समाज

अनुमान गरे भन्दा बढी भित्रिएपछि व्यवस्थापनको चुनौती

भारतबाट आएका पुर्चौडी नगरपालिकाका स्थानीय घर जान गाडी चढ्दै । तस्बिरः बिरा/नागरिक

बैतडी/दार्चुला- गत बिहीबार झुलाघाट नाकाबाट एक हजार दुई सय ९९ जना भित्रिए । भारतस्थिति पिथौरागढ प्रशासनले ८ सय ३७ जना क्वारेन्टाइनमा रहेको जानकारी दियो । तर क्वारेन्टाइनमा बसेभन्दा झण्डै दोब्बर आए । ‘हामीले करिब ९ सय जना आउने अनुमान गरेका थियौ,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, तर धेरै जना आएपछि समस्या भयो ।’

यातायातका साधन पनि सोही अनुसार व्यवस्थापन गरिएको थियो । सीमानाकामा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित जिल्ला वा स्थानीय तहमा त्यही दिन पठाउने तयारी गरे पनि दुई सय ७४ जनालाई दशरथचन्द नगरपालिकाको ज्ञानेश्वर माविमा एक रात राख्नु पर्‍यो । उनीहरुले त्यो रात खाना पनि पाएनन् । चिउराकै भरमा रात कटाए । उनीहरु दुई दिनसम्म भोकै बस्न बाध्य भए । पारीबाट आएको तथ्यांक अनुसार सम्बन्धित स्थानीय तहले गाडी खोजेका थिए ।

अनुमान गरेभन्दा बढी भित्रिएपछि व्यवस्थापनको मात्र होइन कोरोना संक्रमणको पनि जोखिम बढेको छ । पारीबाट ल्याइएको सबैलाई  १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरिए पनि सबै जना क्वारेन्टाइनमा बसेका छैनन् । दशरथचन्द नगरपालिकाकै २० जना घरमा बसेका छन् । उनीहरुलाई एक दिन घरमा बसेपछि शुक्रबार मात्रै क्वारेन्टाइनमा राखिएको छ ।

भारतबाट भित्रिएका सबै जना क्वारेन्टाइनमा बसेर आएका छैनन् । केही भारतीय गाउँबाट सिधै आएका छन् । लामो समय सीमानाका नखुल्ने सुनेपछि धेरै जना आएको हुनसक्ने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द बताउँछन् । आएकामध्ये आधा जति सीमापारि एक महिनादेखि क्वारेन्टाइनमा थिए । उनीहरुमा संक्रमण नभए पनि क्वारेन्टाइनमा नबसी आएकाहरुबाट कोरोना जोखिम बढेको छ । क्वारेन्टाइनमा बसेकाभन्दा बढी नेपाली भित्रिएपछि व्यवस्थापन गर्न समस्या भएको छ । खास गरी पुर्चौडी नगरपालिकामा अनुमान गरेभन्दा बढी भित्रिएपछि बढी समस्या भएको छ ।

नगरपालिकाले पाँच सय जनासम्म बस्न मिल्ने पालिकास्तरीय क्वारेन्टाइन बनाएको थियो तर साढे आठ सयभन्दा बढी नागरिक भित्रिदा व्यवस्थापन गर्न चुनौति भएको नगरप्रवक्ता दले धामीले जानकारी दिए । जिल्ला प्रशासनले क्वारेन्टाइनमा बसेकालाई मात्र ल्याउने भन्दै एक दिनको लागि सीमा खोले पनि भारतका विभिन्न ठाउँमा रहेका नागरिक आएपछि समस्या भएको हो ।

दार्चुुलाबाट पनि क्वारेन्टाइनमा बसेभन्दा बढी भित्रिएका छन् । सीमापारि भारतका पाँच स्थानका क्वारेन्टाइनमा ८ सय २३ जना थिए तर दत्तु र खलंगाको दुई नाकाबाट एक हजार दुई सय ९६ जना भित्रिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

लामो समयदेखि अलपत्र नागरिकलाई उद्धार गरिएपछि अब स्थानीय तहले सबैलाई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको प्रजिअ पौडेलले जानकारी दिए । अनुमान गरेभन्दा बढी आए पनि सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले बताए । दार्चुला सदरमुकाम रहेको महाकाली नगरपालिकालाई पनि सुरुमा व्यवस्थापन गर्न हम्मे परेको थियो । तर गाडीको वइवस्था गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाएपछि सहज भएको नगरप्रमुख हंसराज भट्टले जानकारी दिए ।

कोरोना संक्रमण फैलिन नदिन नेपाल–भारतले गरेको लकडाउनका कारण भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिम प्रदेश लगायत अन्य जिल्लाका नेपाली नागरिक विगत एक महिनादेखि नेपालसँग सीमा जोडिएको धार्चुलाको सिमानाकामा फसेका थिए । भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइमा बसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । बैतडी, दार्चुला र भारत पिथौरागढ जिल्लाका अधिकारीबीच सहमति भएपछि मजदुरहरुलाई स्वदेश ल्याउने सहमति अनुसार नाका खोलेर ल्याइएका सबैलाई अनिवार्य क्यारेन्टाइनमा राखेर परीक्षण गरिने बताइएको छ  ।

मजदुरहरुलाई स्वदेश ल्याउँदा सीमामा ज्वरो मापनलगायतका स्वाथ्य परीक्षण गरिएको र त्यसपछि उनीहरुलाई क्वारेन्टाइनमा बस्नका लागि पठाइएको प्रजिअ पौडेलले बताए । सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् । उनिहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखी ¥यापिड टेस्ट वा स्वाब परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइने बताइएको छ ।

बैतडी जिल्लाका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि यहाँबाट आएका सुदूरपश्चिम लगायत कर्णाली प्रदेशका केही जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको छ । तर उनीहरुको अबस्था के छ जानकारी छैन । उनीहरुको नामा ठेगानासहित जिल्ला प्रशासनमार्फत उनीहरुको स्थानीय तहमा जानकारी पठाउने काम भएको बैतडीका सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले बताए । यहाँबाट बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, मुगु, दैलेखलगायत जिल्लाका नागरिक भित्रिएका हुन् ।



                                                                  

 

प्रकाशित: २० वैशाख २०७७ १३:३६ शनिबार

व्यवस्थापन काेराेना लकडाउन