समाज

अलपत्र पुनःनिर्माणले सधैं सम्झाउँछ भूकम्प

गोरखा एकीकृत बस्तीमा बनेको घर । घर बन्यो मानिस बसेका छैनन् । तस्बिर : नागरिक

सकिनुपर्ने समयमा गोरखा दरबार पुनःनिर्माणको काम ५० प्रतिशत मात्रै भएको छ । पुरात्त्व विभाग र निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले समयमै काम गर्न गराउन नसक्दा निर्माण सकिनुपर्ने दरबार अलपत्र परेको छ ।  

२०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको दरबारको काम २४ महिनामा मासिक करिब एक प्रतिशतको दरले मात्रै भएको छ । यही समय र गतिअनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै पाँच वर्ष लाग्छ । यस्तो पृष्ठभूमिमा पुरात्त्व विभागले ठेकेदारलाई र ठेकेदारले पुरात्त्व विभागलाई पुनःनिर्माण ढिलाइ हुनुको आरोप लगाउने गर्छन् ।  

चार करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण पूरा गर्ने गरी सुरु भएको दरबारको जगमा ढुङ्गा राखेर ‘सोलिङ’ गरिएको र फलामे टेका र काठको थाम राखिएको छ । दरबार पुनःनिर्माणमा सरोकारवालाको ध्यान पुग्न नसकेको स्थानीय दिपक योगीले गुनासो गरे । गोरखकाली दरबार वरपर निर्माण सामग्री यत्रतत्र छ । पुराना भत्केका काठपात, इँटाले बाटो थुनिएको छ । दरबार परिसर चारैतिर घुम्न हेर्न मिल्दैन ।

पुराŒव विभागकी अधिकृत मञ्जु सिंह भण्डारीले ठेकेदारले समयभित्रै सिध्याउने भने अनुसार काम नगरेको बताइन् । गत पुस ५ गते गोरखा दरबार पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षभित्रै गोरखा दरबार ठड्याउने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिने बताएका थिए । तर उनी फर्किएपछि पनि कामको गति बढेन ।

पुरानो कलाकौशल, शाहबंशको इतिहास, गोरखाको धार्मिक सांस्कृतिक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्कालीन राजा राम शाहको कार्यकालमा निर्माण भएको मानिन्छ । त्यहाँ पुगेका जो कोहीलाई भूकम्पको केन्द्रबिन्दु जिल्ला गोरखा अझै उठ्न सकेको छैन, यहाँका संरचना अझै ध्वस्त छन् भन्ने आभास गोरखा दरबारले गराउँछ ।  

त्यस्तै, उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राक नमुना बस्ती निर्माणको अन्तिम चरणमा छ । एक वर्षभित्र बस्ती पुनःनिर्माण सिध्याउने गरी २०७३ वैशाखबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जिम्मा लिएको थियो । तर अझै लाप्राकी एनआरएनले निर्माण गरिदिएको घरमा सरेका छैनन् । पाँच सय ७३ घर एकै ठाउँमा बनेकाले बस्ती सुन्दर देखिन्छ । कुन घर कसका लागि भन्ने यकिन पनि भइसक्यो । तर त्यहाँ बनेका सबै घरमा शौचालय, ढल, खानेपानी, सडक सहज नहुँदा लाप्राकी त्यति खुसी छैनन् । 

हिउँपर्ने सिजनमा छपक्कै हिँउले घर ढाक्ने भएकाले चिसोबाट जोगिन पनि मुस्किल छ । लाप्राकको पुरानो गाउँमा हिउँ कम पर्छ । उक्त गाउँबाट बेंसी (खेती गर्ने जमिन) नजिक पर्ने भएकाले लाप्राकी भूकम्पमा भत्किएको घरलाई मर्मत गरेर पुरानै घरमा रमाएका छन् । हावापानी, भूगोल सुहाउँदो व्यवस्थित घर नभएकाले तत्काल सर्ने योजना लाप्राकीको छैन ।

‘गुप्सिको नयाँ घरमा सरे पनि बेंसीमा पनि घर राख्छन्,’ वडाध्यक्ष राज गुरुङ भन्छन्, ‘एनआरएनको घरमात्रैले लाप्राकीको आवस्यकता पूरा हुँदैन ।’ सरकारले तीन लाख रुपैयाँ दिएर आफैं घर बनाउन दिएको भए अहिलेसम्म पुनःनिर्माण सकिएर लाप्राकी आफ्नै घरमा सरेका हुन्थे । घर छ, शौचालय छैन, नयाँ घरमा खुसीले हौसियर बस्नुपर्नेहरू पुरानै घरमा रमाएका छन् । यो बस्तीले अहिले पनि भूकम्पको पीडा स्मरण गराउँछन् ।  

भिमसेन थापा गाउँपालिका–५ बगुवाको एकीकृत मिलन बस्तीको काम कछुवा गतिमा चलेको छ । एक सय ३८ लाभग्राही रहेकामध्ये केहीको अझै गुनासो सम्बोधन हुन बाँकी रहेकाले केही घर थपिने सम्भावना छ । घर निर्माणको क्रममा भए पनि अझै एक वर्ष सबै पीडित सर्न सक्ने अवस्था देखिँदैन । कारण बस्ती निर्माणका लागि साधन स्रोतको अभाव छ । बस्ती निर्माणको यो गतिले अझै वर्ष दिन अस्थायी घरमै गुजारा चलाउनुपर्ने बाध्यता धरमपानी, रिठ्ठेपानी, पाण्डेगाउँ, नयाँगाउँ र डाँडागाउँका स्थानीयलाई छ ।

‘पुरानै घर टालेर, केहीले जस्ताको टहरा हालेर, भत्किएको घरको एक तला फालेर मर्मत गरेर बस्नुभएको छ,’ वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले भने, ‘निर्माण पूरा गरेर सबैलाई मिलनबस्तीमा सार्न अझै समय लाग्छ ।’ २०४४ सालदेखि चिरा परेको बस्ती भूकम्पले थप जोखिम पारेपछि स्थानान्तरण गर्न लागिएको हो ।  

बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे सकिनुपथ्र्यो । ठेकेदारको लापरबाहीले अहिलेसम्म पूरा भएको छैन । भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्पस्मृति पार्क निर्माणको काम ढिलो भएको छ । त्रिसूली नदीमाथि पप्पु कन्ट्रक्सले निर्माण गर्नुपर्ने पक्की पुल निर्माण नहुँदा गण्डकी गाउँपालिकाका स्थानीयले निर्माण सामग्री बोकेर घर निर्माण गर्नुप¥यो । भूकम्पमा भत्किएका गुम्बा, मन्दिरहरू, पाटीपौवा पुनःनिर्माण हुन बाँकी छ । भत्किएका सरकारी संरचनासमेत सबै ठडिएका छैनन् । केही प्रहरी चौकी पनि बन्न बाँकी छ । स्वास्थ्य संस्था प्रिफ्याबको घरबाट पक्की घरमा सरेका छैनन् । अझै १० हजार व्यक्तिको घर बन्न बाँकी देखिन्छ । यी कारण केन्द्रबिन्दु जिल्ला गोरखाका सर्वसाधारणले भूकम्प सम्झिरहेका छन् ।  

प्रकाशित: ५ जेष्ठ २०७७ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App