समाज

७ घर जलेर नष्ट, पीडितको व्यवस्थापन र क्षतिको विवरण संकलन सुरु

आगलागी क्षेत्रमा अहिलेको अवस्था । तस्बिर :खगेन्द्र/नागरिक

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङको माथिल्लो रोडस्थित ट्याक्सी लाईन क्षेत्रमा शुक्रबार राति भएको आगलागीको क्षति संकलन तथा पीडित व्यवस्थापनका काम सुरु भएको छ । जलेका घरका अवशेषहरु उत्खनन् गर्ने र वास्तबिक क्षति संकलनको कार्य सुुरु भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

अहिले पनि घटनास्थलमा धुँवा आईरहेको अवस्था भएकोले पानी लगाउँदै बचेका अवशेषहरु पल्टाउन पीडित, स्थानीय समुदाय र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा रहेका छन् । अहिले बिहान करिव ४ बजे मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएकोले त्यसपछि थप व्यवस्थापनका कार्य भईरहेको प्रजिअ निरौलाले बताए ।

आगो कसरी सुरु भयो भन्ने यकिन छैन । प्रारम्भिक बिवरण अनुसार टेकबहादुर लेछर्बो, खड्ग थापाको रेखदेखमा रहेको बिष्णु केसीको घर, कार्की परिवारको घर, भट्टराई चिया पसल रहेको घर, खेम केसीको घर, नेत्र कार्कीको घर ध्वस्त भएको छ । चन्द्र निरौलाको पक्कीमा समेत आगोले क्षति गरेको छ । सोही घरले त्यसभन्दा उताका घरमा आगो जान रोकेको थियो । आगो नियन्त्रणमा लिने प्रयासमा भावी होटल भनिने राम चौधरीको पूर्ण तथा पाथीभरा दुग्ध डेरी तथा कोसेली घर भएको दुर्गा ढुङ्गानाको घरमा आशिंक क्षति भएको छ । तर यहाँ दर्जनौं परिवार पसल, होटल तथा डेराभाडामा रहेका थिए ।

क्षतिको बिवरण संकलनको कार्य भईरहेकोले कुन–कुन घर र कति क्षति भयो भनेर अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिष्णुबहादुर खड्काले जानकारी दिए । पीडित परिवारको व्यवस्थापन तथा राहतका लागि गृहकार्य सुरु गरिएको प्रजिअ निरौलाले बताए । ताप्लेजुङको फुङ्लिङमा पटक–पटक आगलागिका घटना हुने गरेका छन् ।

२०६० चैत १५ गते वीरेन्द्रचौक क्षेत्रमा भएको आगलागिमा ४५ घर जल्दा ५१ करोड क्षति भएको थियो । २०६९ साल माघ २६ शेर्पा टोल ८ घर जल्दा २ करोड ५० लाख बराबरको क्षति भएको थियो । २०७० साल कात्तिक १८ गते टुक्रेमा भएको आगलागिमा ५ घर जल्दा १ करोड ५० लाख तथा २०७१ चैत ९ तोक्मे क्षेत्रमा भएको आगलागिमा ४४ घर जल्दा ३० करोड बढी मूल्य बराबरको क्षति भएको विवरण प्रहरीसंग छ ।

 

 

 

 

प्रकाशित: २० वैशाख २०७७ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App