समाज

भारतबाट फर्कनेको ओइरो, रित्ता क्वारेन्टिन भरिए

गण्डकी प्रदेशमा कोरोना संक्रमणको त्रास

फाइल तस्बिर

भारतका विभिन्न सहरसहित स्वदेशभित्रकै विभिन्न जिल्लाबाट अहिले गण्डकी प्रदेशमा धमाधम सर्वसाधारण भित्रिन थालेका छन्। यसले प्रदेशभित्र सुस्त रहेको कोरोना संक्रमणको जोखिम बढेको छ।  

गण्डकी प्रदेश भित्रिने मुल नाका मानिएको तनहुँको आँबुखैरेनी र स्याङजाको राम्दीबाट दैनिक सयौं सर्वसाधारण विभिन्न जिल्ला जानेगरि भित्रिएका छन्। भारत र संक्रमण फैलिएका जिल्लाबाट सवारीमार्फत धमाधम सर्वसाधारणहरु जिल्ला भित्रिरहेको स्थानीय प्रशासनले बताएको छ। जिल्ला भित्रिएका ती नागरिकलाई सम्बन्धित जिल्लाका स्थानीय तहले लगेर क्वारेन्टिनमा राख्ने गरेका छन्।  

गण्डकी प्रदेशको नाका स्याङजाको राम्दीबाट चारदिनमा झन्डै १२ सय जना नागरिक भित्रिएको गल्याङ नगरपालिकाको स्वास्थ्य शाखाका विपिन कोइरालाले जानकारी दिए। उनका अनुसार बुटवल हुँदै भित्रिएका ती नागरिकलाई राम्दीमा रोकेर सम्बन्धित जिल्ला वा गाउँपालिका पठाउने गरिएको छ। भित्रिएका ती मध्ये अधिक भारत र बाँकी स्वदेशभित्रकै कोरोना संक्रमण फैलिएका जिल्लाका हुन्।  

‘राम्दी हुँदै भित्रिनेमा बढीजसो स्याङजा, पर्वत, कास्की, बागलुङ र म्याग्दीका बासिन्दा रहेका छन,’ कोइरालाले भने। कोइरालाका अनुसार आफ्ना नागरिक लिनका लागि स्थानीय तहले गाडी नै पठाएका छन्। बुटवल हुँदै भित्रिएका उनीहरु छोटो बाटो पर्ने भएकोले राम्दी हुँदै प्रवेश गरेको उनले बताए।  

त्यस्तै प्रदेशको अर्काे नाका तनहुँ जोड्ने मुग्लिन पुलबाट पछिल्लो ५ दिनमा मात्र भारतबाट आएका ३ सय ४० जना भित्रिएका छन्। स्वदेशका संक्रमण फैलिएका ठाउँबाट भित्रिएका नागरिकको संख्या पनि सयौं रहेको छ। तनहुँका जनस्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीका अनुसार अहिलेसम्म तनहुँमा मात्र १८५ जना भारतबाट भित्रिएका छन्। ‘दिनरात मान्छे भित्रिएका छन्। अहिलेसम्म आउजाउ रोकिँदा प्रदेशभरि नै संक्रमण कम देखिएको थियो। तर, अब भने जोखिम बढेको छ,’ अधिकारीले भने, ‘हुन त उनीहरुलाई सम्बन्धित स्थानीय तहले लगेर क्वारेन्टिनमा राखेका छन्। तर पनि संक्रमणका त्रास भने बढेको छ। केही गरि अरुसँग सम्पर्क हुने हो की भन्ने त्रास थपिएको छ।’  

उनका अनुसार लकडाउन सुरु भएपछि सुरुका केहीदिन क्वारेन्टिनमा मान्छे बसेको भएपनि बीचमा रित्तिएका थिए। तर, अहिले भने खचाखच भईसकेको उनले बताए। ‘बाहिरबाट कोही पनि आउन नपाउँदा क्वारेन्टिन नै रित्तिएका थिए। तर, अब भने अपुग हुने डर छ,’ उनले भने, ‘स्थानीय तहमार्फत ती नागरिक आएका छन्। उनीहरुलाई स्थानीय तहले नै लगेर क्वारेन्टिनमा राख्छन्। तोकिएको अवधि पुरा गरेपनि परीक्षण गरेर घर जान दिने हो।’

प्रदेशका सबैजसो जिल्लामा अहिले धमाधम भारत र संक्रमण फैलिएको क्षेत्रमा नागरिकहरु पुगिरहेका छन्। बागलुङ, पर्वत र म्याग्दीका नागरिक पनि अहिले धमाधम जिल्लामा पुगेका छन्। दैनिक दुईसय हाराहारीमा ती नागरिकहरु जिल्ला भित्रिएका छन्। रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नागरिक अहिले धमाधम गृहजिल्ला भित्रिने क्रम रहेको र त्यो संख्या ठूलो हुँदा संक्रमण फैलिने त्रास रहेको स्याङजाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङगले बताए। उनका अनुसार देशभित्रका प्रभावित क्षेत्रका भन्दा भारतीय सहरबाट आउने नागरिक अहिले बढी छन्।  

‘लकडाउनका कारण हजारौं नागरिक ठाउँको ठाउँ रोकिएका थिए। तर, अहिले भित्रिन थालेका छन्,’ प्रजिअ  कुरुम्वाङगले भने, ‘सीमा जोडिएका जिल्लाले पनि ती सबै नागरिकलाई क्वारेन्टिनमा राखेर भीड थेग्ने अवस्था छैन।’ उनका अनुसार अहिले तीन खालका मान्छे विभिन्न जिल्लामा भित्रिएका छन्। केही समय क्वारेन्टिनमा बसेका, ¥यापिड टेष्ट गरेका र कतै पनि परीक्षण नगराएका मान्छे अहिले धमाधम भित्रिएका छन्। ‘नाकाबाट भित्रिएको भिडले प्रदेशभित्र संक्रमण फैलिने उच्च जोखिम छ। भारतसँग बोर्डर जोडिएका जिल्लाले पनि धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर सम्बन्धित जिल्लामा जान दिइएको हो। त्यसरी जान नदिने हो भने झनै समस्या हुन्छ।’

धमधम जिल्लामा भित्रिएका उनीहरुलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा राख्ने र परीक्षण गर्नुको विकल्प नरहेको उनले बताए। ‘सुरक्षित रुपमा क्वारेन्टिनमा राख्न सकेको खण्डमा सहज हुन्छ। भित्रिएका मान्छे सरासर क्वारेन्टिनमा बस्ने हो भने संक्रमण देखिइहाले पनि समुदायमा फैलिन पाउँदैन,’ उनले भने, ‘खुलमखुला छाडने हो भने समुदायमा संक्रमण फैलिन्छ। त्यही भएर क्वारेन्टिनमा कडाईका साथ राख्नुपर्छ।’

उनका अनुसार स्याङजामा मात्र भारतका विभिन्न सहरबाट १२ हजार नागरिक आउने अनुमान छ। स्याङजाका मात्र अहिलेसम्म करिब ४ सय जना नागरिक भारतबाट आईसकेको उनले बताए। आफ्ना नागरिकलाई लिनका लागि अहिले राम्दीमा स्याङजाका विभिन्न स्थानीय तहले गाडी नै पठाएका छन् भने अन्य जिल्ला पुग्ने बासिन्दालाई भने सुरक्षित साथ पार गराउने व्यवस्था मिलाइएको उनले बताए। यसरी जिल्ला भित्रिन सम्बन्धित जिल्ला प्रशासनको अनुमति अनिवार्य भनिएपनि त्यो अवस्था कावुबाहिरको परिस्थिति भईसकेको उनले बताए।  

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार भारतबाट धमाधम भित्रिएका सयौं नागरिकबाट अहिले प्रदेशभित्र संक्रमण फैलिने त्रास बढेको छ। ‘अहिलेसम्म प्रदेशभित्र जे जति संक्रमित देखिए ती सबै बाहिरबाट आएका नागरिक थिए। अब भने भारत र स्वदेशभित्रै संक्रमण फैलिएको क्षेत्रबाट आएका नागरिकबाट समुदायमा संक्रमण फैलिने त्रास थपिएको छ,’ शर्माले भने, ‘बाहिरबाट आउनेलाई रोक्ने काम प्रशासनको हो। रोक्न सक्ने अवस्था नै छैन।’

शर्माका अनुसार यसरी भित्रिएका ती नागरिकलाई सम्बन्धित स्थानीय तहले इमान्दारितापूर्वक क्वारेन्टिनमा राख्नुपर्छ। उनीहरुलाई १४ दिनसम्म दिनहुँ निगरानी जरुरी रहेको र स्वास्थ्यमा समस्या देखिएमा थप परीक्षण गर्न सकिने शर्माले बताए। ‘जताततै मान्छे भित्रिएका छन्। गण्डकी प्रदेशमा अहिलेसम्म त जोखिम कम देखिएको थियो। तर, अब भने त्रास थपिएको छ,’ उनले भने, ‘आयातित व्यक्तिबाटै संक्रमणको जोखिम बढेको छ।’ भारतबाट आउन नपाउँदा केहीदिन रित्तिएका क्वारेन्टिन अहिले भने भरिभराउ हुन थालेको उनले बताए।

प्रकाशित: ११ जेष्ठ २०७७ ०९:५० आइतबार

कोरोना संक्रमण गण्डकी प्रदेश