समाज

खाद्य संकट समाधान गर्न गाउँपालिकाले ल्यायो स्थानीय कृषि उत्पादन कार्यक्रम

ताप्लेजुङ- स्थानीय उत्पादनलाई बढावा नदिने हो भने यो वर्ष जस्तै देखिएका महामारीले खाद्य संकट निम्तने निश्कर्षसहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले ‘खाद्यान्न संकटको समाधान, स्थानीय कृषि उत्पादन’ भन्ने नारा तय गरेको छ ।

कार्यपालिकाको बैठकले निर्णय गरी यो वर्षबाट स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय लिएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । उनका अनुसार स्थानीय उत्पादनमा बढावा दिएर खाद्यान्न संकट समाधानका लागि गाउँपालिकाका ८ वटै वडाले वडाभित्रका कृषकसंग पर्याप्त मात्रामा छलफल गरेर वडाको भौगोलिक बिशेषता समेतका आधारमा वडामा उत्पादन हुने कृषि उपजको बिवरण तयार पार्नेछन् । तयार पारिएको बिवरण गाउँ कार्यपालिकाको बैठकमा पेश गरिने भएको छ ।

उत्पादन हुने कृषि उपजको बिवरण तयार पारेपछि दीर्घकालसम्म सञ्चालन एवम् व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रका विज्ञ समेतको राय परार्मशका आधारमा कार्यविधिको तर्जुमा गर्न गाउँपालिका अध्यक्ष गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेलाई कार्यपालिका बैठकले जिम्मेवारी दिएको छ ।

‘अब जमिन बाँझो राख्नेलाई मालपोत र कर असुलीमा थप हर्जना लगाउनेदेखि अन्य बैकल्पिक कारवाहीसम्मका अभियान सञ्चालन हुनेछन्’ गाउँपालिका अध्यक्ष गुरुङले भने । उनले उन्नत बीउबिजन तथा प्रविधि भित्र्याएर भौगोलिक बनावट र परिबेश अनुसार उत्पादन हुने कृषि उपजका लागि सहुलियतपूर्ण ऋण र अनुदानसम्मको योजना तय हुने उनले जनाए ।

गाउँपालिकाले अहिलेसम्म कोरोना संक्रमणका कारण संकटमा परेका समुदायलाई दिइने राहत, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन र औषधोपचार तथा स्वास्थ्य सामग्री खरिद तथा ढुवानीका लागि करिव २७ लाख ९१ हजार रुपैयाँ खर्च भएको समेत जनाएको छ ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०७:०३ शुक्रबार

खाद्य_संकट कृषि_उत्पादन_कार्यक्रम महामारी