समाज

हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

फाइल तस्बिर : नागरिक

कास्की - अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ। पदयात्रा क्षेत्रको अन्नपूर्ण गाँउपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एक जनाको बुधबार शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरु भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए। स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिएपनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ। घटनास्थल नजिकै तीन वटा झोला र चस्मा समेत फेला परेको बताइन्छ।

अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आएका छन्। उनीहरु घटनास्थल पुगेर हेरेपछिमात्र शवको सनाखत हुन्छ।प्रहरी निरीक्षक खनालले भने। पहिरोमा हराएका मध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो। रासस

प्रकाशित: ११ वैशाख २०७७ ११:०७ बिहीबार

पदयात्रा बेपत्ता शव