोमा धान रोप्दा छुमचौर जीउलोे पनि शोभनीय देखिन्थ्यो । अहिले यहाँ मार्सीधान लोप भइसकेको छ ।  

चामल बजारको उपयोेग गर्छन्, धान लगाउने खेतभरी किसान मकै रोप्छन् । धान रोप्दा  लगानी अनुसारको उत्पादन दिन नसकेपछि मकै बालीमा लागेको किसान बताउँछन् । पहिले तिर्खु जीउलोमा स्थानीय कालीमार्सीका बाला लटरम्म झुलेको देख्दा मन लोभिन्थ्यो । अहिले जौ,गहुँ र मकै बाली लगाइन्छ  ।  

यहाँका २ सय घरधुरीले रोप्ने तिर्खू जीउलो अहिले मकैबारीमा परिणत भएको छ । रोप्नको लागि चाहिने सिचाइँ कुलो पुरिएका छन् । किसान सिचाइँ कुलो बनाउने पक्षमा छैनन्,स्थानीय दलबहादुर बोहोराले भने,‘धान फल्ने जीउलोमा मकै लगाउनु किसानको रहर होइन् बाध्यता हो ।’ मार्सी धानमा विभिन्न रोगको संक्रमण देखिएपछि किसान धान खेतिदेखि दिकदारी भएको उनले बताए ।

पहिले तिर्खु जीउलोमा धान फल्थो भन्दा अहिले पुस्ताले पत्याउने अवस्था छैन । बरु अनौठो मानेर हाँस्छन् । दलबहादुर भन्छन्,‘ कुनै बेला धान रोपाइको दिनमा बाजागाजासहित सहभागी महिलाले चुट्किला र मागल गाउँदै एक आपसमा हिलो छ्यापाछ्याप गरेर धान रोप्ने गर्दथ्ये । पुरुषले हलो जोत्ने बीउ फाल्ने काम र महिलाले रोप्ने चलन रहेको थियो । कालीमार्सी प्रजातिको धान रोपिने गर्दथ्ये ।अहिले मार्सीधानको एक बोट पनि देख्न कठिन भइसक्यो । 

नयाँ दुलही भित्राउनेका घरमा चोपाइ गर्ने र सगुन बाँडीचुँडी खाने चलन थियो । अहिले त्यो दिन सम्झनामा मात्र रह्यो, अर्का स्थानीय ६५ वर्षका धनविर बोहोरा बताउँछन् । तत्कालीन समयमा राजपरिवारदेखि ठूलाबडाले जुम्लाको कालीमार्सी धानको चामल खाने गरेको बताइएको छ ।  

तिर्खु ज्युलोमा  धान रोपाइ छोड्न नहुनेमा यहाँका बुद्धिजीवी र युवाले चासो देखाएका छन् । पुर्खाको इतिहाँसलाई जोगाउनका लागि पनि पुरानै धानखेती गर्न आवश्यक रहेको युवा गणेश वाहोरा बताउँछन् । तर उनले अघि सारेको योजना गाउँलले स्वीकार्दैनन् । यहाँका धेरै जीउला बाँझा थिए । केही जीउलामा धान खेति भइरहेको छ । तर तिर्खु जीउलामा धान खेति हुदैन ।

सबैले यो जीउलोबाट ५० देखि ६० बोरा सम्म धान पाउने गरेको उनले स्मरण गरे । पातारासी गाउँपालिकाको छुमचौर जीउलोलाई कालीमार्सी फल्ने ज्युलो भनेर चिनिन्छ, तर तिर्खु जीउलो धान रोप्न गरेको कहानीमा सावित भएको छ ।  

अग्लो स्थानमा धेरै परिश्रम गर्नुपर्ने घेराबारको व्यवस्था नभएको, सिँचाइ सुविधा नभएकोले धान रोप्न छाडेको अनुभव स्थानीय महिलाको छ  । यो जीउलोको ऐतिहासि महत्वका आधारमा फेरी पनि मार्सीधानको खेति गर्नु पर्ने कृषि क्षेत्रका सरोकारवाला बताउँछन् ।

अहिले मार्सीधानको खेतिलाई पातारासी गाउँपालिकाले पनि प्राथमिकताका साथ अघि सारेको छ । धान लगाउने सिजनामा यहाँका सबैजसो घरपरिवारका सदस्य पाटनमा जाने भएकोले धान खेति हुन नसकेको हो । त्यो भन्दा ठूलो समस्या बजारमा आयातित चामलका कारण जीउलोमा धान उत्पादन गर्न छाडेको कृषि विज्ञ बताउँछन् ।

प्रकाशित: २६ जेष्ठ २०७७ १६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App