समाज

बाजुरामा गोली हानेर श्रीमतीको हत्या

बाजुरा- गौमुल गाउँपालिका-४ बस्ने गोरख रोकायाले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्। ४० वर्षका गोरख रोकायाले बुधबार राति ३३ वर्षीया श्रीमती सुन्तु रोकायालाई गोली हानेर हत्या गरेका हुन्। आफूसँग भएको घरेलु भरुवा बन्दुकको प्रयोग गरेर हत्या गरेको प्रहरीले बताएको छ।

रातिको समयमा टाउकोमा नै गोली हानेर हत्या गरेको प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन्। सुन्तुलाई गोली हानेर हत्या गरेको अवस्थामा भैसी गोठमा भेटाएको घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन्।

श्रीमतीको हत्या गरेको बारे माइती पक्षले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जानकारीपछि हत्या गर्ने गोरख रोकायासहित एक थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ। मृतक सुन्तुको टाउको बीच भागमा गोली लागेको प्रहरीले बताएको छ।

हत्याको कारण बारे प्रहरीले अनुसन्धान थालेको छ। अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली गौमुल गएको छ। पारिवारीक विवादका कारण घटना भएको छिमेकीले अनुमान लगाएका छन्।

प्रकाशित: २७ चैत्र २०७६ १२:३० बिहीबार

गोली हत्या