समाज

बाटुलेचौर घटनाबारे दलित अधिकारकर्मीहरुको सामूहिक आपत्ति

काठमाडौं- पोखरा वाटुलेचौरमा किरियापुत्री घरमा प्रतिवन्ध लगाएको विषय र नेकपा कास्की अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण बहादुर थापाले दिएको अभिव्यक्ति  विरुद्ध दुई दर्जन भन्दा बढी दलित अधिकारकर्मी संस्थाहरुले आपत्ति जनाएका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले घटनाको विरोध गर्दै घटनामा संलग्न सवैलाई कडा कारवाही हुनु पर्ने माग राखेका छन्।

पोखरा बाटुलेचौर – १६ निवासी  सम्मर सुनारको रोजगारीको क्रममा दुवईमै मृत्यु भएको थियो। लकडाउनको कारण नेपाल ल्याउन नसकेपछि उनको छोरा मनोज सुनारलाई किरिया बस्नको लागि स्थानीय किरियापुत्री घरमा स्थानीयले रोक लगाएपछि विवाद चर्केको थियो। आफुहरुलाई गाली गलौज गरी जातीय विभेद तथा मानवअधिकार हनन भएको भन्दै मृतकका दाजु मोहनले स्थानीय प्रहरीमा उजुरी दिएपछि विवादले थप चर्को रुप लिएको थियो। उजुरी दिएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेपछि स्थानीयले मोहन सुनारको घर घेरा हाल्ने र प्रहरी चौकीमा समेत विरोध प्रर्दशन गरेका थिए।

घटना लगत्तै सोही स्थानका व्यक्ति तथा नेकपा कास्कीका जिल्ला अध्यक्ष कृष्ण बहादुर थापाले पीडकलाई संरक्षण हुने र पीडितलाई अन्याय हुने गरी प्रेस विज्ञप्ति जारी गरेका थिए। घटनाका चार स्थिति पछि दर्जनौं दलित अधिकारकर्मी संघ संस्थाहरुले घटनाको विरोध जनाउँदै दोषी उपर कारवाहीको माग गरेका हुन्। कारवाहीको माग गर्ने संघसंस्थाहरुमा दलित अधिकार राष्ट्रिय अभियान कर्ताहरुको संजालले  एक जिम्मेवार जनप्रतिनिधीको हैसियतमा समाधान गर्नु पर्नेमा गण्डकी प्रदेश सभा सांसद समेत रहेका थापाले जारी गरेको विज्ञप्तिले सहोदर भाइ गुमाएका मोहन,उनको परिवार तथा सिंङ्गो दलित समुदायलाई मानमर्दन भएको जनाएको छ।

साथै भेदभावपूर्ण कार्य र कार्यलाई उद्वेलित गर्ने बक्तव्यले मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले प्रत्याभूत गरेको समानता र सम्मानपूर्ण बाँच्नपाउने मानिसको मानव अधिकार, नेपालको संविधान, छुवाछूत तथा भेदवाव(कसुर र सजाय) ऐन २०६८ ले प्रत्याभूत गरेको नीजि तथा सार्वजनिक स्थानमा विभेद गर्न नपाउने अधिकार विरुद्धको अपराधपूर्ण कार्य साथै आजको लोकतान्त्रिक गणततान्त्रिक शासनव्यवस्था, चुनावताका गरेको बाचा र जनताको मुक्तिको लागि गरिएको प्रतिबद्धताको खिल्ली उडाएको जनाएको छ।

 अभियानले सार्वजनिक किरिया गर्ने स्थलमा प्रवेशमा रोक लगाई उल्टै नीज मोहन सुनारमाथि जातीय आधारमा अमानवीय व्यवहार गर्ने सम्पूर्ण अपराधीहरुलाई कानून बमोजिम हदैसम्म कारबाहीको माग गरेको छ। साथै घटनालाई समाधान गर्नुको सट्टा उल्टै अपराध गर्न खोज्ने निज कृष्णबहादुर थापालाई सासद पदबाट बर्खास्त गरी नेपालको संविधान, छुवाछूत तथा भेदवाव (कसुर र सजाय) ऐन २०६८ बमोजिम कडाभन्दा कडा कार्वाही गर्न  माग गरेका छन्। तर पीडित परिवारको जीउ–धनको सुरक्षा गरी उचित क्षतिपुर्तिको व्यवस्था गर्न न्यायिक निकाय समक्ष अनुरोध गरेको छ।

 

प्रकाशित: २९ वैशाख २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App