समाज

लकडाउनका बीच सामाजिक काममा युवा

खोटाङ– लकडाउनका बीचमा खोटाङ फुटबल एकेडेमीका युवाले दिक्तेलस्थित माटिकोरेस्थित खेलमैदानमा दुबो रोपे । बिहान–बिहान १५ दिन श्रमदान गरेका एकेडेमीका युवाले पारिश्रमिक दिएर पाँच दिन कामदार पनि लगाए । दुबो रोपिएको खेलमैदानमा दुई महिनाका लागि खेल्न वा मर्निङवाक गर्न रोक लगाइएको एकेडेमीका कोच रोशेस श्रेष्ठले बताए ।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खेलमैदानमा पनि दुबो रोपेर मल हालिएको छ । दुबोमा पानी हाल्नका लागि एक महिनाका लागि एकजनालाई नियुक्त गरिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । यसअघि छरिएको दुबोको बीउ नउम्रिएको अवस्थामा लकडाउनको मौका पारेर बुईपा एलाभेन स्पोर्टस् क्लवमा आवद्ध युवाले श्रमदान गरेर दुबो रोपेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेस्थित रातमाटे साईनो स्पोर्टस् क्लवमा आवद्ध युवाले पनि गाउँको खेलमैदानमा घेराबारा हालिरहेको छ । केही दिनमै खेलमैदान आसपासमा बृक्षारोपण गर्ने क्लवको तयारी छ ।  

हाल कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू गरिएको छ । अध्ययन वा रोजगारी सिलसिलामा शहर बजारमा बसिरहेका अधिकांश युवा कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा गाउँ भित्रिएका छन् । युवा विहिन गाउँघरमा यतिबेला चहलपहल छ । गाउँघरमा केही सामाजिक काम गर्न परे युवा जुट्ने अवसर छ । लकडाउनकाबेला फुर्सद भएकाले विभिन्न ठाउँका युवा सडक, खेलमैदान मर्मत सम्भार लगायतका सामाजिक काममा अग्रसर देखिन थालेका छन् । लकडाउनका कारण गाउँमा भएको युवाको जमातलाई खेलमैदानमा दुबो रोप्न उपयोग गरिएको बुईपाका वडाध्यक्ष राईले बताए । ‘लकडाउनले गाउँमा युवाको जमात भो, फुर्सद पनि छ,’ वडाध्यक्ष राईले भने, ‘खाली समयलाई सदुपयोग गर्न सामाजिक काममा लगाएका हौँ ।’  

हाल दिनानुदिन कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दो छ । संक्रमितको संख्या बढेसँगै हाल लकडाउनलाई थप कडा पारिदैछ । तर, शहर बजारको तुलनामा गाउँघरमा लकडाउनको प्रभाव कम छ । गाउँघरमा सामाजिक दुरी कायम गरेर भेला हुने, खेतीपाती वा घरासयी काम गर्ने वा सामाजिक काम गर्ने क्रम रोकिएको छैन । कोरोना संकटका कारण भेला भएका युवालाई विभिन्न ठाउँमा सामाजिक हितको काममा लगाउने अवसरको रुपमा उपयोग गर्न थालिएको छ । लकडाउन अघि शहरबाट गाउँ आएका र गाउँमै बसिरहेका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका युवाले श्रमदान गरेर मुलघर–बाघखोर सडक मर्मत गरेको वडासदस्य घनश्याम राईले बताए । ‘बर्षाको पानीले सडकको विभिन्न ठाउँमा माटोको ढिस्को थुप्रिएको थियो, भलले कटान गरेको थियो,’ वडासदस्य राईले भने, ‘गाउँ र शहरका युवा भेला भएपछि श्रमदान जुटाएर सडक मर्मत गरिएको छ ।’  

कोरोना भाइरसका कारण गाउँमा भेला भएका कतिपय युवा खेतीपाती र मेलापातको काममा क्रियासिल देखिए पनि अधिकांश युवा फुर्सदिला देखिएका छन् । त्यी फुर्सदमा समय विताइरहेका युवा शक्तीलाई सामाजिक हितका क्षेत्रमा उपयोग गर्न सकिन्छ । गाउँघरमा हुने मर्मत सम्भारका सानातिना काम गर्न सरकारकै मुख ताक्नुपर्छ भन्ने छैन । स्थानीय मिले सानातिका काम आफै गर्न सकिने दुर्छिम रातमाटेका युवा राजन राईले बताए । ‘हामीले सामाजिक दुरी कायम गरेर बरभञ्ज्याङ–रातमाटे सडक मर्मत गर्‍यौँ,’ राईले भने, ‘आ–आफ्नो टोलमा पर्ने सडक आफैले श्रमदान गरेर मर्मत गर्ने निर्णय अनुसार मर्मत गरेका हौँ ।’  

 

 

प्रकाशित: १ जेष्ठ २०७७ ०९:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App