समाज

कोरोना उपचार कोषमा गाउँपालिकाको ५० लाख

दमौली - तनहुँको ऋषिङ गाउँपालिकाले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि खडा गरेको कोषमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँ कार्यपालिकाको बैठकले कोरोना कोषमा रकम थप गर्दै ५० लाख रुपैयाँको कोष खडा गरेको हो।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यस अगाडि उक्त कोषमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको भए पनि वार्षिक बजेटबाट रकमान्तर गरी कोरोना कोषमा रकम थप गरिएको जानकारी दिए। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि खटिने कर्मचारीलाई क्रियाशीलताको आधारमा प्रोत्साहन भत्ता दिने निर्णय गाउँपालिकाले गरेको छ। साथै स्वास्थ्य तथा सुरक्षामा कार्यरत कर्मचारीलाई विपद्मा खटिएवापत तलबमानको आधा हुन आउने रकम बराबर प्रोत्साहन भत्ता उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिए।

बन्दाबन्दी भएसँगै गाउँपालिकाले विपन्न तथा असहाय परिवारलाई रु १२ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ। बन्दाबन्दी लम्बिने अवस्था आएमा गाउँपालिकाले खाद्यान्न प्याकेजको कार्यक्रम ल्याउने सोच बनाएको छ। वैशाख ८ गतेको हावाहुरीले क्षति पुर्‍याएको घरलाई गाउँपालिकाले राहत वितरण गर्ने निर्णय गरेको छ। हावाहुरीले ऋषिङ गाउँपालिका–४ र ५ का विभिन्न ठाउँका १४ घरको छानो उडाएको थियो। हावाहुरीले पुर्‍याएको क्षतिको आधारमा पूर्ण क्षति भएकालाई १० हजार रुपैयाँ र आंशिक क्षति भएकालाई पाँच हजार रुपैयाँ राहत वितरण गरिनेछ। रासस

प्रकाशित: १७ वैशाख २०७७ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App