समाज

२७ जिल्लामा देखियो कोरोना, संक्रमित हुनेको संख्या २ सय ८१ पुग्यो

शनिवार थप १४ जनामा कोरोना पोजिटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ जना पुगेको छ।   पछिल्लो संक्रमित हुनेहरुमा कपिलवस्तुका बर्दियाकी २८ वर्षीय महिला, सिराहाका  ३० वर्षीय पुरुष, पर्साका २८ र २९ वर्षीय पुरुष ,सर्लाहीकी १८  वर्षीय महिला र  चितवनकी २५ वर्षीय महिला छन्।  

त्यसै गरी शनिवार नै काभे्रका २६ वर्षीय महोत्तरीका ५२ वर्षीय पुरुषमा पनि संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  शनिवार नै सिन्धुपाचोककी मृतक २९ वर्षीय महिला र धनुषका २ पुरुषमा संक्रमण पुष्टि गरेको छ।  शनिबार काभ्रेका एक संक्रमित  र सिन्धुपाल्चोकमा मृत्यु भएकी एक महिला सहित संक्रमित जिल्लाको संख्या २७  पुगेको छ।  

कुल संक्रमित मध्येमा २ सय २६  जना पुरुष र ५५  जना महिला रहेका छन्।  जस मध्ये ३६ जना निको भइसकेका छन्।  संक्रमित  मध्ये सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिलाको मृत्यु भएको छ भने बाँकी सवैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।  

संक्रमण २६ जिल्लामा भेटिए पनि व्यक्तिको संक्रमणको सम्पर्क भेटिएको अवस्था भएकोले  नेपालमा कोरोना अहिलेसम्म कलस्टर चरणमै रहेको राष्ट्रिय इपियिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले बताए।  

‘अहिलेसम्म क्लस्टरकै चरणमा छौं, संक्रमितले अफ्नो सम्पर्कमा भएका व्यक्तिहरुको बारेमा  थाहा पाउन नसक्ने अवस्था आएपछि मात्र समुदायस्तरमा पुग्छ ’ उनले भने।  नेपालमा कोरोना संक्रमण कलस्टर चरण(दोस्रो) चरणमै रहेको शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेर बहादुर पुनले बताए।  

‘ मैले संक्रमितहरुको अवस्था नियाल्दा संक्रमितहरुको सम्पर्क स्थानहरु भेटिइरहेको देखिन्छ, यो भनेको क्लस्टरको चरण हो’ उनले भने।  कोरोना भाइरस पनि रुघाखोकी जस्तै सजिलै सर्ने भएकोले यो पछि समुदायमा जान सक्ने स्थिति रहेको चिकित्सकहरुको आंकलन छ।  ‘एउटा कार्यालयको कर्मचारीलाई संक्रमण भएको छ भने अरुलाई पनि हुन सक्ने अवस्था देखियो,यस्तो अवस्था इन्फुलुन्जाको जस्तो संक्रमण हो’ डा. पुनले भने।  

मन्त्रालयले पिसिआर परीक्षण बढाइरहेकै बेला कोरोना संक्रमणको संख्या पनि बृद्धि  भइरहेको पाइएको छ।  गत चौविस घण्टामा मात्र २५ सय ८९  वटा पिसिआर परीक्षण भएको थियो भने २६ सय ६४ आरडिटी परीक्षण भएको थियो।  हालसम्म कुल ९२ हजार ४ सय ४० वटा नमूना परीक्षण भएको छ।  जसमा पिसिआर विधिवाट कुल २६ हजार ६ सय ९१ र आरडिटी बिधिवाट ६५ हजार ७ सय ३९ वटा नमूना परीक्षण भएका छन्।  

कोरोना पोजिटिभसंगै आइसोलेशन र क्वारेन्टिनमा रहनेहरुको संख्या पनि बृद्धि भएको  छ।  शनिबार सम्ममा १६ हजार ३ सय ६६ जना क्वारेन्टिनमा छन् भने ३ सय २० जना आइसोलेशनमा रहेका छन्।  यी मध्येमा ३२ जना काठमाडौं उपत्यकामा र २ सय ८८ जना काठमाडौं बाहिरका बिभिन्न अस्पतालहरुमा छन्।  सवै भन्दा बढी प्रदेश प्रदेश पाँचमा १ सय १५ जना,प्रदेश दुईमा १ सय ११ जना प्रदेश ३ मा ६४ जना र प्रदेश १ मा २४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना रहेका र गण्डकी प्रदेशमा  १ जना छन्।  

हालसम्म सबै भन्दा बढी प्रदेश पाँच र दुईमा संक्रमितको संख्या पाइएको छ।  जस अनुसार प्रदेश पाँचमा १ सय ९ जना र प्रदेश २ मा १ सइ ११ पुगेको छ।   त्यसै गरी प्रदेश १ मा ३६ जना, बागमती प्रदेशमा १७  जना र सुदुरपश्चिम प्रदेशमा  पाँच जना छन् भने कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन्।  

कोभिड १९ का विरामीलाई लक्षित गरी मानव अंग प्रत्यारोपण केन्द्रमा ६ वटा डाइलोशिस मेशिन तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ।  देशमा कोरोना संक्रमितको संख्या वृद्वि हुँदै जाँदा मन्त्रालयले सम्भावित आवश्यकता हेरी हेमोडाइलोशिस मेशिनको व्यवस्था गरेको हो।  

स्वास्थ्यकर्मी माथि विभेद  

अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई समुदायमा असहयोग गरेको पाइएको भन्दै मन्त्रालयले उनीहरु माथि विभेद नगर्न आग्रह गरेको छ।  उहाँहरुको मनोवल गिराउने, घरमा बस्न नदिने क्रियाकलाप अबान्छनीय कार्य भएको जनाएको छ।  स्वास्थ्यकर्मीहरुमा आफै सचेत रहेको र उनीहरुमा हुन सक्ने संक्रमणको लागि समेत सरकारसित परीक्षण किटहरु समेत रहेकोले समुदायमा उनीहरुलाई असहयोग नगर्न आग्रह गरेको छ।  

 

 

 

प्रकाशित: ३ जेष्ठ २०७७ १७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App