समाज

नरैनापुरका कोरोना संक्रमित आठै जनालाई दाङ पठाइयो

नेपालगन्ज- बाँकेको नरैनापुरमा फेला परेका कोरोना संक्रमित आठै जनालाई दाङ पठाइएको छ । एम्बुलेन्समार्फत उनीहरुलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको हो । बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि दाङको अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

 नरैनापुर गाउँपालिका अध्यक्ष शाहले संक्रमित सबैलाई एम्बुलेन्समार्फत दाङको आइसोलेसन अस्पतालमा पठाइएको बताए । ‘नेपालगन्जबाट एम्बुलेन्स ल्याएर आठै जनालाई दाङ पठायौं, उनीहरु अब निको नहुँदासम्म आइसोलेसनमै बस्नेछन्,’ अध्यक्ष शाहले भने । संक्रमित ब्यक्ति केहीदिन यता क्वारेन्टाइनमा बस्दै आएका थिए ।  

भारतबाट फर्केका मध्ये ४५ जनाको स्वाब पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । कोरोना भाइरस पोजिटिभ भएका ब्यक्ति नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ बर्षका छन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमित ब्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा उप–संयोजक नगेन्द्रकुमार शाहका अनुसार संक्रमित भएका मध्ये ६ जना तीन दिनअघि(बैशाख ३० गते) र बाँकी दुई जना एक हप्ता अगाडी भारतबाट अबैध नाका हुदै नरैनापुरमा प्रवेश गरेका थिए । ‘कोरोना संक्रमित ८ जना मध्ये ६ जना बैशाख ३० गते र दुई जना एक हप्ता पहिले आएका हुन्, उनीहरु सबै क्वारेन्टाइनमा बसिरहेका थिए,’ शाहले भने ।

 संक्रमित आठै जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरिने उनले बताए । यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी एक जना र वडा नम्बर ८ का २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । उनीहरु सबैको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।  

 

 

 

 

 

 

प्रकाशित: २ जेष्ठ २०७७ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App