समाज

क्वारेन्टिनबाट घर फर्केका वृद्धको मृत्यु

मेडिकल प्रोटोकल पालना गर्दै शव व्यवस्थापन गरियो

दुई साता क्वारेन्टिनमा बसेर घर फर्केका एक वृद्धको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ का ६८ वर्षीय वृद्धको शािबार मध्यराति मृत्यु भएको हो । १४ दिन क्वारेन्टिन बसेर घर फर्केको तीन सातापछि वृद्धको मृत्यु भएको वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतमले बताए । उनका अनुसार काठमाडौं बस्दै आएका उनी गएको बैशाख ११ गते घर फर्केका थिए । त्यतिबेला राजधानीमा कोरोना भाइरसको संक्रमण फैलिइसकेकाले उनलाई मेलचौरस्थित क्वारेन्टिनमा राखिएको थियो ।  

मृत्युअघि बृद्धमा कोरोना भाइरससँग मिल्ने कुनै लक्षण भने नदेखिएको वडाध्यक्ष गौतमले जानकारी दिए । ‘शनिबार राति साढे ९ बजेतिर मुटु दुख्ने र पसिना आउने समस्या आएपछि धामीकोमा लगिएछ,’ उनले भने, ‘अझै गाह्रो भएपछि स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याएपछि मध्यराति पौने १२ बजेतिर बृद्धको ज्यान गयो ।’ स्वास्थ्यकर्मीले भने ‘हर्ट अट्याक’ भएर उनको ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । वृद्धमा कोरोना संक्रमण रहे÷नरहेको पुष्टि गर्न थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।  

शव व्यवस्थापन प्रोटोकल अपनाएर आइतबार दिउँसो उनको अन्तिम दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कार गर्नुअघि जिल्ला कोभिड–१९ बिपद् व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आपत्कालीन बैठक बसेको थियो । बैठकले नै वृद्धको शव व्यवस्थापन गर्दा मेडिकल प्रोटोकल पालना गर्न निर्देश गरेको थियो । शब बोक्ने चार जनाले स्वास्थ्य कार्यालयले उपलब्ध गराएको पिपिइ सेट लगाएका थिए । अरुलाई शव छुन दिइएको थिएन । सामाजिक दुरी कायम गर्दै परम्पराअनुसार वृद्धको अन्तिम संस्कार गरेको वडाध्यक्ष गौतमले जानकारी दिए ।

प्रकाशित: १८ जेष्ठ २०७७ १६:३० आइतबार

क्वारेन्टिन मृत्यु वृद्ध