वीरेन्द्रनगर- नियमित मोर्निङ वाक त म गर्दिनँ । कहिले कसो निस्के भने बुद्धपथ–वीरेन्द्र चोक हुँदै घण्टाघरसम्म मोर्निङ वाक निस्कन्छु । अहिले यो क्रम पूर्णरूपमा बन्द भएको छ । जसले गर्दा त्यति बेला भन्दा अहिले थोरै भए पनि अल्छी महसुस गरिरहेको छु । मोर्निङ वाक मात्र होइन दैनिक कुनै न कुनै सन्दर्भमा वीरेन्द्रचोकलगायत वीरेन्द्रनगरका व्यस्त ठाउँमा पुग्नै पर्छ, पर्दथ्यो । दैनिकजसो हुने यहाँको भीड कति र कस्तो हुन्छ त्यो नियाल्न एकैछिन स्मरण गरे मात्र पुग्छ । दिनभरि त्यहाँ बस्नु पर्दैन ।
मंगलगढी, एरी, वीरेन्द्र, पीपीरा, खजुरा चोक, घण्टाघर र खोर्के लाइनमा बढी भीड हुन्छ । एक्लै निस्के पनि कोही न कोही चिनजानको मान्छेसँग भेट हुन्छ । निर्धारित समयभन्दा सधैं केही समय ढिला हुन्छ । तर अहिले यो अवस्था त्यस्तो छैन । बजारमा निस्क्यो भने न त ती साथीसंगी भेटिन्छन् न भने त्यस्तो भीडभाड नै छ । सुनसान छ बजार । आक्कलझुक्कलबाहेक एक्लै टोलाइ रहेछ त्यो सडक अनि चोकहरू ।
यही बजारमा म एक्लो मनुवा हिँड्छु । अरु पनि हिँड्छन् तर कतिबेला ? भेटै हुँदैन । पहिलाको जस्तो गरी होइन, त्यो पनि अत्यावश्यक काम परेको बेला मात्र । करिब डेढ महिना भयो पीपीरा, खजुरा चोकतिर नगएको । वीरेन्द्र, ऐरी र मंगलगढी चोकसँगै खर्के र घण्टाघर लाइनतिर नगएको पनि हप्ता दिनभन्दा बढी भयो होला । हिँडाै भने वीरेन्द्र, मंगलगढी चोकसँगै खोर्के र घण्टाघर लाइन पाँच/पाँच मिनेटमै पुगिन्छ तर लाग्छ दिनभरिको पैदल यात्रा गरे पनि पुगिन्न होला । गाउँमा हुँदा वल्लोगाउँबाट पल्लोगाउँ जाँदा त्यो उकालो अनि आरालो सम्झेर जानै मन लाग्दैनथ्यो । हिँड्न दुःखले सामान्य काम त्यसै हराए । ठ्याक्कै त्यस्तै भएको छ अहिले घर बाहिर निस्कन ।
अहिलेको दैनिक फाट्टफुट्ट बुद्धपथमा रहेको एक चिया पसलमा गयो चिया खायो अनि कोठामा आएर इन्टरनेट चलायो । बास यत्ति गर्दैमा दिन जान्छ । त्यो चिया पसल पनि चिनजानेको भएर मात्र चिया खान दिन्छन् । नत्र मुस्किलै पर्छ । यतिबेला चैत १३/१४ गतेको कुरा हो । सुर्खेत उद्योग वाणिज्य संघका सचिव रामप्रसाद पाण्डे, कर्णाली मलका अन्य सञ्चालक, पत्रकार देव राना, पुनम विसी, जगददल जनाला विक, पुरुषोत्तम सापकोटा, मलगायत केही नास्ताका लागि एउटा होटेलमा जाने निधो भयो । होटेल पुग्दा होटेल खाली थियो । होटेलमा काम गर्ने कर्मचारी घर जान तम्सिएका । त्यहाँ खाजा नपाएरै हामी फर्कियौं । जबकी अरु समयमा त्यहाँ खाजा खान जाँदा बस्ने ठाउँ पनि पाउन मुस्किल पर्छ ।
अहिले वीरेन्द्रनगरका चोक चौतारा खाली छन् । देशमा हुने राजनीतिक तथा सामाजिक विषयले यी चोक चौतारा तातिन्थ्यो । यी चोक चौतारालाई राजनीतिक र सामाजिक विषयमा हुने बहस सुन्न नपाएको आज धेरै दिन भइसक्यो । आशा छ पहिलाको जस्तै गरी यी चौेक, चौतारामा राजनीतिक र सामाजिक विषयले छिट्टै तताउने छ र सडकमा सवारी साधनको लामसँगै मान्छेको आवतजावत सुरु हुनेछ ।
पहिला काम गर्नै पथ्र्याे । काम नगर्दा दैनिकी चलाउन समस्या हुन्थ्यो । यतिबेला त डेढ महिनाभन्दा बढी भयो बन्दाबन्दी (लकडाउन) पालना गरेर घरमै बसेको, त्यस्तो समस्या छैन । कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई कर्मथलो बनाएर काम गर्न थालेको एक वर्ष पनि बितेको छैन । तर पनि यहाँको जनजीविकासँग साक्षात्कार गर्न राम्रो अवसर प्राप्त भएको छ । विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सरकारले बन्दाबन्दी (लकडाउन) लगाएपछि म जस्तै अरु पनि लकडाउनको पालना गर्दै घरमा बसेका छन् ।
नियमित काममा फर्कन म र मजस्तै अरु पनि आतुर छौं । पहिलोको जस्तै चोक चौतारामा चिया खाँदै भलाकुसारी गर्न मन अझ बढी हुटहुटी गरिरहेको छ ।
प्रकाशित: २६ वैशाख २०७७ ०९:५२ शुक्रबार