समाज

यसरी फैलियो जनकपुरमा नोट छरेर भागेको अपवाह

जनकपुरधाम- जनकपुरस्थित महावीर चोकमा नोट छरेर भागेको आरोपमा पक्राउ परेकी दुबै महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। शनिवार दिउँसो पक्राउ परेकी ती महिलामध्ये एक जनाको आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि साँझ स्वाव संकलन गरी पिसिआर प्रविधिमार्फत परीक्षण गरिएको थियो। 

आइतवार दिउँसो आएको रिपोर्टमा दुबै जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको समाजिक विकासमन्त्रालयले जनाएको छ। मन्त्रालयले आफ्नो आधिकारी वेवसाइटमार्फत दुबै जनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेको हो। 

दुबै महिलामा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि जनकपुरमा त्रास फैलिएको थियो। उनीहरु बस्ने जानकी नगर टोललाई शनिवार रातिदेखि नै सेनिटाइजिङ शुरु गरेको थियो। 

यसरी फैलियो नोट छरेर भागेको अपवाह
शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–६ महावीर चोकमा १० रुपैयाँको १२÷१५ वटा नोट छरिएको अवस्थामा स्थानीयले देखे। स्थानीयका अनुसार केहीले मुस्लिम समुदायको पहिरनमा रहेको महिलाको शरिरबाट पैसा झरेको देखेका थिए। केही नोट छरिएर रहेको ती नोट हेर्नसाथ स्थानीयहरु तर्सिए र भारतका विभिन्न ठाउँमा पैसामा थुक लगाएर फालेको  अनकौ घटना कोट्याउँदै त्यहीँ सन्दर्भमा यो घटनालाई पनि लिए। 

उनीहरु मुस्लिम समुदायका केही मानिसले कोरोना भाइरस फैलाउन साजिस रचेको भन्दै एकअर्कालाई थरीथरीका कुरा सुनाउन थाले। केहीले ती कुराहरु समाजिक संजाल फेसबुकमा समेत तुरन्त लेख्नथाले र फुर्सदमै बसेका आफन्त, परिवार र इष्टमित्रलाई समेत बताउन थाले। 
 
दुईजना महिलाले कोरोना फैलाउन थुक लगाएको नोट छरेर भागेको भन्दै जनकपुरमा हल्लाखल्ला मच्चियो। त्यस लगतै समाजिक संजालको भित्तामा अनेकौ टिकाटिप्पणीले पनि शुरु भयो। विभिन्न संचारमाध्यममा समेत दुबै महिला नोट छरेर भागेको समाचार प्रकाश र प्रशारण भएपछि गाउँ गाउँमा समेत त्रास फैलियो। 

स्थानीयले प्रहरीलाई खबर गरे। १५ मिनेट नबित्दै करिब साढे १२ बजे जिल्ला प्रहरीको टोली आइपुग्यो। प्रहरी निरीक्षक अशोक झाको कमाण्डमा खटिएको प्रहरी टोलीले कोरोना समबन्धी शंकास्पद भएको भन्दै भुँइमा छरिएर रहेको नोटको चारैतीर गोलो घेरा लगाएर त्यो ठाउँ सुरक्षित राखे। त्यसपछि ती सबै नोट संकलन गरी कोरोना परीक्षणका लागि भन्दै प्रहरीले प्रादेशिक अस्पताल जनकपुर पठाए।  

प्रहरीले सोही समयमा पैसा झरेको ठाउँलाई सेनिटाइज समेत गरे। र स्थानीयको सिसिटिभी क्यामेराको फुटेजबाट ती दुबै महिलाको तस्बिर पत्ता लगाए। तस्वीर सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले कसैले यस्तो हुलियाको व्यक्ति हेर्नसाथ प्रहरीलाई जानकारी गराउन समाजिक संजाल लगायत इन्टरनेटमार्फत सूचना समेत जारी गर्यो। 

तिब्र खोजी गर्दै शुक्रवार साँझसम्म ती महिलाको पहिचान गरी प्रहरी उनको घरमै पुगे। शुक्रवार राति भएपछि समान्य सोधपुछपछि उनलाई निगरानीमा राखियो। शनिबार बिहानसमेत समान्य सोधपुछपछि प्रहरीले कोरोना संक्रमणको शंकास्पद रहेको भन्दै दुबै महिलालाई प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षणका लागि पठायो। 

प्रादेशिक अस्पतालमा दुबैजनाको आरडिटी परीक्षण भयो। करिब २० मिनेटपछि आएको रिपोर्टमा एकजनामा कोरोना पोजेटिभ देखियो। त्यसपछि दुबै महिलालाई कोरोना संक्रमण रहेको वा नरहेको पुष्टि गर्न पिसिआर प्रविधिबाट जाँचकालागि शनिवार साँझ करिब ७ बजे स्वाब संकलन गरियो। 

आरडिटी परीक्षणमा एकजनाको पोजेटिभ रिपोर्ट देखिएपछि ती महिलामाथि झनै शंका बढ्यो। समाजिक संजालमा फेरि ती महिलाविरुद्ध टिका टिप्पणी शुरु भयो। 

‘बैँकबाट फर्किने क्रममा पैसा झरेको थियो’
नोट छरेर भागेको आरोपमा पक्राउ परेका महिला जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी रहेकी छन्। उनीहरु जानकीनगरस्थित मुस्लिम टोलकी अलिना खातुन र उनकी नन्द अमुना खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

अमुना अलिनाकी नन्द हुन्। प्रहरीका अनुसार दुबैजना घरायसी काम गर्छन्। शुक्रवार विहान करिब साढे १० बजे नन्द र भाउजु मुरलीचोकस्थित सहयोगी विकास बैँकबाट एक लाख रुपैँया झिकेको अलिनका जेठाजुले बताए। 

‘बैँकबाट झिकेको एक हजार खुद्रा रुपैँयाबाट १ सय ६० रुपैँया बाटोमै झर्यो। उनीहरु पैसा झरेको थाहा पाएनन् र सरासर घरतीर हिडिदिए,’ उनले भने, ‘मोहल्लामा पैसा छरेर भागेको खबर फैलिएपछि डरले उनीहरु केही बोलेनन्।

 प्रहरीले घरमा आएर फोटो र भिडयोदेखाएपछि हामीले सोध्दा पैसा हराएको कुरा भन्यो।’ घरमा समेत उनीहरुले प्रहरी आउनुअघि पैसा बाटोमा हराएको नबताएको परिवारजनको भनाइ छ।

 प्रारम्भिक अनुसन्धानको क्रममा समेत यही कुरा आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए। ‘बैँकबाट फर्किने क्रममा पैसा झरेको कुरा आएको छ। दुबैजना घर गए।

लकडाउनमा उनीहरु घरबाट बाहरि कहाँ निस्कििनु ? कतै गएनन् घरमै बसेकाले फरार भएको हल्ला फैलियो,’ उनले भने। प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार सिसिटीभी फुटेजमा महिलाले नोट छरेको कतै देखिएको छैन्। 

 

प्रकाशित: ७ वैशाख २०७७ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App