समाज

उदयपुरका क्वारेन्टिन फेरि भरिदै

स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरः महेश्वर

एकसाताका खाली भईसकेका उदयपुरका क्वारेन्टिन फेरि भरिभराउ हुन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा बिभिन्न ठाउँबाट आएकाहरुलाई राख्दा जिल्लाका सबै क्वारेन्टिहरु वैशाख अन्तिमसम्म भरिभराउ भए पनि जेठ सुरुदेखि रित्तिदै गएका थिए ।  

गत चैत १२ गते जिल्लामा पहिलोपटक भारतबाट आएका २१ र १३ गते थप ६ जनालाई कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश क्वारेन्टाईमा राखिएको थियो । उनीहरुलाई १४ दिन राखेपछि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि वैशाख १ गते घर फर्काइएको थियो ।  

उनीहरु घर फर्केपछि वैशाख पहिलो साता त्रियुगा ३ भुल्केस्थित नुरी मस्जिदमा १६ जमातिसहित ३२ जना संक्रमित पुष्टि भएकालाई कोभिड विशेष अस्पताल विराटनगर पठाइएको थियो । गत बिहीबारसम्ममा उनीहरु सबै निको भएर घर फकिसकेका छन् । आइसोलेसनबाट फर्केपछि पनि १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्नु पर्ने नियम रहेकोमा क्वारेन्टिनमा ठाउँ अभाव भएपछि सबैलाई ‘होम क्वारेन्टिन’मा राखिएको छ ।  

तर, पछिल्लो समय भारतबाट नेपाल फर्कनेहरु बढ्दै गएपछि क्वारेन्टिनहरु भरिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लका ८ वटै स्थानीय तहमा ३५ वटा क्वारेन्टिनमा ५ सय ५० बेड छन् । जसमा महिला संख्या २८ सहित हाल २ सय २५ जनालाई राखिएको छ । सबैभन्दा बढी त्रियुगा नगरपालिकाको मोतिगडा क्याम्पस क्वारेन्टिनमा ११ महिलासहित ७४ जनालाई राखिएको छ ।  

त्यस्तै बेलका नगपालिकामा ५ महिलासहित ४१ जना छन् भने चौदण्डीगढी नगरमा ९ महिलासहित ४६ र कटारी नगरमा २ महिलासहित ३५ जना रहेका छन् । गाउँपालिकातर्फ उदयुरगढीमा १ महिलासहित १९, रौतामाईमा १४, लिमचुङबुङमा १२ र ताप्लीमा १ जना पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन् । कटारीमा प्रदेश सरकारले बनाएको २ सय बेडको एउटा क्वारेन्टिन छ भने बेलका नगरपालिकामा ४ क्वारेन्टिनमा ८३ बेड र चौदण्डीगढी नगरमा ९ ठाउँमा ४२ बेड र त्रियुगामा २५ बेडको क्याम्पस क्वारेन्टिन छ ।  

यता ताप्ली गाउँपालिकामा १५ ठाउँमा १ सय २५ बेड, उदयपुरगढीमा ३ ठाँमा २७ बेड, रौतामाईमा २८ बेडका ३ क्वारेन्टाईन र लिमचुङबुङमा २० बेडको एउटा क्वारेन्टिन छ । होम क्वारेन्टिमा बस्नेको संख्या ४ सय ४६ रहेको छ ।  

दुई जनामा आरडिटी पोजेटिभ

संक्रमण भए नभएको यकिन गर्न नसक्ने भन्दै वैशाख पहिलो साता नै रद्ध गरिएको दु्रुत लक्षण परीक्षण (आरडिटी) विधिको परीक्षणबाट उदयपुरमा पछिल्लो पटक दुईजनाको रिपोर्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार जापानबाट चैत पहिलो साता घर आएका त्रियुगा नगरपालिका १० का एक र त्रियुगा ११ गाईघाटका अर्का पुरुषमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।  

दुवैजनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर पिसिआर परीक्षणका लागि स्वाव संकलनको तयारी भईरहेको स्वास्थ्य प्रमुख सुबेदीले बताए । वैशाख ५ गतेको परीक्षण रिपोर्ट नेगेटिभ देखिए पनि भारतीय नागरिक भएकाले शंका लागेर पिसिआर परीक्षण गर्दा भुल्केका १६ मध्ये ११ जमातिमा संक्रमण पुष्टि भएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ देखिएलगत्तै आरडिटी विधिको परीक्षण कार्य रोकिएको थियो । तर, पछिल्लो समय सरकारले भटाभट आरडिटी किट खरिद गर्न थालेपछि असफल सावित भईसकेको आरडिटी विधिबाट पुनः परीक्षण थालिएको हो ।  

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म पिसिआर परीक्षणका लागि उदयपुरमा ७ सय ७६ महिला र एक हजार ७ य ५१ पुरुषको स्वाव संकलन गरिएको छ । जसमध्ये ६ सय ७२ महिला र १ हजार २ सय ८३ पुरुषको रिपोर्ट आईसकेको छ । निको भईसकेका ३३ संक्रमित उनीहरुभित्रकै हुन् ।  

स्वास्थ्य कार्यालयका फोकल पर्सन लौकाजी राईले सबभन्दा बढी पिसिआर त्रियुगा नगरपालिकाका ६ सय ४९ महिला र १ हजार १ सय ५१ पुरुषको परीक्षण गरिएको छ । त्यस्तै बेलका नगरका ५५ महिला र २ सय २५ पुरुष, चौदण्डीगढी नगरका २६ महिला र १ सय ६१ पुरुक्ष तथा कटारी नगरका १० महिला र ८० को स्वाव संकलन गरिएको छ । उदयपुरगढी गाउँपालिकामा १९ महिला र ६० पुरुष, रौतामाई गाउँपालिकामा १० महिला र ४० पुरुष, लिमचुङबुङ गाउँपािलकामा ७ महिला र ३२ पुरुष र ताप्ली गाउँपालिकामा २ पुरुषको स्वाब परीक्षण गरिएको फोकल पर्सन राईले बताएका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App